भद्रपुर छोटी भन्सार सञ्चालन

भद्रपुर छोटी भन्सार सञ्चालन

भद्रपुर : भारतको बिहार तथा बंगाल राज्यसँग जोडिएको भद्रपुर छोटी भन्सारलाई स्तरोन्नति गरी मंगलबारबाट औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ। गत साउन १ देखि स्तरोन्नति गरिएको भद्रपुर भन्सार कार्यालयको अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार उद्घाटन गरेपछि सञ्चालन गरिएको हो। अर्थमन्त्री खतिवडाले यस भन्सारमा देखिएका विभिन्न समस्या समाधान गर्न भरपुर प्रयास गरिने बताए।

खतिवडाले बंगाल र बिहार जोड्ने एक मात्र नाका भद्रपुर भन्सार रहेकाले पनि स्तरोन्नतिका लागि सरकारका तर्फबाट पूर्ण सहयोग हुने उल्लेख गरे।

मेची पुलदेखि झापा चोकसम्म जोड्ने १३ सय मिटर बाटो वरिपरिका जनताले उचित मुआब्जा नपाएसम्म घर र जग्गा नदिने भनेर अडान लिएको प्रसंगलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले आफ्नो ढोकासम्म आएको विकासलाई भित्र प्रवेश गराउन जनतालाई लचिलो हुन आग्रह गरे। ‘जम्मा १३ सय मिटरको बाटोमा स्थानीय जनप्रतिनिधि मिलेर सौहार्दपूर्ण समाधान निकाल्नुपर्छ’, खतिवडाले भने, ‘त्योभन्दा अघि मेची पुलबाट झापा चोकसम्म जोड्ने बाटोमा पर्ने पहिला सञ्चालनमा रहेको आफ्नै भवन (भन्सार) भत्काउनुपर्छ।’

तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्रीले मेची पुलको शिलान्यास गर्दा आफू योजना आयोगको उपाध्यक्ष रहेको उल्लेख गर्दै उनले पुल निर्माणमा आफ्नो पनि हात रहेको खतिवडाले बताए।

पूर्वाधारबिनै भद्रपुर भन्सारलाई स्तरोन्नति गरेकोमा उद्योगपति र व्यापारीबाट गुनासो आएसँगै राजस्व सचिव शिशिर ढुंगानाले उद्घाटन कार्यक्रममा भद्रपुर भन्सारबाट उत्कृष्ट सेवा दिन प्रतिबद्ध रहेको बताए।

भद्रपुरस्थित मेची नदीमा पक्की पुल निर्माण भएसँगै मेची भन्सार कार्यालय काँकडभिट्टा मातहत रहेको भद्रपुर छोटी भन्सारलाई भन्सार विभाग काठमाडौंले छुट्टै भन्सारको दर्जा दिएको हो।

मासिक रूपमा करिब एक करोडको राजस्व उठाउँदै आएको भद्रपुर भन्सारलाई पूर्वाधार निर्माणका लागि १० बिघा जमिन आवश्यक रहेको भन्सार प्रमुख टेकबहादुर अर्यालले बताए। अहिले चलेको भन्सारको पछाडिबाट सडक विस्तार हुने भएकाले सडकको दुवैतर्पm गरेर १० बिघा जमिन चाहिन्छ। बाटो र भन्सारको नक्सा विभागमा पठाइसकिएको छ। विभागबाट अर्थमन्त्रालय हुँदै प्रक्रिया अघि बढेको उनले उल्लेख गरे।

२०३९ सालदेखि साउन १ गतेसम्म भद्रपुर भन्सारको गतिविधि मेची भन्सारले नै हेर्दै आएको थियो। भद्रपुर नगरपालिका वडा नम्बर ५ मा रहेको उक्त कार्यालय हालसम्म १० कठ्ठा क्षेत्रफलमा छ। भन्सारमा हाल दुईतले भवन र दुईवटा गोदाम घरमात्र सञ्चालनमा छन्। भद्रपुर नगरपालिकासँगै भद्रपुर भन्सारको पनि स्थापना २००८ मा भएको हो। त्यो समयमा प्रमुख भन्सार भद्रपुर नै थियो। पूर्व पश्चिम राजमार्गको सुरुवातसँगै मूल भन्सार काकडभिट्टा सारिएको थियो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.