केरौंजामा पहिरो : जग्गा नपाउँदा पुनर्निर्माण प्रभावित

केरौंजामा पहिरो : जग्गा नपाउँदा पुनर्निर्माण प्रभावित

गोरखा : भूकम्प र पहिरोले पुनर्स्थापना गर्नुपर्ने सूचीमा परेका केरौंजावासीले जग्गा नपाउँदा अझै घर बनाउन सकेका छैनन्। पुनर्स्थापना हुन नसक्दा त्यहाँका भूकम्पपीडित ४० महिनादेखि अर्काको जग्गामा टहरो बनाएर बसिरहेका छन्। पुस महिनाभित्र पुनर्स्थापना सक्ने सरकारले घोषणा गरे पनि आठसय ८८ घरधुरीमध्ये अहिलेसम्म १ सय ३३ जनाले मात्र घर बनाएका पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय इकाइले जानकारी दिएको छ। घरबारबिहीन १४ जनाको नाम अझै छुटेको वडाअध्यक्ष सुकबहादुर गुरुङले जानकारी दिए।

पुनर्स्थापना गर्नुपर्ने तीनसय ९७ घरधुरीको अवस्था अहिलेसम्म ज्यूँकात्यूँ रहेको अध्यक्ष गुरुङको भनाइ छ। ‘साविक वडा नं. १ को ३२ घर, वडा नं. २ को १७५ घर, वडा नं. ३ का ५२ घर र वडा नं. ४ का १३८ घर पुनर्स्थापना गर्नुपर्ने भनेर भूगर्भविदले निष्कर्ष निकालेका थिए’, वडाअध्यक्ष गुरुङले भने, ‘तर अहिलेसम्म भएको छैन। कोही कोही चितवन, गोरखा, आरुघाट, आर्खेततिर बसाइँ सरेका छन्।’

२५ घर गोरखा बजार, पाँचघर चितवन, सात घर आरुघाट र पाँच घर आर्खेतमा बसाइँ सरेर गएका उनले बताए। ‘गोरखा बजारभन्दा तल केरौंजा बस्ती बनाएर बसेका छन्’, गुरुङले भने, ‘आरुघाटमा चाहिँ डेरा गरेर बसेका छन्। आरुघाट र चितवनमा पनि घर बनाएर बसेका छन्।’

पैसा नहुनेहरू कोही गाउँमै भत्किएको घर मर्मत गरेर र कोही अर्काको बारीमा टहरो बनाएर बसेको उनले बताए।

केही महिनाअघि केरौंजावासीलाई लामावेंशीमा पुनःस्थापित गर्ने योजनाका साथ प्रमुख जिल्ला अधिकारीसहितको टोली गाउँमा पुगेर ४० जनालाई लालपुर्जा वितरण गरेर फर्केका थिए। तर त्यसपछि लालपुर्जा वितरण गर्ने काम पनि नभएको वडाअध्यक्ष गुरुङको भनाइ छ। ‘४० जनाले त लालपूर्जा पाए, अरुलाई के गर्ने ? ’, उनले भने, ‘त्यसपछि जग्गा छुट्याउनका लागि नापी, मालपोतका कर्मचारी पनि गाउँ गएका छैनन्।’

घर बनाएर बस्ने ठाउँ नपाउँदा केरौंजाका बासिन्दाले तीन हिउँद वर्षा टहरोमै बिताइसकेका छन्। ‘पहिरोको डरै डरमा बर्खा बित्यो’, स्थानीय एलिजा गुरुङले भनिन्, ‘अब हिउँदको चिसो पनि टहरोमै बिताउनु पर्ने भयो। हामीलाई मात्र किन यसरी सरकाले ढिला गरेको होला ? ’ बर्खा सकिएपछि मात्र सरकारी कर्मचारी आएर जग्गा छुट्याउने खबर आएको उनले बताइन्।

एउटा घरलाई पुग्ने घडेरीमात्र लिएर अन्यत्र बसाइँ सर्नेहरू पनि सन्तुष्ट छैनन। गरेर खान नपाइने भयो भन्दै उनीहरूले गुनासो गरेका हुन्। ‘बास मात्र भएर हुँदैन, गाँस पनि चाहियो’, वडाअध्यक्ष गुरुङ भन्छन्, ‘गरिखाने खेतबारी सबै माथि नै छ। यहाँ के गरी खाने हो, थाहा छैन।’

अहिले वर्षात् कायमै रहेकाले जग्गा व्यवस्थाका लागि कर्मचारी खटाउन नसकिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईको भनाइ छ। बर्खा जसोतसो काटेपछि हिउँदको समयमा शिविर राखेर नै जग्गा कित्ताकाट गरी लालपुर्जा बाँडिने उनले बताए।

केरौंजामा पहिरो

पहिरोको उच्च जोखिममा रहेको केरौंजावेशीमा पहिरो गएको छ। सोमबार दिउसो साँढे तीनबजेतिर गएको पहिरोले मुख्य बाटो बगाएको स्थानीय जोन गुरुङले जानकारी दिए। सदरमुकाम तथा माछा खोलाबजारबाट आवतजावत गर्ने मुख्य बाटो पहिरिँएर बुढीगण्डकीमा खस्दा गाउँबाट महत्वपूर्ण काम गर्न तथा अत्यावश्यक उपभोग्य सामान किन्न आवतजावत गर्न समस्या भएको गुरुङले जानकारी दिए।

माछाखोलाभन्दा पारिपट्टिको चोकी भन्ने ठाउँमा पहिरो गएको स्थानीय शिक्षिका सोममाया गुरुङले बताइन्। ‘केरौंजा र रुन्चेतका करिब आठसय घरधुरी आवतजावत गर्ने मुख्य बाटो त्यही हो’, उनले भनिन्, ‘अर्को बाटो नै छैन। वर्षात् हटेको छ। अब मान्छेको आवतजावत बढ्छ। तर बाटो नै छैन।’

बाटो पहिरिँदा गाउँमा अत्यावश्यक सामग्री ढुवानी गर्न समस्या भएको भन्दै वडाअध्यक्ष सुकबहादुर गुरुङले चिन्ता व्यक्त गरे। पहिरोका कारण सो ठाउँको तीनवटा घरसमेत जोखिममा परेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.