प्रधानमन्त्री निजी क्षेत्रमैत्री बन्दा सकारात्मक बन्यो सेयर बजार

प्रधानमन्त्री निजी क्षेत्रमैत्री बन्दा सकारात्मक बन्यो सेयर बजार
सुन्नुहोस्

काठमाडौं : सरकार गठनदेखि ओरालो यात्राको सेयर बजारप्रति प्रधानमन्त्रीको चासो बढेको छ। यसबेला उनी आफैंले सक्रियता देखाउन थालेका छन्। बजेट र मौद्रिक नीति आए पनि लगानीकर्ताको मनोबल नबढ्दा सेयर बजार उँभो लाग्न सकेको थिएन। व्यवसायी र उद्योगपतिमाथि सरकारको धरपक्कड चल्दै गर्दा लगानीकर्तामा त्रास बढेको थियो। यसले गर्दा सेयर बजार निरन्तर उँधो गतिमै रहिरहयो।

यसैबेला सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगको काम कारबाहीलाई रोक्यो। लगानीकर्तामा सम्पत्ति छानबिनको भय हट्दा सेयर बजारको घट्ने क्रम रोकियो। यससँगै प्रधानमन्त्रीले पनि सेयर बजार सरोकारवालासँग भेटघाट गर्न सुरु गरे।

केही समयअघि प्रधानमन्त्रीले गभर्नर डा.विश्वनाथ पौडेलसँग सेयर बजारका विषयमा छलफल गरेका थिए। त्यसैगरी, उनले गत सोमबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपालप्रसाद भट्ट, नेपाल स्टक एक्सचेन्जका अध्यक्ष अमृत लम्साल र स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल, लगानीकर्ता प्रियाराज रेग्मी र अम्बिकाप्रसाद पौडेललगायतसँग भेटघाट र छलफल गरेका थिए। यसबाट लगानीकर्तामा रहेको केही शंका हटेको देखिन्छ। साउनको पहिलो सातामा नेपाल स्टक एक्सचेन्ज (नेप्से) १ दिन मात्रै घट्यो भने ४ दिनै बढ्यो। अघिल्लो साता पनि सेयर बजार १ दिन घटेर ४ दिन बढेको थियो।

अघिल्लो साता कारोबारको अन्तिम दिन शुक्रबार २६७७.५४ अंकमा बन्द भएको नेप्से यस साता सेयर कारोबारको पहिलो दिन सोमबार उच्च अंकले बढ्यो। त्यसदिन नेप्से ४१.७० अंकले बढेर २७१९.२४ विन्दुमा पुग्यो। त्यसको भोलिपल्ट मंगलबार ७.२५ 
अंक बढ्यो भने बुधबार १३.९५ अंकले घट्यो। त्यसपछिका दुई दिन लगातार सेयर बजार बढ्यो। बिहीबार १४.१७ अंकले बढेको थियो। सेयर कारोबारको अन्तिम दिन शुक्रबार नेप्से ७.८८ अंकले बढेर नेप्से २७३४.६० विन्दुमा उक्लिएको छ।

सातामा चार दिनको कारोबारमा ७१ अंकले बढ्ने र एक दिनको कारोबारमा १३.९५ अंकले घट्ने हुँदा नेप्सेमा ५७.०५ अंकले बढोत्तरी हुन पुग्यो। अघिल्लो सातामा पनि नेप्से ७९.७४ अंकले बढेकै थियो। यस सातामा सोमबार न्यून विन्दु २६५९.५३ मा र मंगलबार उच्च विन्दु २७५४.१८ अंकसम्म नेप्से बढेर सेयर कारोबार भयो।
यस साता सबैभन्दा कम बिहीबार ३ सय ३८ वटा कम्पनीको कारोबार भएकोमा शुक्रबार साताकै सबैभन्दा बढी ३ सय ५३ स्क्रिप्टहरूको कारोबार भयो। अघिल्लो साताचाहिँ बढीमा ३ सय ८३ स्क्रिप्ट सम्मको कारोबार भएको थियो।

यस साता सबैभन्दा कम बिहीबार ४ अर्ब ६९ करोड ३४ लाख र सबैभन्दा बढी मंगलबार ६ अर्ब ६७ करोड १० लाख रुपैयाँको सेयर कारोबार भयो। साताभरिमा ५ दिनको कारोबारमा २८ अर्ब ३३ करोड १६ लाख रुपैयाँको सेयर खरिदबिक्री भयो। यसबाट औसतमा दैनिक ५ अर्ब ६६ लाख ६३ हजार रुपैयाँको सेयर कारोबार भएको देखाउँछ। अघिल्लो साता औसतमा दैनिक ५ अर्ब ८३ लाख ८८ हजार रुपैयाँबराबरको मात्रै सेयर किनबेच भएको थियो। यसले सातामा औसत दैनिक सेयर कारोबार लगभग ३ प्रतिशतले घटेको देखाउँछ। अघिल्लो साता भने औसत दैनिक सेयर कारोबार करिब २० प्रतिशतले बढेको थियो।

नेप्सेको कुल बजार पुँजीकरण शुक्रबार ४६ खर्ब ९९ अर्ब ६० करोड रुपैयाँ पुगेको छ। अघिल्लो साताको अन्तिम दिन शुक्रबार बजार पुँजीकरण ४६ खर्ब ५६ करोड रुपैयाँ मात्रै थियो। साताभरमा नेप्से ५७.०५ अंकले बढ्दा कुल बजार पुँजीकरण ९९ अर्ब ४ करोड रुपैयाँले बढ्न पुग्यो। अघिल्लो साता पनि कुल बजार पुँजीकरण १ खर्ब ३१ अर्ब ८८ करोड रुपैयाँले बढेको थियो।

