एउटा गाडी मर्मतमा चार लाख !

एउटा गाडी मर्मतमा चार लाख !

धनगढी : प्रदेश ७ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा एउटै गाडीको मर्मतमा झण्डै चार लाख रुपैयाँ खर्च गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको बा १ झ ६४८९ नम्बरको गाडी मर्मतका लागि तीन लाख ४६ हजार १९० रुपैयाँ खर्च गरिएको हो ।

गाडी मर्मतमा अनियमितता भएको गुनासो आएपछि अन्नपूर्ण पोेस्ट्ले बिलहरूको प्रतिलिपि माग गरेपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले व्यापारीको ब्यक्तिगत गोपनीयता हुने भन्दै उपलब्ध गराएको छैन । तर उसले कम्प्युर टाइप गरी दिएको विवरणमा भने एकै गाडीमा यति ठूलो रकम खर्च गरिएको उल्लेख छ ।

मन्त्रिपरिषद् कार्यालयले दिएको विवरणमा बा १ झ ८३१० नम्बरको गाडी मर्मतमा दुईवटा बीलबाट दुई लाख ७ हजार ८११ रुपैयाँ खर्च गरिएको छ । कार्यालयले पटकपटकको निवेदनपछि दिएको विवरणमा अलगअलग सूचना उपलब्ध गराएको छ ।

पहिलो पटक दिएको सूचनामा उसले मुख्यमन्त्रीको स्कर्टिङमा जाने बा १ झ ९९२५ नम्बरको गाडी मर्मतमा दुईवटा बिलहरू एक लाख ३५ हजार ८५० र ७५ हजार ९८१ रकम खर्च भएको विवरण दिएको थियो भने त्यसपछि उपलब्ध गराएको सूचनामा एक लाख ३५ हजार ८५० खर्च अर्कै गाडी मर्मतमा देखाएको छ ।

यस्तै बा २ झ २०५४ नम्बरको गाडी असारसम्म चार पटक मर्मत गरिएको छ । त्यो गाडीमा एक लाख ३९ हजार ६२ रकम खर्च गरिएको छ । मुख्यमन्त्रीले चढने से १ झ २४९ नम्बरको गाडीमा पनि दुई पटक मर्मतको बिल भुक्तानी गरिएको छ । एक पटक ३४ हजार ५ सय २६ र अर्को पटक ४० हजार ५३५ रकम भुक्तानी गरिएको छ । दुवै बिल कुन मितिमा आए भन्ने कुरा विवरणमा उल्लेख छैन ।

बा १ झ १९७७ नम्बरको गाडीमा दुईवटा बिलबाट एक लाख १३ हजार ३६८ रकम भुक्तानी गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार सबैभन्दा बढी प्रमुख सचिवले चढ्ने बा १ झ ६४८९ नम्बरको गाडी मर्मतमा झण्डै चार लाख खर्च गरिएको छ । मुख्यमन्त्रीका स्वकीय सचिव शिव ओली चढने बा २ झ १९७७ मा १ लाख १३ हजार, कर्मचारीका लागि राखिएको बा १ झ ८३१० नम्बरको गाडीमा दुई लाख ७ हजार खर्च गरिएको छ । बा २ झ २०५४ नम्बरको गाडी कानुनसचिव यज्ञप्रसाद भट्टराईले चढ्छन् ।

सरकारी गाडी मर्मत प्रायः एक दुई ठाउँमा मर्मत हुने गरिए पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका ७ वटा गाडीहरू अलग अलग ठाउँमा मर्मत गरिएकाले पनि बिलमा अनियमितताको आशंका गरिएको छ । भुक्तानी गरिएका बिलमा जथाभावी मूल्य राखिएको, एकै महिनामा त्यही सामान दोहोर्‍याएर हालिएकाले बिलको प्रतिलिपि नदिएको हुनसक्ने स्रोतले जनाएको छ ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७४÷७५ को अल्पकालिक बजेटमा हरेक मन्त्रालयका गाडी मर्मतका लागि ५ लाख रकम विनियोजन गरेको थियो भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लागि १० लाख विनियोजन गरिएको थियो । तर मुख्यमन्त्री कार्यालयले त्यो भन्दा झण्डै ६१ हजार बढी रकम खर्च गरेको छ ।

फर्निसिङमा पनि गोलमाल

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लागि फर्निसिङमा झण्डै ३३ लाख खर्च गरिएको छ । कार्यालय स्थापना हुनुभन्दा अघि फर्निसिङको सबै जिम्मेवारी शहरी विकास तथा भवन डिभिजन कार्यालयलाई दिइएको थियो । शहरी विकास तथा भवन डिभिजन कार्यालयले मुख्यमन्त्रीको कार्यालय र आवासमा १२ लाख ७८ हजार फर्निसिङमा खर्च गरिसकेको थियो ।

