सिरहामा धान रोपाइँ सकियो, छैन मल
वर्षौंदेखि सिरहाका किसानले यही झमेला खेपिरहेका छन्। रोपाइँ गर्छ। समयमा मल पाउँदैन। यसपटक पनि उनीहरूलाई निराश बनाएका छन्।
सिरहा : लहान नगरपालिका–१४ बस्तीपुर गाउँका कन्हैया साह एक हप्ता अगाडि आफ्नो धान रोपाइँ सकाए। रोप्न अघि नै सबै धान खेतमा डीएपी मल हाल्न खोजेका थिए। मल नपाएपछि रोपाइँ सकेर हाल्ने सोचे।
अहिले उनी मलकै लागि भौतारिरहेका छन्। सोही गाउँ मंगला यादवले सुरुमा पाएका मल हालेर केही धान खेतीमा हाले। बाँकी रोपाइँ सकाएका धान खेतमा मल हाल्न डिलर, वडा कार्यालय र नगरपालिका धाइरहेका छन्। डीएपी मात्रै होइन, युरिया पनि नपाइरहेको उनको गुनासो छ।
वर्षौंदेखि सिरहाका किसानले यही झमेला खेपिरहेका छन्। रोपाइँ गर्छ। समयमा मल पाउँदैन। यसपटक पनि उनीहरूलाई निराश बनाएका छन्। ‘पहिले भारतबाट पनि किसानहरूलाई केही मल ल्याउन दिन्थ्यो। अहिले बोर्डरमा पक्राउ गरिरहेको छ। यता, नेपाल सरकारले चाहिने जति मल उपलब्ध गराउन सकेको छैन,’ लहान–२२ का एक किसानले भने, ‘सरकारले कि मल दिनुप¥यो कि त भारतबाट ल्याउन दिनुप¥यो। दुवै नभएर निरास बनाएको छ।’
कृषि सामग्री लिमिटेड कम्पनी लहानका अनुसार सिरहामा आर्थिक वर्ष ०८२/८३ मा ९ हजार ८८६ मेट्रिक टन युरिया, ९ हजार ७ सय ९ मेट्रिन टन डीएपी र ३११ मेट्रिक टन पोटास रासायनिक मल वितरण गरेका छन्।
सिरहामा कम्तीमा सबै किसानलाई पुग्ने जति नभए पनि थोरबहुत पुग्न २१ हजार मेट्रिक टन युरिया, १५ हजार मेट्रिन टन डीएपी चाहिने हो त्यति आएको छैन। शाखा प्रबन्धक चेबनकुमार खड्काअनुसार चालु आर्थिक वर्ष ०८३/८४ को अहिलेसम्म १ हजार २५ युरिया र ६ सय ५५ मेट्रिक टन डीएपी आएको छ। हामीले कोटा लगाएर स्थानीय तहहरूमा पठाइसकेको जानकारी गराए। एक हप्तापछि फेरि मल आउने उनले सुनाए। उनका अनुसार डीएपी २२ सय ७२ रुपैयाँ ५० पैसा बोरा, ८ सय २२ रुपैयाँ ५० पैसा बोरा युरिया र १ हजार ६ सय ७५ रुपैयाँ ५० पैसा मल बिक्री हुने गर्छ। जसमा ढुवानी जोडेर डिलरहरूले केही रकम थपेर बिक्री वितरण गर्ने गरेको छ।
अनुदानमा आउने मलमा ७० प्रतिशत कृषि सामग्री र ३० प्रतिशत साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले बिक्री वितरण गर्ने गर्छ। साल्ट ट्रेडिङ लहानका प्रमुख जितेन्द्र साहका अनुसार आर्थिक वर्ष ०८२/८३ मा सिरहामा ४७ हजार ३ सय ७४ बोरा युरिया मल आएको थियो। जसबाट ४४ हजार ८ सय ७९ बोरा वितरण भइसकेको छ। २७ सय ९५ बोरा प्रक्रियामा छ। ६३ हजार ७ सय ६६ बोरा डीएपीबाट ६३ हजार ३ सय १६ बोरा बिक्री भइसकेको उनले बताए।
शाखा प्रमुख साहका अनुसार सिरहामा १ लाख ७२ हजार बोरा युरिया र ९० हजार बोरा डीएपी मलको माग छ। तर, मागबमोजिम उपलब्ध छैन। चालु आर्थिक वर्ष ०८३/८४ मा अनुमानित २२ हजार बोरा डीएपी मल आउने अनुमान रहेको उनले सुनाए। सिरहामा ७२ हजार ३ सय हेक्टर खेतियोग्य जग्गा छ। जसमध्ये ५४ हजार हेक्टर धान रोपाइँ हुन्छ। अहिलेसम्म करिब ९४ प्रतिशत ५० हजार ७ सय ६० हेक्टर रोपाइँ भइसेको छ। कृषि ज्ञान केन्द्र सिरहाका प्रमुख किसुनदेव राउतका अनुसार रोपाइँ सकिए पनि किसानहरूले रसायनिक मल पाएको छैन।
सांसदको चासो, पालिका अध्यक्षको गुनासो
राष्ट्रिय स्वतन्त्र पार्टीका सिरहा–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्वखेलकुदमन्त्री बब्लु गुप्ता अहिले आफ्नो क्षेत्रका केही वडाहरूमा घुमफिर गरिरहेको छ।
स्थानीय किसानहरूले समयमै मल नपाएको गुनासो गरेपछि उनी कृषि सामग्री कार्यालय पुगे। कुन पालिकामा कति मल गएको विवरण लिए। उनी आफ्नो सामाजिक संजाल फेसबुक र सचिवालयमार्फत मल खाद्य रहेको जनाए। त्यही हेरेर नवराजपुर गाउँपालिकाका अध्यक्ष शिव उदगार यादवले कृषि सामग्री पुगेर हजारौं युरिया/डीएपी मलखाद्य माग गरे। उनले पाएनन्।
‘किसानहरूलाई चाहिने मलभन्दा आधी मल पनि आउँदैन तर, यहाँ जनप्रतिनिधिहरूले मल रहेको भन्दै किसानहरूलाई ढाढ्स दिन्छ,’ किसान अगुवा संजय यादवले भने, ‘सरकारले समय मल पाउने व्यवस्था गर्नुपर्छ। ढाट्ने काम नहोस्।’
प्रतिक्रिया दिनुहोस !