नेपाल दक्षिण एसियाको गतिशील पुल : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दक्षिण एसियाका मुलुकहरूबीचको गतिशील पुल भएको बताएका छन्। मंगलबार प्रतिनिधिसभालाई बिम्स्टेक शिखर सम्मेलनका बारेमा जानकारी गराउँदै सम्मेलन सम्पन्न गरी नेपालले आफूलाई गतिशील पुलका रुपमा प्रमाणित गरेको बताए।
संयुक्त सैन्य अभ्यास गर्ने बिम्स्टेक बैठकको बुँदाबारे प्रतिपक्षी कांग्रेस लगायतले विरोध जनाइरहेका बेला प्रधानमन्त्रीले बिम्स्टेक सदस्य राष्ट्रबीच सार्वभौम समानता, राजनीतिक स्वाधिता, आन्तरिक मामिलामा अहस्तक्षेप र पारस्परिक लाभका सिद्धान्तमा आधारित भइ सहमतिहरू बनेको बताए।
'एउटा जमघट भयो सिद्धियो भन्ने जस्तो नहोस् भनेर स्याथी संरचनाहरू बनाइएको छ', प्रधानमन्त्रीले भने।
सम्मेलनका क्रममा नागरिकले कष्ट भोगेको भन्दै सम्मेलन सफलताका लागि जनताले गरेको धैर्यताका लागि धन्यवाद दिए। 'समय, सुरक्षा, कार्यक्रमको गरिमा आदिलाई ध्यान दिँदा जनताले ट्राफिकको असुविधा लगायतका असुविधाहरू भोगे', प्रधानमन्त्रीले भने, 'अत्यन्त धैर्यवान सहनशीलता र सुझबुझका साथ प्राप्त समर्थनका लागि आम नागरिकलाई धन्यवाद दिन चाहन्छु।'