जलवायु परिवर्तनको असर : स्याउ बगानमा रोगकिराको प्रकोप

जलवायु परिवर्तनको असर : स्याउ बगानमा रोगकिराको प्रकोप

मुस्ताङमा जलवायुको प्रभावले यहाँका कृषि उत्पादनमा समेत प्रत्यक्ष र परोक्ष असर देखिन थालेको छ ।

जोमसोम : जलवायु परिवर्तनको असर हिमाली जिल्ला मुस्ताङमा पर्न थालेको छ। स्याउको राजधानी मानिएको मुस्ताङमा जलवायुको प्रभाव देखिन थालेपछि यहाँको कृषि उत्पादनमा समेत यसको प्रत्यक्ष र परोक्ष असर देखिन थालेको हो।

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको तापमानसमेत विगतको तुलनामा अनपेक्षित रूपमा वृद्धि भइरहेको छ। अनुकूल हिउँ पर्ने समयमा हिउँ नपर्ने, कुनै वर्ष आंशिक हिउँ पर्ने र कहिले भारी हिमपात हुने लगायतका कारण हिमाली क्षेत्रमा जलवायुको असर देखिन पुगेको हो। जलवायुका कारण यहाँको पर्यटन, जैविक विविधता, धर्मसंस्कृति, मौलिकता, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा, मौलिकतासँगै यहाँको मुख्य आयआर्जनको स्रोत कृषि र पशुपालन व्यवसायमा समेत हानिनोक्सानी पु¥याउन थालेको छ।

गत वर्ष स्याउको परागसेचन हुने महिना वैशाखमा जलवायु परिवर्तनकै असरका कारण निरन्तर वर्षा हुँदा मुस्ताङमा स्याउ उत्पादन घट्न पुगेको थियो। यसवर्ष पनि मुस्ताङका अधिकांश स्याउ बगानमा स्याउ बोटमा विभिन्न रोगकिराहरू देखा परेका छन्। स्याउ बोटमा रोगकिराको प्रकोप देखिन थालेपछि मुस्ताङका किसान अहिले चिन्तामा छन्। 

मुस्ताङको पाँच स्थानीय तहमध्ये तीन स्थानीय तहका कतिपय स्याउ बगैंचामा झुसिल्किरा प्रजातिको फलको गँवारो किराको प्रकोप बढ्दो रूपमा रहेको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ। कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सम्बन्धित स्थानीय तहका कृषि शाखाले आफ्नो कार्यालयको फेसबुक पेजबाट सार्वजनिक सूचना सम्प्रेषण गरी कृषकलाई सजगता अपनाउन अनुरोध गरिएको छ। उनीहरूले फलको गँवारो रोगकिरालाई न्यूनीकरण गर्न समेत विभिन्न प्राविधिक सल्लाहसमेत दिने गरेका छन्।

मुस्ताङमा स्याउलगायतका फलफूल तथा तरकारीमा फलको गँवारो किराको प्रकोप सबैभन्दा बढी घरपझोङ गाउँपालिका देखिएको छ। यहाँका पाँच वटै वडाहरूमा फलको गँवारो किराको प्रकोप देखिएको हो। वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको ४ र ५ वडाहरूमा पनि यस प्रकारको समस्या देखिएको छ। थासाङमा यसको असर आंशिक रूपमा देखिएको जनाइएको छ।

घरपझोङ—४ जोमसोमका किसान हृदय श्रेष्ठका अनुसार स्याउलगायतका फलफूल तथा तरकारीजन्य बालीहरूमा झुसिल्किारजस्तो फलको गँवारो किरा व्यापक रूपमा देखिएको छ। घरपझोङका किसान श्रेष्ठले जलवायु परिवर्तनको असरका कारण जमिनको तापक्रम बढेकाले यस प्रकारको रोगकिरा देखा परेको हुन सक्ने सुनाए।

मुस्ताङमा स्याउ बगानमा फलको गँवारो किराको प्रकोपमात्र होइन यहाँको कतिपय स्याउ बगानमा स्याउ बोटमा फल्दै गरेका स्याउहरू बोटबाट आफैं झरेर नष्ट हुने गरेको छ। घरपझोङ जोमसोमकी किसान सुकमाया थकालीको बगैंचामा रहेको धेरैजसो स्याउ बोटबाट झरेर नाङ्गा भएका छन्। गत वर्ष लटरम्म फल्ने गरेको बगानको स्याउ अहिले झरेर पातलो भएको किसान थकालीले सुनाइन्। 

कृषि र पर्यटन क्षेत्रमा निकै प्रचुर सम्भावना रहेको मुस्ताङमा यहाँका किसानको मुख्य आम्दानी स्रोत स्याउ नै हो। पछिल्लो समय स्थानीय जातका स्याउ खेती भइरहेको मुस्ताङमा विगत पाँच वर्षदेखि उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेतीमा मुस्ताङका किसानको आकर्षण बढ्दै गइरहेको छ। तर, स्याउ खेतीतर्फ यहाँका किसानको आकर्षण बढिरहँदा विश्वले उत्सर्जन गरिरहेको कार्बन अक्साइडले यहाँका कृषि क्षेत्रलाई असर पु¥याउन थालेको हो। जलवायुका कारण हिमाली क्षेत्रको तापमान वृद्धि हुँदा स्याउ खेतीले बसाइ सार्न थालेको छ। 

कृषि ज्ञान केन्द्र कार्यालय मुस्ताङले जिल्लाको घरपझोङ र बारागुङ मुक्ति क्षेत्रमा बढी र थासाङ गाउँपालिकामा स्याउको बोटहरूमा फलको गँवारो रोगकिराको प्रकोप रहेको जनाएको छ। ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले फलको गँवारो किराको प्रकोपले यहाँका किसानको स्याउ बगानको स्याउमा क्षति पु¥याइरहेको बताए। ‘मुस्ताङमा फलको गँवारोको किराको प्रकोप देखिएको छ, स्याउको फललाई प्वाल पारेरभित्रको गुदी खाएर फललाई खोक्रो पारिदिन्छ, कार्यालय प्रमुख बस्ताकोटीले भने, ‘फललाई प्वाल पार्ने र गुदी खाइदिएपछि स्याउको गुणस्तर घटाइदिन्छ भने फलको वजनसमेत कमी गर्छ।’

ज्ञान केन्द्रका अनुसार स्याउ बगैंचामा देखिएको फलको गँवारो किराको प्रकोप हटाउन रासायनिक विषादीको उचित डोज मिलाएर छर्किनु पर्नेछ। गवारो किरा रोक्न इमामेक्टिन बेन्जोइड वा स्पिनोसाडमध्ये ए १५ लिटर पानीमा ५ ग्राम मिलाएर बगैंचामा छर्किनुपर्ने ज्ञान केन्द्रले सुझाएको छ।
पछिल्लो समय मुस्ताङमा १४ सय ९५ हेक्टरमा स्याउ खेती विस्तार भएको छ। जसमध्ये ५ सय ८५ हेक्टरमा लगाइएको स्याउ खेतीले स्याउ उत्पादन दिने गरेको छ। मुस्ताङमा गत वर्ष ४९ सय ७५ टन स्याउ उत्पादन भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.