‘हामीले कार्यालय र आवासमा चाहिने अत्यावश्यक फर्निचर हालिसकेका थियौं, १२ लाख ७८ हजारको भुक्तानी पनि भइसकेको छ’, शहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख रवीन्द्र बोहराले भने । ‘त्यसपछिको खर्च मन्त्रालयहरू आफैंले गरे होलान, हामीलाई थाहा भएन’, उनले भने ।

शहरी विकास तथा भवन डिभिजन कार्यालयले १२ लाख ७८ हजारको फर्निसिङमा खर्च गरिसकेपछि आएको आर्थिक वर्ष २०७४÷७५ को अल्पकालिन बजेटमा फेरि फर्निसिङका लागि २० लाख रकम विनियोन गरिएको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले त्यो रकम पनि सबै फर्निसिङमा खर्च गरेको छ ।

फर्निसिङको खर्च दोहोरो भएको र बजार मूल्य भन्दा दर बढाएर खरिद गरिएको गुनासो आएपछि अन्नपूर्ण पोस्ट्ले बिलको प्रतिलिपि मागेपनि कार्यालयले उपलब्ध गराउन मानेको छैन । तर उसले कम्प्युटर टाइप गरी दिएको विवरणमा विभिन्न पाँचवटा फर्मबाट २० लाख रकमका फर्निचर र सामान आएको जनाएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विदुसी ट्रेडर्सबाट चार लाख ४० हजार, कमल लक्ष्मी ट्रेडर्सबाट तीन लाख ४९ हजार, गैरातेडी प्रालिबाट ४ लाख ४२ हजार, कमल लक्ष्मी ट्रेडर्सबाट एक लाख २३ हजार र विराट इलेक्ट्रोनिक एण्ड सप्लायर्सबाट ४ लाख ३० हजार भ्याट बाहेकको भुक्तानी गरेको छ ।

सोफासेट, पलङ, दराजमा बजार मूल्य भन्दा दर बढाएको गुनासो आइरहेका बेला मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिलहरूको प्रतिलिपि दिन नमानेपछि त्यसको पुष्टि भएको छ । कार्यालयले प्रतिलिपि दिनका लागि सूचनाको हकसम्बन्धी ऐनको दफा ३ ग र ङ अनुसार सम्बन्धित ब्यवसायीको हित र ब्यक्तिगत गोपनीयतालाई ध्यानमा राखेर निजहरूको अनुमति बिना छायाँप्रति उपलब्ध गराउन नसकिने उल्लेख गरेको छ ।

तर राष्ट्रिय सूचना आयोगका आयुक्त किरणकुमार पोखरेलले भने सरकारी कार्यालयका कुनै पनि बिल गोप्य नहुने बताए । ‘सरकारी कार्यालयहरू जनताको करबाट चलेका हुन्छन, सरकारी कार्यालयका हरेक सम्पत्तिको मालिक जनता हो, त्यसैले हरेक सरकारी कार्यालयले जनताले मागेको सूचना दिनुपर्छ’, उनले भने ।

धनगढी बजारमा रहेका चर्चित फर्निचर पसलबाट सामान आएको, ती सामानको आपूर्तिको जिम्मा पार्टीका कार्यकर्तालाई दिइएको र उनीहरूले बिल बढाएर भुक्तानी लगकोले पोल खुल्ने डरले बिलको छायाँप्रति नदिएको हुनसक्ने स्रोतले जनाएको छ ।

स्वकीय सचिवको घरमा पनि लाखौंका फर्निचर

मुख्यमन्त्रीका स्वकीय सचिव शिव ओलीले मुख्यमन्त्रीको आवास नजिकै छुट्टै घर भाडामा लिएका छन् । उनको आवासमा पनि पाँच लाख भन्दा बढी मूल्यका फर्निचर सरकारी रकमबाटै राखिएको स्रोतले बतायो । आफूले यी सामान मुख्यमन्त्री त्रिचोलन भट्टको आवासबाट ल्याएको उनले बताए ।

मुख्यमन्त्रीका स्वकीय सचिवलाई यसरी छुट्टै आवासको व्यवस्था प्रदेशको कुनै ऐनमा उल्लेख छैन । स्वकीय सचिवलाई पारि श्रमिक बाहेकको कुनै पनि सेवा सुविधा दिने कुरा प्रदेशको ऐनमा उल्लेख छैन । हालै संसद्मा छलफलमा रहेको मुख्यमन्त्री तथा मन्त्रीहरूको पारि श्रमिकसम्बन्धी विधेयकमा यस्तो कुनै ब्यवस्था गरिएको छैन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.