आगामी पाँच वर्षमा देशको नेतृत्व गर्छु : बाबुराम

आगामी पाँच वर्षमा देशको नेतृत्व गर्छु : बाबुराम

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई लामो समय युरोपको भ्रमण सकेर स्वदेश फर्किएका छन्। माओवादीबाट छुट्टिएर नयाँ शक्ति खोलेका पूर्वप्रधानमन्त्रीको पार्टीमा उनीसँगै आएका धेरै अलग भए। पूर्वप्रशासक तथा चिन्तकको समूहले पनि साथ छाडेपछि नयाँ शक्ति केही कमजोर भएको देखिन्छ। भट्टराई भने त्यसलाई स्वीकार गर्दैनन्।  युरोपपछि अमेरिकाको यात्रामा जान लागेका भट्टराईले तनहुँस्थित अन्नपूर्णकर्मी पवन पौडेलसँग कुराकानी गरेका छन्। कुराकानीको सम्पादित अंश 

युरोप यात्राबाट के अनुभव लिएर फर्कनुभयो ?
साउन ६ देखि २३ गतेसम्म युरोपका आठ देशको भ्रमण गरेर फर्किएँ । त्यो मेरो मुलतः अध्ययन भ्रमण थियो। अहिले हामी समृद्धिको मुद्दामा अघि बढिरहेका छौं। समृद्धि हाम्रो मुलमन्त्र बनिरहेको छ। विश्वको इतिहासमा युरोपेली देश समृद्धिको बाटोमा गएका छन्। अरु देश के कारणले अघि बढे र हामी के कारणले पछि प¥यौं भनेर जान्नु थियो। मेरो भ्रमण निकै फलदायी रह्यो। 

तपाईंको भ्रमणको सिकाई कस्तो रह्यो ?
विकास र समृद्धि भनेको त्यसै आकाशबाट खस्ने, रुखबाट फल टिपेजस्तो चिज होइन। मान्छेको परिश्रम र मेहनतबाट नै त्यो प्राप्त हुन्छ। प्रत्येक देशका आफ्नै विशेषता हुन्छन्। त्यसलाई ख्याल गर्ने र मुख्य रुपमा जनतालाई सचेत बनाउने, श्रमशील बनाउने र राज्यले उचित नियमन गरे देशको विकास हुन्छ। रुस, स्वीडेन, फ्रान्स, बेल्जियमको उदाहरण हेर्नुहोस्। 

युरोपको समृद्धि देखेपछि जनयुद्ध सही थिएन भन्ने लागेन ?
होइन मलाई युद्ध ढिलो भएछ भन्ने लाग्यो। सानो भएछ, कम भएछ भन्ने लाग्यो। मलाई पश्चाताप होइन गर्व छ। तर त्यो अपुरो र अधुरो रह्यो। हलाल क्रान्ति भयो। त्यसैले गर्दा समृद्धिमा ढिलो भयो भन्ने मलाई लाग्छ। युरोपमा जत्ति क्रान्ति कहाँ भयो होला ? फ्रान्समा जत्ति क्रान्ति कहाँ भयो  ? त्यहाँ दशौं लाखले ज्यान गुमाए। 

तपाईं पेरिस जानुस् र त्यहाँ राजा र रानीलाई काटेर गाडेर स्मारक बनाएको ठाउँ छ। त्यहाँ मानिसले गएर सम्मान गर्छन्। त्यहाँका विभत्स लडाईंका चित्रहरु हेर्दा तपाईंको आङ अहिले पनि सिरिङ्ग हुन्छ। 

अरुले त बाबुरामको सोचमा परिवर्तन भयो भन्छन् नि ?
संसारै परिवर्तनशील छ। चेतना नै परिवर्तन हुन्छ। जसले परिवर्तनशील हुँदैन भन्छ, त्यो मान्छे नै होइन। ढुंगो र माटोचाहिँ परिवर्तित हुँदैन। त्यो पनि ढिलो परिवर्तन हुन्छ। मान्छे, प्राणी, विवेक र चिन्तन भनेको निरन्तर गतिमा हुन्छ। त्यस आधारमा मैले पछिल्लो ज्ञानलाई पछ्याएर अघि बढ्ने गर्ने प्रयत्न गर्दैछु।