यस साता एभरेष्ट कलरको ४ दिन सेयर सकरात्मक सर्किट लेभलमा कारोबार भयो। बुधबार बुंगल हाइड्रोको १०.५० प्रतिशत र बिहीबार स्नो रिभर्सको १३.७१ प्रतिशतले बढेका थिए। अघिल्लो साता एक–एक दिन श्रीनगर एग्रिटेक र सूर्यकुण्ड हाइड्रोपावरके सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका थिए। यससाता बिहीबार कुथेली बुखरी स्थल हाइड्रोपावरको सेयर नकरात्मक सर्किट लेभलमा कारोबार भयो।

सेयर बजारमा सूचीकृत १३ उपसमूहमा यस साता ११ वटाको बढ्यो भने २ समूहको घट्यो। म्युचुअल फन्ड र नन् लाइफ इन्स्योरेन्स समूहका घटेका हुन्। अघिल्लो साता भने सबै उपसमूहका बढेका थिए।
यस साता सेन्सेटिभ इन्डेक्स ५.०९ अंक, फ्लोट इन्डेक्स ३.३७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.९७ अंकले बढे। अघिल्लो साता पनि सेन्सेटिभ इन्डेक्स १४.७८ अंक, फ्लोट इन्डेक्स ५.५१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ५.०९ अंकले बढेका थिए।

लक्ष्मी सनराइजको ऋणपत्र निष्कासन बिहीबारदेखि
लक्ष्मी सनराइज बैंकले साउन १४ गते बिहीबारदेखि ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ निष्कासन गर्न लागेको हो। ऋणपत्रमा १० वर्ष अवधिका लागि वार्षिक ७ प्रतिशत ब्याजदर रहेको छ।

बैंकले प्रतिऋणपत्र १ हजार अंकित दरका ३० लाख कित्ता ३ अर्ब रुपैयाँ बराबरको निष्कासन गर्न लागेको हो। यसमा १८ लाख कित्ता ऋणपत्र १ अर्ब ८० करोड बराबरको व्यक्तिगतमा र १२ लाख कित्ता १ अर्ब २० करोड रुपैयाँ बराबरको सर्वसाधारणमा बाँडफाँट हुनेछ। उक्त ऋणपत्रमा न्यूनतम २५ कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने छ। यसको निष्काशन बन्द छिटोमा साउन १९ र ढिलोमा साउन २८ गते हुनेछ। बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक माछापुच्छ«े क्यापिटल लिमिटेड हो।

ओटीसी बजारमा साढे ५ अर्बको कारोबार
आर्थिक वर्ष २०८२/८३ मा ओभर द काउन्टर (ओटीसी) बजारमा ५ अर्ब ६२ करोड ४४ लाख ७२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत नभएका कम्पनीहरूको सेयर किनबेच ओटीसी बजार हुने गर्छ।

सार्वजनिक लिमिटेड कम्पनीहरूको कारोबार हुने यस बजारमा जलविद्युत्, औषधि, सूचना प्रविधि र धितोपत्र दलाल (ब्रोकर) कम्पनीहरूको बाहुल्यता रहेको छ। गत आर्थिक वर्षमा कुल २ करोड ५ लाख ५३ हजार १ सय ९७ कित्ता सेयर ओटीसी बजारमा किनबेच भएको थियो।
गत आवमा फोनपे पेमेन्ट सर्भिसको ओटीसी बजारमा सबैलाई बढीमा कारोबार भयो। यस कम्पनीको सेयर प्रतिकित्ता १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकित्ता अंकित मूल्य १ सयको ५१.८७ रुपैयाँमा किनबेच भएर हिमशिला पावर कम्पनी सबैभन्दा सस्तो सेयर देखिएको थियो।

प्राथमिक बजार ३ महिनादेखि ठप्प
सार्वजनिक निष्कासनको प्राथमिक बजार ३ महिनादेखि ठप्प रहेको छ। यसअवधिमा आईपीओ, हकप्रद सेयर, ऋणपत्र, सामूहिक लगानी कोष योजनालगायतको निष्कासन हुन सकेका छैनन्।

नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्तिमा भएको ढिलाइका कारण आईपीओ, हकप्रद, ऋणपत्र र म्युचुअल फन्ड निष्कासनको अनुमति रोकिएको हो। सेबोनमा अध्यक्ष पद वैशाख पहिलो सातादेखि रिक्त रहेको थियो। असार दोस्रो सातादेखि डा. गोपालप्रसाद भट्टले सेबोन अध्यक्षको जिम्मेवारी सम्हालेका छन्।

अनुमति लिएर ९९ कम्पनी आईपीओबाट ७० अर्ब रुपैयाँ उठाउनका लागि तयार भएका छन्। विभिन्न कम्पनीहरू २५ अर्बभन्दा बढीको हकप्रद सेयर, १४ अर्बको ऋणपत्र र ७ अर्ब रुपैयाँभन्दा बढीको म्युचुअल फन्ड निष्कासनका लागि अनुमति पर्खेर बसेका छन्। यसबेला बैंकको ब्याजदर न्यून भएकाले संस्थागत र व्यक्तिगत लगानीकर्ता लगानीका लागि आतुर छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.