भव्य भयो राधाकृष्ण रथयात्रा
विराटनगर : विराटनगरमा हरेक वर्षझैं कृष्ण जन्माष्टमीको भोलिपल्ट भव्य रूपमा राधाकृष्ण रथयात्रा निकालिएको छ। ५१ वर्षदेखि लगातार निकालिँदै आएको रथयात्रालाई दक्षिण एसियाकै ठूलो मानिन्छ।
आयोजक समितिका संयोजक बाबुराजा ओझाले रथयात्रामा एक लाखभन्दा बढी सहभागी भएको बताउँदै भने, ‘निकै उत्साहपूर्वक रूपमा रथयात्रा सम्पन्न भएको छ।’ विभिन्न धार्मिक तथा जातीय झाँकीसहित तीनपैनी चोकबाट अपराह्न निस्किएको रथयात्रा साँझ तीनपैनीस्थित राधाकृष्ण मन्दिर परिसर पुगेर समापन भएको थियो।
प्रदेश १ का मु्ख्यमन्त्री शेरधन राईले रथयात्राको शुभारम्भ गर्दै प्रदेश १ विभिन्न जात, भाषा, धर्म र सम्प्रदायको साझा फूलबारी भएको बताउँदै विराटनगरको रथयात्राको छुट्टै महिमा र महत्व भएको बताए। राईले भने, ‘यस्ता सांस्कृतिक अवसरले हामीलाई भावनात्मक रूपमा एकअर्कालाई नजिक्याउन मद्दत गरेको छ।’ उनले धार्मिक सुस्संकृतिको धनी प्रदेश १ को विकास दू्रत गतिमा गर्न प्रदेश सरकार सक्रिय रहेको बताए।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले रथयात्राको ऐतिहासिकता र सांस्कृतिक पक्षको महत्व बर्सेनि बढ्दै गएको बताए। उनले भने, ‘यो परम्परा विराटनगरको पहिचानको रूपमा स्थापित भएको छ।’ ५० वर्षअघि खटमा राखेर राधाकृष्णको प्रतिमा नगर परिक्रमा गराएर सुरु गरिएको र पछि ठूलो जनसहभागिताका साथ रथयात्राको परम्परा बसेको पराजुलीले बताए। रथयात्रामा सहभागी हुन सीमावर्ती भारतीय क्षेत्रका सहरबाट समेत भक्तजनको घुइँचो लागेको थियो। सुनसरी र मोरङका विभिन्न भागबाट भक्तजन तथा झाँकी समूहको पनि उपस्थित थियो।
जात्राको दिन प्रदेश सरकारको निर्णयअनुसार प्रदेश सरकार मातहतका मन्त्रालय, कार्यालय तथा स्थानीय तहले बिदा मनाएका छन्। यो दिन प्रदेश सरकारले सार्वजनिक बिदासमेत दिएको छ। तीनपैनीबाट सुरु हुने रथयात्रा प्रदेश १ को अस्थायी राजधानी विराटनगरको मेनरोड, ट्राफिक चोक, महेन्द्र चोक, शनि मन्दिर, बरगाछी चोक पुगेर पुनः तीनपैनीस्थित राधाकृष्ण मन्दिरमा पुगेर समापन भएको थियो। रथ तान्दा दुःख हरणका साथै सुख मिल्ने जनविश्वास छ।
ड्रोनबाट सुरक्षा निगरानी
निकै ठूलो घुइँचो अनि भीडभाड हुने भएकाले प्रहरीले यसपटक सुरक्षाका लागि विशेष ठाउँहरूमा ड्रोन क्यामेराको मद्दत लिई निगरानी गर्ने व्यवस्था मिलाइएको थियो। मोरङ प्रहरी प्रमुख मनोज केसीले भने, ‘धेरै भीड हुने ठाउँहरूमा ड्रोन क्यामेराले निगरानी गरी विशेष ठाउँबाट त्यसो भिडियो हेर्ने व्यवस्था मिलाएका थियौं।’ उनले रथयात्रा शान्तिपूर्ण रूपमा समापन भएको बताए। यसैगरी, इटहरी र विराटचोकमा पनि रथयात्रा निकालिएको थियो।