नगरको फोहोर बटुल्दै युवा

नगरको फोहोर बटुल्दै युवा

ताप्लेजुङ : फुङलिङ बजारका घर सफा र चिरिच्याट्ट छन् । तर त्यही घर अगाडिको सडक र खाली ठाउँ भने फहोरको थुप्रोले भरिएका र दुर्गन्धित छन् । स्थानीय र यात्रुले जथाभावी फोहोर फाल्दा बजारको शोभा नै हराएको छ । अहिले यही बजार क्षेत्र सरसफाइ गर्न युवाहरू अभियानै बनाएर जुटेका छन् ।

समयको सदुपयोग गर्दै सदरमुकाम फुङलिङका युवा बजार क्षेत्र सुन्दर बनाउन लागिपरेका हुन् । ‘सोसियल युथ गाइज’ नामक समूह बनाएर संस्थागत रूपमै युवाहरूले नगर सरसफाइ अभियानको सरुवात गरेका हुन् । ‘सुन्दर फुङलिङ नगर’ नारा दिएर प्रत्येक महिनाको १ दिन नगर सरसफाइ अभियानको थालनी गरिएको गाइजका सचिव लीलाराज पौडेलले बताए । ‘कति सधैं अरूले गरेनन् मात्र भनेर अर्काकै मुख मात्र ताकेर बस्ने ? ’, पौडेलले भने, ‘आफू बसेको ठाउँ सफा सुन्दर बनाउने दायित्व हाम्रै हो भनेर सुरु गरेका हौं ।’

रोजगार पाइएन्, काम गर्ने वातावरण भएन, भनेर दिनहुँ ठूलो संख्यामा युवाहरू कामको खोजीमा बिदेसिरहेका छन् । कोही स्वदेशमै बसेर पनि यस्तो भएन उस्तो भएन भनेर सरकारलाई गाली मात्र गर्छन् । तर यी युवा आफ्नै ठाउँमा केही गरौं भनेर लागिपरेका छन् । युवाको यो अभियान असार मसान्तदेखि सुरु भएको हो । जिल्ला भित्रिने प्रवेशद्वार सदरमुकाम फुङलिङ बजार नै हो ।

फुङलिङकै बाटो भएर वर्षमा ३ लाख धार्मिक पर्यटक पाथिभरा र १ हजार बढी पर्यटक कञ्चनजंघा आधारशिविर पुग्छन् । प्रवेशद्वार नै फोहोर र कुरूप भयो भनेर धेरै आगन्तुकको गुनासो गर्न थालेपछि अभियान सुरु गरिएको गाइजका अध्यक्ष केशव आचार्यले बताए । ‘पहिलो पटक ताप्लेजुङ आउनेले गाडीबाट ओर्लनासाथ फोहोर र धुलोका कारण रुमालले मुख छोपेको पहिल्यैदेखि देखिरहेका थियौं’, आचार्य भन्छन्, ‘त्यसैले कर्यक्रम सुरु गर्ने सोच जन्मायौं ।’ समूहमा अहिले २३ जना सहभागी छन् । सबै केही न केही व्यवसायमा आबद्ध छन् । ‘व्यापारी, कर्मचारी, उद्यमी, सञ्चारकर्मी विभिन्न क्षेत्रका युवा मिलेर टिम बनाएका छौं’, सहसचिव गंगा लिङ्खिमले भनिन्, ‘कामको व्यस्तताबीच समाजका लागि थोरै समय छुट्याएका छौं ।’

युवाहरूले बजारका विभिन्न ठाउँमा ३० वटा फोहोर हाल्ने ड्रम राखेका छन् । ‘मसान्तको दिन बिहान सबै जना बजारको एउटा ठाउँमा गाइजको टिसर्ट लगाएर भेला हुन्छौं र झाडु लगाउन थाल्छौं’, कोषाध्यक्ष तारानाथ सिग्देलले भने, ‘मन हुने बजारका अन्य व्यवसायीलगायत विभिन्न संघसंस्थाका महानुभावले पनि सघाउनुहुन्छ ।’

मसान्तको दुई दिनअघि नगरपालिका, नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी, उद्योग वाणिज्य संघ, रेडक्रसलगायत विभिन्न कार्यालयमा पत्र पठाएर सरसफाइ कार्यक्रममा उपस्थितिका लागि अनुरोध गर्ने गरिएको उपाध्यक्ष संगीता कार्कीले बताइन् । सेना र दुवै प्रहरीले हालसम्मको कार्यक्रममा उल्लेखनीय सहयोग गरेको उनको भनाइ छ । कार्यक्रममा जिसस प्रमुख धनेन्द्र मादेन, फुङलिङ नगरपालिकाका उपमेयर बमबहादुर भट्टराई, प्रमुख प्रशासकीय अधिकृत श्रवणकुमार पोखरेलसमेत सहभागी भए । उनीहरूले युवाहरूको काम अत्यन्तै प्रशंसनीय भएको भन्दै आफूहरूले पूर्ण सहयोग गर्ने बताएका थिए । उद्योग वाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरे र रेडक्रस जिल्ला सभापति इन्द्र गुरुङले पनि सोसियल युथ गाइजलाई सहयोग गर्ने बताए ।

बिचमा रोकिएपनि केहि महिनायता बजारको फोहोरलाई नगरपालिकाले नियमित रुपमा उठाएर नजिकैको डम्पिङ साइडमा फालिरहेको छ । युवाहरूले उठाएको फोहोर पनि नगरले नै व्यवस्थापन गर्छ । तर, बजारको मुख्य लाइनमा र भित्री साइडमा फोहोरका थुप्रा उत्तिकै देखिन्छ । ‘स्थानीयले घरायसी फोहोर जथाभावी सडक तथा नालीमा फालिदिन्छन् । घरको ढलसमेत नदीमा मिसाएका छन् । बजारका मानिसलाई अब यस सम्बन्धि सचेतना पनि फैलाउनुपर्ने भयो ।’ गाइज्का सदस्य निमा शेर्पाले भने, ‘उनीहरूको यो बानी सधैंका लागि हटाउन जुटेर सफाइ अभियान थालेका हौं ।’ फोहोरले भरिएका बजार नजिकैका भित्रि खोल्सा र गल्लीमा पनि सरसफाइ गर्ने योजना रहेको उनले सुनाए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.