मल्लकालीन तलेजुभित्र सिमेन्टको प्रयोग

मल्लकालीन तलेजुभित्र सिमेन्टको प्रयोग

भक्तपुर : विश्व सम्पदा भक्तपुर दरबार क्षेत्रस्थित ९९ चोकभित्रको तलेजु परिसरमा रहेको द्वेयमाजु चोकभित्र ढुंगा छाप्दा सिमेन्ट प्रयोग गरिएको छ। भक्तपुर तलेजुका मूलनाइके नरेन्द्रप्रसाद जोशीले पुरातात्विक महत्व बोकेको मल्लकालीन द्वेयमाजु चोकमा सिमेन्ट प्रयोग गरेर ढुंगा छापिएका जानकारी दिए।

पुरातत्व विभागअन्तर्गत भक्तपुरमा रहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले द्वेयमाजु चोकमा रहेको चिकं अप्पा (तेलिया इँटा) को ठाउँमा ढुंगा छापेको हो। पुरातात्विक क्षेत्रमा प्राचीन निर्माण सामग्री प्रयोग गर्नु पर्ने युनेस्कोको मापदण्ड छ। जसअनुसार चुनासुर्की, इँटाको धूलो र बालुवा प्रयोग गर्नुपर्ने मान्यता छ। ‘पुरातात्विक एवं ऐतिहासिक ठाउँमा सिमेन्ट प्रयोग गरिनु आपत्तिजनक छ’, मूलनाइके जोशीले भने, ‘हाम्रै मौलिक निर्माण सामग्री हुँदाहुँदै सिमेन्ट प्रयोग गरिनुहुँदैनथ्यो।’ उनले चोकभित्र छापिएको तेलिया इँटा केही नहुँदै ढुंगा छापिएकोमा समेत आशंका व्यक्त गरे।

जोशीका अनुसार तेलिया इँटाको ठाउँमा ढुंगा छापिएपछि द्वेमाजु चोकको सौन्दर्य नै हराएको छ। ‘तेलिया इँटाको ठाँउमा ढुंगा किन छापियो ? प्रश्न गर्ने ठाउँ छ।’, मूल नाइके जोशीले थपे, ‘तेलिया इँटाले जस्तो चकम ढुंगाले दिँदैन। अहिले द्वेयमाजु चोक उराठलाग्दो देखिन्छ।’ स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका मुख्य इञ्जिनियर मोहनकृष्ण श्रेष्ठले ढुंगाका कापबाट पानी भित्र छिर्न नदिन माथिमात्रै सिमेन्ट प्रयोग गरिएको स्पष्ट पारे। ‘पानी छिर्नबाट बचाउन ढुंगा जोडिएको ठाउँमा सिमेन्टको प्वाइन्टिङमात्रै गरिएको हो’, उनले भने, ‘सिमेन्ट प्रयोग नगरिए ढुंगाभित्र पानी पसेर क्षति पुग्न सक्छ।’ पुरातात्विक क्षेत्र भएकै कारण सिमेन्ट प्रयोग गर्न हुन्न भन्ने नभएको उनको भनाइ थियो।

कार्यालयले द्वेयमाजु चोकमा ढुंगा छाप्नुका साथै प्राचीन अ¥ही पुखु (पोखरी) समेत जीर्णोद्धार गरेको छ। पोखरीको डीलमा वरपीपल उम्रिएर पोखरी जीर्ण हुँदै आएको थियो। झारपातले घेरिएको उक्त पोखरी सफा गरेर जीर्णोद्धार गरिएको हो। विजया दशमीको क्रममा प्रत्येक बिहान भक्तजन द्वेयमाजु देवीको पूजाआजा र दर्शन गर्न पुग्छन्। पूजाआजा गर्नुअघि द्वेयमाजु देवीलाई उक्त पोखरीको जल चढाउनुका साथै भक्तजनले मुख धुनुपर्ने परम्परा छ। स्थानीय बुढापाकाका अनुसार रुन्चे लागेका बालबच्चालाई उक्त पोखरीमा ल्याएर मुख धुन लगाए निको हुने जनविश्वास छ। द्वेयमाजु देवी र उक्त पोखरी भक्तपुरको तलेजुभन्दा पुरानो मानिन्छ।

तलेजुका मूलनाइके जोशीले आफूसँग सल्लाह नै नगरी तलेजुभित्र जथाभावी पुनर्निर्माण र नयाँ निर्माण गरेकोमा असन्तुष्ट जनाए। उनले थाहै नदिई स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले आफूहरूले नियमित पूजा गर्नुपर्ने ठाउँमा बाधा पुग्ने गरी तबेला निर्माण गरेको गुनासो गरे। कार्यालयले पुरानो तबेलालाई यथावत राखी तलेजुभित्र खाली ठाउँमा नयाँ तबेला निर्माण गरेको थियो। तलेजुको बाहन मानिने सेतो घोडा राख्न उक्त नयाँ तबेला निर्माण गरिएको कार्यालयले जनाएको छ। बडादशैंको दिन तलेजुको खड्ग राखेर उक्त सेतो घोडालाई भक्तपुर नगर परिक्रमा गराउने परम्परा रहँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.