१५ वर्षको कमाइ क्षणभरमै खरानी...

१५ वर्षको कमाइ क्षणभरमै खरानी...

इलाम : इलामको देउमाई नगरपालिका १ राँकेबजारका श्रीबहादुर विष्टका सपना आगोको लप्काले निमेषभरमै खरानी बनाएको छ। १५ वर्षदेखि हाडछाला घोटेर जोडेको एक त्यान्द्रो सम्पत्ति पनि बचेन। आइतबार राति राँके बजारका ठालुमान श्रेष्ठको घरमा सुरु भएको आगोले श्रीबहादुरको घरपसल पनि खरानी बनाइदिएको हो।

विष्टले भने, ‘एक्कासि उठेको आगाले भएभरको जेथा सखापै बनायो। हामीले टुलुटुल हेर्नु शिवाय केही गर्न सकेनौं। रातभर घर जलिरह्यो अहिले भग्नावशेषमात्र बाँकी छ।’ आगलागीबाट ५० लाख रुपैयाँभन्दा बढीको मालसामान जलेर नष्ट भएको पीडितले बताएका छन्। उनको पसलमा भएका जुत्ताचप्पल, कपडासहित सबै सामान जलेर नष्ट भएको छ।

आगलागीबाट उनीको पसलसँगै जोडिएको अर्का व्यापारी तिलबहादुर बस्नेतको सर्टरको किराना पसल, नगद, सुनचाँदी सहित ५० लाखको क्षति भयो। तीलबहादुरले पाँच वर्षदेखि राँके बजारमा किराना पसल सञ्चालन गरिरहेका थिए। पसलमा सामानसमेत जल्दा ४५ लाख बराबरको क्षति भएको प्रहरीको अनुमान छ। दुई लाख ८० हजार नगदसमेत जलेको थियो।

आगलागीमा घर मालिक ठालुमान श्रेष्ठको एक करोडको क्षति भएको बताइएको छ। ठालुमानका भाइ नरबहादुर श्रेष्ठसँगै जोडिएको घरमा पनि १० लाख बराबरको क्षति भएको पीडितको दाबी छ। आगलागीबाट दुई करोड १० लाख ५४ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। साँझ ८ बजेसम्म सुनसान राँकेबजारमा करिब साढे आठ बजेतिर धुवाँको मुस्लो देखिएको स्थानीय नरेश श्रेष्ठले बताए। उनले भने, ‘अघिदेखि नै आगो लागेको थियो होला, थाहा पाउँदा आगो नियन्त्रणबाहिर गइसकेको थियो।’

स्थानीय र सुरक्षाकर्मीको प्रयासमा आगो करिब नियन्त्रणमा आउनै लाग्दा फिदिमको दमकल आइपुगेको थियो। आगो पूर्णरूपमा नियन्त्रण गर्न फिदिमको दमकलले सहयोग गरे पनि इलाम नगरपालिकाको दमकल घटना स्थलमा आइनपुग्दै बिग्रिएर फर्किएको थियो। नगरपालिकाबाट ३४ किलो मिटरको दूरीमा रहेको राँके बजार हिँडेको दमकल १८ किलोमिटर पार नगर्दै बिग्रिएको थियो। चार वर्षअघि राँकेमा आगलागी हुँदा पनि पानी बोकेर हिँडेको दमकलले उकालोमा नतानेपछि पानी फ्याँकेर रित्तै आगलागी स्थलमा पुगेको थियो। इलाम बजारमा आगलागी हँुदा पनि इलामको दमकलले काम दिएको थिएन।

स्थानीयबासी, पाँचथरबाट आएको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतले रातको १२ बजे आगो पूर्ण नियन्त्रणमा ल्याएका थिए। राँके बजारमा चार वर्षअघि पनि यस्तै विपत्ति परेको थियो। उसबेला बिहानीपख लागेको आगलागीमा ६ करोडको क्षति भएको थियो। चार वर्षअघि आगोले खाएका घरको पुननिर्माण सम्पन्न हुनै लाग्दा अर्को विपत्ति आइलागेको स्थानीय युवा नरेश श्रेष्ठले बताए। चार वर्षअघि इलाम र पाँचथरको सिमानामा पर्ने राँकेका जोडिएका काठेघरहरूमा करिब तीन घण्टा आगो लागेको थियो।

आगोको लप्काले स्थानीय आठ घर जलेर नष्ट भएका थिए। आठ घरमा बस्ने १९ परिवारले केही पनि निकाल्न पाएका थिएनन्। चार घर जोगाउनका लागि भत्काइएको थियो। यसपटक पनि कुनै सामान निकाल्न नपाएको विष्टले बताए। मेची राजमार्गको तल्लो डिलमा रहेको घरको सिरान तलामा भने खास क्षति भएको छैन। सिरानबाहेक अन्य तलमा भने पूर्ण क्षति पुगेको छ। पीडितले राहतको आश गरेका छन्।

इलामको राँकेमा भएको आगलागीबाट खण्डहर बनेको घर। फोटो : अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.