व्यापार घाटा १७ खर्ब ८१ अर्ब नाघ्यो, आयातको दबदबा उस्तै
काठमाडौं : आर्थिक वर्ष २०८२/८३ मा नेपालको वैदेशिक व्यापारको आकार उल्लेखनीय रूपमा विस्तार भए पनि आयातको उच्च वृद्धिदरका कारण व्यापार घाटा झनै गहिरिएको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको तुलनामा १५.८८ प्रतिशतले बढेर २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। तर, व्यापार विस्तारसँगै आयातको गति निर्यातभन्दा निकै तीव्र रहेकाले कुल व्यापार घाटा १७ खर्ब ८१ अर्ब ८ करोड रुपैयाँ पुगेको छ।
विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा नेपालले २० खर्ब ९६ अर्ब ३७ करोड रुपैयाँबराबरका वस्तु आयात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १६.२० प्रतिशतले बढी हो। अर्कातर्फ निर्यात १३.८१ प्रतिशतले वृद्धि भई ३ खर्ब १५ अर्ब २९ करोड रुपैयाँ पुगेको छ। निर्यातमा केही सुधार देखिए पनि आयातको तुलनामा यसको हिस्सा निकै सानो रहेकाले व्यापार सन्तुलन कायम हुन सकेको छैन। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कुल वैदेशिक व्यापार २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँ हुँदा व्यापार घाटा १५ खर्ब २७ अर्ब ९ करोड रुपैयाँ रहेको थियो। यस वर्ष व्यापार घाटा झन्डै २ खर्ब ५४ अर्ब रुपैयाँले थपिनुले नेपालको अर्थतन्त्र अझै पनि आयातमा टेकेको स्पष्ट पार्छ।
नेपालले विदेशबाट मुख्यगरी पेट्रोलियम पदार्थ, मोबाइल फोन, विद्युतीय तथा इलेक्ट्रोनिक उपकरण, सवारी साधन, मेसिनरी, औद्योगिक कच्चा पदार्थ र उपभोग्य सामग्री आयात गर्दै आएको छ। पछिल्लो समय डिजिटल उपकरण र आधुनिक उपभोग्य वस्तुप्रतिको बढ्दो मागले आयात बढाउन भूमिका खेलेको छ। यता नेपालबाट अलैंची, प्रशोधित चिया, तयारी पोसाक, गलैंचा, जडीबुटी र हस्तकलाका सामग्री निर्यात हुने गरे पनि तिनको उत्पादन क्षमता र बजार पहुँच आयातको तुलनामा नगन्य छ।
कृषिप्रधान देश भए पनि नेपाल खाद्यान्नमै आत्मनिर्भर हुन सकेको छैन। नागरिकहरू वैकल्पिक ऊर्जाको प्रयोगभन्दा आयातित इन्धनमै निर्भर छन्। ऊर्जा, औद्योगिक कच्चा पदार्थ, प्रविधि तथा उपभोग्य सामग्रीमा विदेशी बजारप्रतिको निर्भरता कायम रहेकाले स्वदेशी उत्पादन विस्तार नगरी व्यापार घाटा घटाउन कठिन हुने लुइँटेलको भनाइ छ। ‘हामी कृषिप्रधान देश भए पनि खाद्य वस्तुमा आत्मनिर्भर हुन सकेका छैनौं। मानिसहरू वैकल्पिक ऊर्जाको प्रयोगभन्दा इन्धनमै निर्भर भइरहेका छन्,’ उनले भने, ‘ऊर्जा, औद्योगिक कच्चा पदार्थ र प्रविधिमा विदेशी बजारप्रतिको निर्भरता कायम रहेकाले आयात निरन्तर बढिरहेको छ।’
लुइँटेलका अनुसार निजी क्षेत्रसँग सहकार्य गरेर आयातित वस्तुको स्वदेशमै उत्पादन बढाउनु आवश्यक छ। उपभोक्ताले विदेशी सामानलाई प्राथमिकता दिने प्रवृत्ति बढेकाले स्वदेशी उद्योगलाई प्रतिस्पर्धी बनाउन सरकारले विशेष नीति ल्याउनुपर्ने उहाँको सुझाव छ। तेस्रो मुलुकसँग प्रत्यक्ष व्यापार विस्तार हुन नसक्नु, समुद्री बन्दरगाहमा प्रत्यक्ष पहुँच नहुनु, आयातका लागि छिमेकी देशहरूमा भर पर्नुपर्ने अवस्था र कमजोर पूर्वाधारका कारण नेपाली वस्तु अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्न सकेका छैनन्।
यसैगरी पर्याप्त बजार प्रवद्र्धनको अभाव, उच्च ढुवानी लागत र व्यापार सम्झौताहरूको सीमित प्रभावले पनि निर्यातमा बाधा पु¥याएको छ। भारतसहित अन्य मुलुकसँगका कूटनीतिक तथा व्यापारिक सम्बन्धलाई समयअनुकूल पुनरावलोकन गर्नुपर्ने आवश्यकता छ। व्यापार घाटा नियन्त्रणका लागि स्वदेशी उत्पादन वृद्धि, कृषि र उद्योगमा लगानी विस्तार, निर्यातमुखी उद्योगलाई प्रोत्साहन, नयाँ अन्तर्राष्ट्रिय बजारको खोजी र पूर्वाधार विकास अपरिहार्य देखिन्छ।
आगामी वर्षहरूमा केही वस्तुको आयात घट्ने अपेक्षा गरिए पनि अर्थतन्त्रको आकार विस्तारसँगै आयात र निर्यात दुवै बढ्ने अनुमान छ। तर, उत्पादन र निर्यातको गतिले आयातलाई भेट्न नसकेसम्म नेपालको व्यापार घाटा घट्ने सम्भावना कमजोर रहन्छ। त्यसैले आयातमा निर्भर अर्थतन्त्रलाई दीर्घकालीन रूपमा उत्पादनमुखी र निर्यातमुखी बनाउनु नै अहिलेको प्रमुख आवश्यकता बनेको छ।
प्रतिक्रिया दिनुहोस !