स्वयम्भू क्षेत्रमा केही दिनको बीचमा दुई शव, दुवै घटना रहस्यमय
काठमाडौँः राजधानीको प्रमुख तीर्थस्थलमध्ये एक स्वयम्भूनाथ क्षेत्रमा केही दिनको बीचमा दुईवटा शव भेटिएका छन् । स्वयम्भू हाइटमा पार्किङ गरेर राखिएको अवस्थामा बुधबार राति एउटा कालो रंगको कार भित्र शव भेटियो । कारभित्र शव भएको थाहा भएपछि स्थानीयबासीले महागरीय प्रहरी वृत्त स्वयम्भूलाई खबर गरे । तत्कालै वृत्तका इन्सपेक्टर खेम आचार्य नेतृत्वको टोली घटनास्थलमा पुग्यो ।
प्रहरीका अनुसार बा ८ च ७०२१ नम्बरको स्विफ्ट कारको पछिल्लो सिटमा घोप्टो अवस्थामा पुरुषको शव भेटिएको हो ।
स्वयम्भू वृत्तका अनुसार कारभित्र सड्न लागेको अवस्थामा भेटिएको शव थियो, नैकापका बासिन्दा ३२ वर्षीय श्याम श्रेष्ठको । प्रहरीले शव तथा घटनास्थलको प्रकृति जाँच मुचुल्का गर्दा हत्या भएको तथ्य नभेटिएको जनाएको छ ।
‘सुरुवाती अनुसन्धानमा ती युवाको शवमा कतै चोटपटक देखिँदैन, हामीले कर्तव्य गरेर हत्या गरेको प्रमाण भेट्टाएनौँ’, महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता र्डीएसपी रामदत्त जोशीले भने, ‘युवकको शव पोस्टमार्टमका लागि पठाएका छौँ, थप तथ्य पोस्टमार्टम रिर्पोटबाट आउनेछ ।’
प्रहरीका अनुसार ती युवाको शव कारभित्र बान्ता गरेको र दिशा पनि निस्किएको अवस्थामा भेटिएको हो । कारभित्र शव भेटेपछि स्थानीयले बुधबार राति ११ बजे नै प्रहरीलाई खबर गरेका थिए । हत्या वा कालगति भन्नेबारे प्रहरीको टोली अनुसन्धानमा जुटेको छ ।
महानगरीय प्रहरी परिसरका प्रवक्ता मोहन जोशीले कारमा मृत भेटिएका युवाको शवबारे गम्भीरतापूर्वक अनुसन्धान भइरहेको बताए । उनले पोस्टमार्टम रिपोर्ट आएपछि यसबारेमा थप तथ्य थाहा हुने पनि जानकारी दिए ।
टाउको छिनेको अवस्थामा संगीनको शव
अर्कातिर भदौ १२ गतेदेखि हराएका अर्का युवकको शव पनि स्वयम्भूको जंगल क्षेत्रमै भेटिएको छ । बागलुङको ढोरपाटन–१ घर भई काठमाडौँको सानो भ¥याङ बस्दै आएका २२ वर्षीय संगीन जिसीको शव पुरै सडेर कंकाल मात्रै रहेको अवस्थामा प्रहरीले फेला पारेको हो ।
संगीन हराएपछि प्रहरीले खोजी नगरेको भन्दै सांसदहरुले संसदमा समेत आवाज उठाएका थिए । उनीहरुले राजधानीबाटै युवा बेपत्ता हुँदा नि खोजी नगरिएको भन्दै सरकारको आलोचना गरेका थिए ।
हजुरबा, बाबु, आमा र भाइसँग सानो भ¥याङमा बस्दै आएका उनी भदौ १० गते जनैपूर्णिमाको दिउँसो घुम्न निस्किएपछि बेपत्ता भएका थिए ।
प्रहरीका अनुसार संगीनको शव लागू औषध दूव्र्यसनीहरुले प्रयोग गरेका सिरिन्जहरुबीच भेटिएको हो । तर, उनी नै लागू औषधका प्रयोगकर्ता हो वा होइनन् भन्ने तथ्य भने पोस्टमार्टम रिपोर्ट नै कुर्नुपर्ने प्रहरीको भनाइ छ ।
कोठामा रहेका हजुरबुबालाई केही बेरा बाहिर गएर आउँछु भनेर हिँडेका संगीनको घाँटी छिनेको अवस्थामा शव भेटिएको थियो । ‘संगीनको शव घाँटी छिनेको अवस्थामा भेटिएको हो, तर उनको घाँटीमा कुनै पनि धारिलो हतियार प्रहार भएको देखिएन’, प्रवक्ता जोशीले भने, ‘शव पुरै सडेर कंकाल मात्रै रहेको अवस्थामा भेटिएकाले आफैँ पनि छुट्टिएको हुन सक्छ ।’
साँझसम्म पनि घर नफर्किएपछि हजुरबुबाले संगिनलाई फोन गरेका थिए तर उनको मोबाइल घरमा चार्ज भइरहेको अवस्थामा भेटियो । त्यसपछि उनको खोजीनीति थालिएको थियो । आफन्तकहाँ खोज्दा नभेटिएपछि परिवारले प्रहरीमा जाहेरी दिएको हो ।
गस्ती बढाइयो
जंगलसहित उच्च क्षेत्रमा रहेको स्वयम्भू क्षेत्र लागू औषध दुव्र्यसनीका लागि सुरक्षित मानिएको छ । यसअघि गत फागुनमा एक युवतीमाथि सामूहिक बलात्कार भएपछि प्रहरीले त्यसक्षेत्रमा निगरानी बढाएको थियो ।
अहिले पनि त्यस क्षेत्रमा सादा पोशाकसहित २४ सै घण्टा प्रहरी परिचालित गरिएको छ । राति ८ बजेपछि त्यसक्षेत्रमा युवा युवतीलाई प्रवेशमा पनि रोक लगाइएको छ । यदि प्रवेश गरेको भेटिएमा त्यहाँबाट तत्कालै हटाइने गरेको स्वयम्भू वृत्तले जनाएको छ ।
स्वयम्भू क्षेत्रको बाक्लो जंगल र झाडीका कारण सिरिन्ज तथा अन्य विधिबाट लागू औषध लिन पनि युवा युवती पुग्ने गरेपछि प्रहरीले सादा पोशाकमा जंगल क्षेत्रमा निगरानी बढाएको हो ।