विद्यार्थी धमाधम बेहोस, विद्यालय बन्द

विद्यार्थी धमाधम बेहोस, विद्यालय बन्द

भोजपुर : अज्ञात रोगले विद्यार्थी धमाधम बेहोस हुने क्रम बढेपछि भोजपुरको टेम्के मैयुङ गाउँपालिका ६, कोटको जनोदय माध्यमिक विद्यालय केही समयका लागि पठनपाठन ठप्प गरिएको छ। विद्यालय सुरु भएपछि कक्षाकोठामा विभिन्न अनौठो क्रियाकलापपछि विद्यार्थी बेहोस हुन थालेपछि बुधबारबाट ३ दिनका लागि विद्यालय बन्द गरिएको जनाइएको छ।

एक साता अघिबाट छात्रछात्रामा रुने, कराउने, काम्ने, बरबराउने र बेहोस हुनेजस्ता समस्या देखिएपछि विद्यालय केही दिनका लागि बन्द गर्ने निर्णय गरिएको विद्यालयका सूचना अधिकारी इच्छाकुमार राईले बताए। उनले भने, ‘अघिल्लो सातादेखि नै एकादुई विद्यार्थीमा यो रोगको लक्षण देखिएको थियो। तर, दिनानुदिन विद्यालयमा यसको संख्या बढ्न थालेपछि तत्कालका लागि विद्यालय बन्द गरिने निर्णय ग¥यौँ।’

एकै हप्तामा विद्यालयका १२ जना विद्यार्थी बेहोस भएपछि वडाध्यक्ष उद्धव राईसहित विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघको तत्कालै बसेको बैठकको निर्णयपछि विद्यालय बन्द गरिएको राईले जानकारी दिए। रोग नै पत्ता नलागेपछि बिरामी परेका विद्यार्थीलाई घरमै आराम गर्न सल्लाह दिइएको छ भने बाँकी विद्यार्थीमा यसको संक्रमण नहोस् भनेर तत्कालका लागि विद्यालय बन्द गरिएको विद्यालयले जनाएको छ। नामै खुल्न नसकेको रोगले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठनसमेत प्रभावित भएको छ।

अज्ञात रोगले विद्यालय नै ग्रस्त हुन थालेपछि गाउँपालिका र वडा कार्यालयलाई लिखित जानकारी दिइएको र जिल्ला जनस्वास्थ्य कार्यालयमा जानकारी गराइएको विद्यालयले जनाएको छ। गत वर्ष पनि सोही विद्यालयमा केही विद्यार्थीमा यस्तो समस्या देखिएको थियो।

प्रअ नियुक्तिमा असन्तुष्टि

विद्यालय व्यवस्थापन समितिले नियमविपरीत विद्यालयको प्रधानाध्यापक नियुक्ति गरेकामा सरोकारवाला अभिभावकले असन्तुष्टि जनाएका छन्। बुधबार शिक्षा विकास तथा समन्वय इकाइमा ज्ञापनपत्र बुझाउँदै प्रधानाध्यापक नियुक्तिविरुद्ध उनीहरूले ध्यानाकर्षण जनाएका हुन्।

भोजपुर नगरपालिका ४, दावाँस्थित सिद्धेश्वर माध्यमिक विद्यालयका तत्कालीन प्रअ बद्रीनाथ अधिकारीले सेवानिवृत लिएपछि विद्यालय व्यवस्थापनले गनुराज राईलाई साउन १९ गते प्रधानाध्यापकमा नियुक्ति गरेपछि अभिभावकले असन्तुष्टि जनाएका हुन्।

उनीहरूले माध्यमिक तहमा वरिष्ठताका आधारमा स्थायी शिक्षक सुवासचन्द्र दाहाललाई प्रधानाध्यापक बनाइनुपर्ने भन्दै ज्ञापनपत्र बुझाएको इकाइ भोजपुरका सूचना अधिकारी तोत्रबहादुर खड्काले बताए। शिक्षा नियमावली २०५९ को नियम ९३ को उपनियम १२ बमोजिम वरिष्ठताका आधारमा दाहाललाई प्रधानाध्यापक नियुक्ति गरिनुपर्ने उनीहरूको माग थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.