कालोपत्रे सडक नै हिलाम्मे

कालोपत्रे सडक नै हिलाम्मे

तम्घास : बर्खा लागेसँगै जिल्लाका सडकहरू हिलाम्मे भएपछि यात्रुहरू सास्ती भोग्दै आएका छन् । तम्घास–रिडी सडकअन्तर्गत रेसुंगा नगरपालिका–१३ भंगारीस्थित सडकखण्डको झण्डै पचास मिटर दूरीसम्म अस्तव्यस्त भएको छ । सडक बिग्रिएकाले दुर्घटनाको जोखिमसमेत बढेको छ ।

‘सडक बिग्रेको धेरै महिना भइसक्यो’, तम्घासका स्थानीय अशोक केसीले भने, ‘यहीं सडकले गर्दा गन्तव्यमा पुग्न धेरै समय लाग्ने गर्छ ।’ तम्घासदेखि पाल्पा, बुटवल, काठमाडौं, पोखरालगायत ठाउँमा पुग्ने यो नै एक मात्र सडक हो । दैनिक सयौं सवारीसाधन ओहोरदोहोर गर्ने भएकाले यो सडक बेलैमा बनाउन यात्रुहरूले माग गरेका छन् ।

बर्सेनि पहिरोका कारण सडक अवरुद्ध हुँदा पनि नियन्त्रणको दिगो उपाय नखोजिँदा सडक झन् झन् जीर्ण हुँदै गएको छ । साथै यसले ठुल्लठूला दुर्घटनासमेत निम्त्याउँदै आएको छ । जसका कारण यात्रु सधैं त्रासमा यात्रा गर्न बाध्य भएका छन् । वर्षभरि ढुक्कसँग यात्रा हुनेगरी सडक सहज बनाउन नगरपालिकाका जनप्रतिनिधिहरूले पहल गर्नुपर्ने स्थानीयले बताएका छन् ।

सडक कालोपत्रे भए पनि हिलैहिलो छ । सडकमा हिउँदमा सुक्खा पहिरो र बर्खामा ढुंगासँगै लेदो झरिरहने गर्छ ।

रेसुंगा नगरपालिका–१३ का वडाध्यक्ष खुम खत्रीले भने, ‘तत्कालै सडकको विकल्प नभएकाले समस्याको समाधान गर्नुपर्र्ने हो तर सकिएको छैन ।’ उनले थपे, ‘पहाडै खस्ने गरी पहिरो झरेको छ, समाधानका लागि सडक डिभिजनलाई अनुरोध गरेका छौं ।’ खत्रीका अनुसार पहाडको टुप्पादेखि नै जमिन चर्किएकाले तत्काल समाधान गर्न सकिएको छैन । उनले पर्खाल उठाएर पहिरो नियन्त्रणको प्रयास गरिएको भए पनि प्रभावकारी हुन नसकेको बताए । नगरपालिकाले तत्काल पहिरो खस्नासाथ डोजर लगाएर काम गरिरहेको छ । सडक धेरै साघुँरो भएकाले पनि यात्रुहरूले कष्ट पाउने गरेका छन् । रिडीदेखि सडक फराकिलो गराउने काम भइरहेको छ । सरकारले यसै वर्ष घोषणा गरेको मदन भण्डारी लोकमार्ग निर्माणले यस सडकलाई व्यवस्थित गराउनेमा गुल्मीवासी आसमा छन् ।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.