जिल्ला अदालतमा बयान दिँदै विप्लव प्रवक्ता प्रकाण्ड
भोजपुर : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई बुधबार जिल्ला अदालत भोजपुरमा बुझाइएको छ । ज्यान मार्ने उद्योग, विष्फोटक पदार्थ र आगजनी मुद्दा लागेका ‘प्रकाण्ड’ लाई बुधबार बिहान करिब साढे ११ बजे बयानका लागि जिल्ला प्रहरी कार्यालयबाट अदालत ल्याइएको थियो ।
अहिले उनीको बयान चलिरहेको जिल्ला अदालतका सूचना अधिकारी मणिराम पोखरेलले जानकारी दिए । सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएकै भोलिपल्ट उनलाई मोरङको विराटनगर विमानस्थल हुँदै प्रहरीको गाडीमा मंगलबार राति सवा ११ बजे भोजपुर ल्याइएको थियो ।
ज्यान मार्ने उद्योग र विष्फोट पदार्थ मुद्दा अन्र्तगत गत कात्तिक २८ गते प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका लागि गोगनेतर्फ जाने क्रममा भोजपुरको प्रदेश ‘ख’ का तत्कालीन एमाले र माओवादी केन्द्रका साझा उम्मेदवार शेरधन राईलाई लक्षित गरेर टेम्के मैयुङ गाउँपालिका ६ कोटको गुम्बास्थित सकेट बम विष्फोट गराइएको थियो । विष्फोटमा राईको सुरक्षामा खटिएका नेपाल प्रहरीका सहायक निरीक्षक (असई) डिल्ली देवकोटा घाइते भएका थिए । राईसहित पार्टी कार्यकर्ता चढेको बा १५ ज ५६०८ नम्बरको ल्याण्डरोवर जीप विष्फोटमा परेर क्षतिग्रस्त बनेको थियो । विष्फोटपछि असई देवकोटाले २१ राउण्ड जवाफी फाइरिङ समेत गरेका थिए ।
भोजपुरबाट निर्वाचित राई हाल प्रदेश १ का मुख्यमन्त्री छन् । यसअघि ‘विप्लव’ समूहले विष्फोट गराएको प्रहरीले बताउँदै आएको थियो । यही घटनालाई लिएर ‘प्रकाण्ड’ सहित विप्लवका नेता कार्यकर्ताविरुद्ध अदालतमा मुद्धा दर्ता भएको हो । नेकपा प्रवक्ता प्रकाण्डलाई प्रहरीले श्री एअरलाइन्सको हवाईजहाजमार्फत बिहान ११ः ५० बजे विराटनगर विमानस्थल ल्याई प्रहरीको गाडीमा मंगलबार राति भोजपुर ल्याएको हो ।
यसअघि उनलाई काठमाडौं, काभ्रे र नुवाकोटमा विभिन्न अभियोगमा मुद्धा चलाइएको थियो । उनी सहित ‘विप्लव’ का उच्च तहका नेताहरु पदमबहादुर राई ‘विकास’, देवान राई ‘दिपेश’, किरण राई, चन्द्र बुढाथोकीविरुद्ध जिल्ला अदालत भोजपुरमा विष्फोटक पदार्थ, आगजनी र ज्यान मार्ने उद्योगको मुद्धा दर्ता भएको छ ।