पहरी बस्तीमा खानेपानी अभाव

पहरी बस्तीमा खानेपानी अभाव

चन्द्रपुर : चन्द्रनिगाहपुर निजगढ सडकखण्ड रौतहटको लमाहाको पहरी बस्तीमा खानेपानीको अभाव छ।

चन्द्रनिगाहपुर बजारदेखी ७ किलोमिटर पश्चिम राजमार्ग छेउको जंगलबीचमा वर्षौंदेखि बस्दै आएका करिब १५ घरपरिवार पहरी समुदाय खानेपानीका लागि दिनभर लमाहा खोलामा भौंतारिन बाध्य छन्।

बाढी आएपछि अस्थायी कुवा बगाउनुका साथै खोलाको पानी धमिलो हँुदा उनीहरू थप समस्यामा छन्। ३० वर्षदेखि पूर्व–पश्चिम राजमार्गछेउमा उनीहरू बसोवास गर्दै आएका छन्।

बसोवास गर्ने सबै सुकुमबासी भएको उनीहरू बताउँछन्। वर्षामा खोलामा बाढी आउने हँुदा केहीले आकाशको पानी प्लास्टिक टाँगेर संकलन गरी खाँदै आएका छन्। बाढी घटेका बेला नदीकिनारमा कुवा बनाएर पानी संकलन गर्छन्।

स्थानीय रेखा पहरीले भनिन्, ‘पानीसमेत पेटभरि खान पाइँदैन, जंगलको बीचमा बस्ने रहर कसको हुन्छ ? ’

नदीकिनारमा कुवा बनाउने ठाउँ खोज्दै पानी लिन गएका महिलाको बिहान बित्छ। कहिलेकाहीँ खोलाकै धमिलो पानी भरेर फर्कनुपर्ने बस्तीवासीको बाध्यता छ।

उनीहरूको पीडा कसैले नसुनेको गुनासो छ। ‘यस्तो समस्या झेल्दै आएका छौँ,’ पहरीले भनिन्। शुद्ध पानी पिउन नपाएकै कारण बस्तीका ज्वरो, रुघाखोकी, झाडापखालाका बिरामी बढ्ने गरेको उनले बताइन्।

बाढीका कारण नदीकिनारमा कुवा बनाउने ठाउँसमेत भेटिँदैन।

‘चुनावका बेला नेता धारो हालिदिन्छौं भने तर अहिलेसम्म कोही आएका छैनन्’, बस्तीका शंकर पहरीले भने, ‘एक गाग्रो पानी भर्न एक घण्टाभन्दा बढी समय लाग्छ। कहिलेकाहीँ त पानी भर्दाभर्दै बाढीले अस्थायी कुवा नै बगाउँछ।’

स्थानीय सोमबहादुर पहरीले वर्षामा बाढी र हिउँदमा खोला सुकेर समस्या हुने गरेको बताए। उक्त स्थानमा बस्ने अधिकांशको मतदाता परिचयपत्र चन्द्रपुर नगरपालिका–६ मा छ। तर, त्यहाँ उनीहरूको केही चलअचल सम्पत्ति छैन।

बस्तीका सबै मिलेर धारा राख्ने प्रयास गरेका थिए तर धेरै खर्च लाग्ने भएपछि सम्भव भएन। चन्द्रपुर नपा–६ का वडाध्यक्ष खड्गबहादुर कुश्वारले वन क्षेत्रमा बसोवास गर्दै आए पनि मानवीय हिसाबले खानेपानी व्यवस्था गर्ने योजना रहेको बताए। उनीहरूलाई व्यवस्थित बसोवासको प्रबन्ध मिलाउन वडा कार्यालयले सोच बनाएको समेत उनले जानकारी दिए।

राजमार्ग छेउको वन क्षेत्रको जमिनमा झुपडी बनाएर बस्दै आएका पहरी समुदाय अत्यन्त पीडित छन्। बालबालिकाको जन्मदर्ता छैन। गरिबी परिचयपत्र कसैको छैन। बस्तीमा कुनै सरकारी सुविधा पुगेको छैन नत विद्यालय जाने उमेरका बालबालिकाले पढ्नै पाएका छन्।

वन कार्यालय तथा टिम्बर कर्पोरेसनको काठको काम हुँदा मजदुरी गर्न पाए पनि उनीहरू वर्षा लागेपछि बेरोजगारी छन्। डिभिजन वन कार्यालय रौतहटका प्रमुख दीर्घनारायण कोइरालाले उक्त बस्ती अन्यत्र सार्नुपर्ने बताए।

०४४ सालमा हेमबहादुर मल्ल वनमन्त्री भएका बेला मकवानपुरको चुरे क्षेत्रको धियालमा बसोवास गर्दै आएकाहरूलाई हटाइएको थियो। केही धियालबाट हटाइएका र केही चन्द्रनिगाहपुरबाट गएर लमाहमा बसेका हुन्। धियालबाट हटाइएकालाई रंगपुरको कटानीमा स्थानान्तरण गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.