‘काठमाडौंको धुलो र हिलो बढारेर समृद्धिको यात्रा’
कपिलाकोट (सिन्धुली) : नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले केही दिनमै काठमाण्डौं उपत्यकाको धुलो–हिलो समाप्त पार्ने उद्घोष गरेका छन् । सिन्धुलीको मरिणगाउपालिका वडा नं ३ र ४ जोड्ने मरिणखोलामा बनेको पक्की पुलको बुधबार उद्घाटन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
‘वर्तमान सरकार देशको समृद्धीका लागि नयाँ संकल्पका साथ अघि बढेको छ’, उनले भने, ‘केही महिनाभित्रै काठमाडौंको धुलो र हिलोलाई समाप्त गरी नयाँँ संकल्पसहित देशको समृद्धि यात्रा थालनी गर्दैछौँ ।’
काठमाडौंको धुलो–हिलो समाप्त पार्दै सफा सुन्दर र पर्यटकीय गन्तव्यको विकासको तयारीमा सरकार जुटेको दाहालले बताए । उनले देशभर सडक, शिक्षा, स्वास्थ्यमा सुधार गरी रोजगारी वृद्धिलाई गति दिएर एक वर्षभित्र जनतामा आशा उत्साह भर्ने संकल्प गरिएको उनको भनाई छ ।
‘यसका लागि सुखी नेपाली र समृद्ध नेपालको अभियान काठमाडौंको धुलो र हिलो समाप्त पारेर थालनी गरिने छ,’ उनले थपे ।
प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीच विकास निर्माणबारे बुधबार पनि गम्भीर छलफल भएको भन्दै उनले विकास निर्माणको तीव्रतासँगै रोजगारीका अवसर सिर्जना गरि मुलकलाई समृद्ध बनाउने घोषणा गरे ।
दुईतिहाइको वर्तमान सरकारबारे नागरीकहरुले टिक्का टिप्पणी गर्न थालेको उल्लेख गर्दै प्रचण्डले सरकारको कामप्रति अफवाह फैलाउन केही षडयन्त्रकारी शक्ति क्रियाशील भएको पनि आरोप लगाए ।
कम्युनिष्ट पार्टीको सरकारलाई कमजोर पार्न लाग्नेहरुबारे गम्भीर समिक्षा गर्दै आउने केही समयमै समृद्धिको यात्रामा अघि बढ्ने बताए । ‘बाटोघाटो निर्माण र औद्योगिक क्षेत्रको विकास गर्दै नेपाली राजनीतिक इतिहासमा अराजकताको अन्त्य गरी एउटा नयाँ युगको सुत्रपात गर्ने छौं । हामी केही छलाङ्गसहितको समृद्धि ल्याउने छौं,’ उनले भने ।