बर्सेनि कटान हुँदै झिमरुक फाँट
प्युठान : प्युठानको उर्वर भूमि झिमरुक फाँट बर्सेनि नदीले कटान गर्दै आएको छ । जिल्लाको पहिचानसँग जोडिएको समतल फाँट जोगाउनतर्फ ठोस योजना अझैसम्म बनेको छैन । फाट्टफुट्ट नदी नियन्त्रणको प्रयास भए पनि त्यसले दिगो समाधान दिन नसकेको किसानहरूले गुनासो गरेका छन् । विगतमा जस्तै यस वर्ष पनि नदी किनारका धेरै स्थानमा झिमरुक नदीले खेत कटान गरिरहेको छ । जिल्लाको खाद्यान्न उत्पादनमा समेत झिमरुक फाँटले महŒवपूर्ण हिस्सा ओगटेको छ ।
विजुवार–खलंगा पक्की पुल नजिक, तल्लो दाखाक्वाडी, बाग्दुला, मजुवाखेतलगायत क्षेत्रमा नदीले खेत कटान गरिरहेकोे हो । बर्खाको समय अझै बाँकी रहेकाले किसानहरू त्रासमा छन् । सयौँ हेक्टर क्षेत्रफल जग्गा नष्ट भइसकेको छ । ‘हाम्रो खेततिर नदी नियन्त्रण भएन’,प्युठान नगरपालिका–४ विजुवारका स्थानीय महेश्वर केसीले भने, ‘खेतमा खोलो बगिरहेको छ ।’ पाक्दै गरेको धान र मकैबाली खोलो पसेर नष्ट गरेको उनले गुनासो पोखे । उनको १३ मुरी अन्न उब्जने खेत नदीको उच्च जोखिममा परेको छ । यस क्षेत्रमा पर्ने धेरै किसानहरू खोला पसेपछि चिन्तामा छन् । दाखाक्वाडीदेखि दम्तीसम्मका धेरैजसो स्थानमा यसवर्षपनि खोलाले खेतीयोग्य भूमी नष्ट गरेको किसानहरूको गुनासो छ । तीन÷चार वर्ष अघिदेखि नै झिमरुक नदीले सताइरहे पनि नदी नियन्त्रणमा राज्यले प्रभावकारी काम नगरेको किसानहरू गुनासो गर्छन् ।
प्युठान नगरपालिकाको कार्यालय र जलउत्पन्न प्रकोप डिभिजन कार्यालय विजुवार प्युठानले नदी नियन्त्रणमा तटवन्ध गरेपनि ठोस उपलव्धी नदेखिएको किसानको आरोप छ । कतिपय स्थानमा पहुँचका आधारमा नदी नियन्त्रण भएको गुनासो किसानको छ । ‘कनिका छरेजस्तै’ गरी नदी नियन्त्रण गरिएको गुनासो नगरक्षेत्रका किसानहरू पोख्छन् । प्युठान नगरक्षेत्रमा पर्ने उर्वरभूमि झिमरुक फाँट जोगाउन नगरपालिकाले ठोस गुरुयोजना अझैसम्म बनाएको छैन् । जनप्रतिनिधी चुनिएको वर्ष दिन बितिसक्दा पनि नागरिकको जीवनयापनसँग जोडिएको झिमरुक फाँट जोगाउनतर्फ उनीहरूले प्रभावकारी कदम नचालेको किसानहरूको गुनासो छ । सडक सञ्जाल निर्माणमा धेरै खर्च गरेर आलोचना खेपिरहेका जनप्रतिनिधीहरूले फाँट बचाउनतर्फ पनि ध्यान दिन किसानहरूले सुझाव दिए । तर हाल निर्माण गरिएका तटबन्ध क्षेत्रमा पर्ने खेतहरू जोगिने देखिएको छ ।
पाँचवर्षभित्र झिमरुक फाँटलाई जोगाउने गरी भूउपयोग नीति बनाएर अघि बढ्ने योजना बनाएको प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुन कुमार कक्षपतीले जनाएका छन् । ‘दम्तीदेखि तटबन्धको काम थालिएको छ’,उनले भने, ‘गतवर्ष एक करोड बजेट खर्च ग¥यौँ । क्रमागत रुपमा तटवन्ध हुन्छ ।’ फाँट जोगाउनका लागि विस्तृत योजना प्रतिवेदन (डीपीआर) बनाउने चरणमा रहेको कक्षपतीले जानकारी दिए । भूउपयोग नीति नबनेसम्म जथाभावी प्लटिङ गर्र्नसमेत रोक लगाइएको उनले बताए । दम्तीदेखि दाखाक्वाडीसम्म करिव पाँच किलोमिटर दुरीमा झिमरुक नदी बगिरहेको छ । डिपिआर सकिएपछि मात्र बजेट विनियोजन गरी नदी नियन्त्रणको कामलाई प्रभावकारी बनाइने उनको भनाई छ । दुइ वर्षअघि आएको झिमरुकको बाढीले झण्डै दुई सय पचास हेक्टर क्षेत्रफल खेतीयोग्य भूमि नष्ट गरेको छ । सयौँ किसान मर्कामा परेका छन् । जलउत्पन्नले गत आर्थिक वर्षमा झिमरुक क्षेत्रमा नदी नियन्त्रणका लागि करोडौँ रकम खर्च गरेको छ ।