तपाईंको पछिल्लो विचार त कांग्रेससँग मिल्न गयो भन्छन् ?
भन्न पाइन्छ। मानिसको मुख छेक्न मिल्दैन। लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रताको म सम्मान गर्छु। तपाईं कांग्रेस र कम्युनिस्टको मात्र किन कुरा गर्नुहुन्छ ? मान्छे कांग्रेस र कम्युनिस्ट मात्र भएर जन्मन्छ ? यो जिन हो ? महिला र पुरुष हो ? हामी यस्तो सोचभन्दामाथि उठ्नुपर्छ भन्ने मलाई लाग्छ। 

कांग्रेस र कम्युनिस्ट भनेको हिजो शितयुद्ध कालमा राष्ट्रिय मुक्तिको बेलामा दोश्रो विश्वयुद्धपछि जन्मिएका हुन्। पुँजीवादीको पक्षमा रहेको शक्तिलाई कांग्रेस भनियो भने अर्को साम्यवादको प्रतिनिधिलाई कम्युनिस्ट भनियो।  यो २० औं शताब्दीको कुरा हो। अब २१ औं शताब्दीमा दुवै धार अपूर्ण रहे। तिनको चक्र पुरा भयो। तिनको चक्र पूरा भयो। अब नयाँ धारको नयाँ शक्ति उत्पन्न हुन्छ भन्ने मेरो विचार हो। 

चुनावको नतिजाले त वैकल्पिक शक्ति बन्ने तपाईंको चाहना पूरा गर्ने देखिएन ?
जतिबेला सत्य विचार र विज्ञान जन्मन्छ, त्यसलाई स्वीकार्न गाह्रो हुन्छ। स्वीकार गर्न समय लाग्छ। जीवनको चक्रजस्तै राजनीतिक शक्तिको पनि विकासको चक्र हुन्छ। हामी ठिक दिशामा छौं। म दुई वर्षको प्रगतिबाट सन्तुष्ट छु। 

धेरैले तपाईंको साथ त छोडेका छन् ? 
बिरुवा हुर्कंदा पुराना पात र बोक्रा झर्छन्। नयाँ पलाउँछन्। पलाएको पनि तपाइंले हेर्नुपर्‍यो नि। बोक्रा झरेको हेर्नुहुन्छ कि नयाँ पलाएको त्यो तपाईंको कुरा हो। हामीले नयाँ पलाउँदै गएको देखेका छौं। पुरानो पात झर्दै जानु त नौलो होइन। 

अबको १० वर्षमा तपाईंको पार्टी नेपालको राजनीतिमा कुन ठाउँमा पुग्ला?
दश आठ वर्ष त टाढाको कुरा भयो। म त पाँच सात वर्षभित्रै देशको नेतृत्व गर्ने शक्तिका रुपमा उदय हुन्छ भन्ने ठान्छु। 

कार्यकारी राष्ट्रपति बन्छु भन्ने सोच तपाईंमा छ ?
मै बन्नु परेन। तर कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपर्छ। जनताले जसलाई चुनेर पठाउँदा पनि हुन्छ। त्यसले देशमा दिगो राजनीतिक स्थिरता र शान्ति ल्याउँछ। 

अहिले आएर संघीयताको चर्को आलोचना भइरहेको छ। यसको भविष्य अप्ठेरोमा परेको हो ?
होइन। संघीयताको भविष्य अत्यन्त राम्रो छ। यो बिना देशले राष्ट्रिय एकता पनि कायम गर्न सक्दैन र समृद्धि पनि हासिल गर्दैन।  कर आदिका कारण यो असफल हुन्छ भन्नुहुन्छ भने यो बिल्कुल गलत हो। नजानेर पनि कतिपय त्रुटी भएका छन्। सुत्केरी अवस्थामा बच्चालाई खुवाउँदा खर्च भयो भनेर बच्चा नजन्माउने कुरा त भएन। त्यसकारण संघीयता असफल भएको होइन। यसलाई ठिक ढंगले लालनपोषण गर्नमा सत्ताधारीको सोचमा कमजोरी भएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.