रोबोट ओलम्पिकमा नेपाली युवा
इटहरी : हालै मेक्सिकोमा सम्पन्न रोबोट ओलम्पिक प्रतियोगितामा नेपालले सहभागिता जनायो। प्रविधिमा उत्कृष्ट देशहरूसँगै नेपालले प्रतियोगितामा आफ्नै रोबोटले प्रतिस्पर्धा गरेको हो। विभिन्न राउन्डमा खेलाइएका खेलमध्ये सुरुमा नेपालले उत्साहजनक प्रदर्शन गरे पनि पछि प्रदर्शन खस्क्यो। विदेशी रोबोट प्रतियोगितामा सहभागिता जनाउने दुईजना नेपाली विद्यार्थीमध्ये एक हुन्, शिशिर विश्वकर्मा।
शिशिर इटहरीमा जन्मिएर काठमाडौं हुँदै अहिले अमेरिकास्थित युनिभर्सिटी अफ टेक्सास एर्लिङटनमा कम्प्युटर साइन्स विषयमा स्नातक तहको अध्ययन गर्दैछन्।स्कुलदेखि नै रोबोटिक्समा रुचि राख्ने उनले प्लस टु पढ्दा ट्रिनिटीमा टिम बनाएर अझ अभ्यास गर्ने मौका पाएका थिए। ‘कलेजपछि पनि हामीले रोबोनट्स नाम राखेर टिमलाई निरन्तरता दियौं,’ उनी भन्छन्।
त्यही टिमलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा भिड्नका लागि यन्त्र नामक आयोजकले प्रोत्साहित गरेपछि रोबोनट्सका पाँचजनाले क्यानडा हुँदै मेक्सिको जान प्रवेशाज्ञाका लागि आवेदन दिएका थिए। त्यहाँबाट प्रवेशाज्ञा नपाएपछि अमेरिकाका लागि प्रयास गरे। तर, त्यहाँ पनि तीनजनाले प्रवेशाज्ञा पाएनन्। त्यसअघि नै अमेरिकी अध्ययन भिसा पाएका शिशिर र उनका साथी सजिन श्रेष्ठले भने मेक्सिको पुगेर प्रतियोगितामा सहभागिता जनाए।
प्रतिस्पर्धाको पहिलो र दोस्रो राउन्डमा नेपालको प्रदर्शन राम्रो थियो। चौथोदेखि आठौं प्रतिस्पर्धामा नेपालको प्रदर्शन त्यति उत्साहपूर्ण रहेन। त्यसबीचमा उनीहरूको रोबोटसमेत बिग्रियो। हारे पनि यो सहभागिताले आफूहरूलाई नयाँ चुनौतीसँग साक्षात्कार गराएको शिशिरको अनुभव छ। ‘हामीले सिक्न बाँकी धेरै कुरा छन्, सरकारले पनि प्रवद्र्धन गर्नुपर्छ,’ उनले भने, ‘हामी हाम्रो रोबोटिक्स टिमलाई निरन्तर लान चाहन्छौं, ता कि नेपालले पनि रोबोट विकास गर्न सकोस् र प्रतिस्पर्धामा जितेर नाम देशको नाम उच्च बनाउन सकोस्।’
पढाइमा राम्रो भएकैले उनले अमेरिकामा पढ्न ५० प्रतिशत छात्रवृत्तिसमेत पाएका छन्। कम्प्युटर साइन्स पढिरहेका उनी नेपाल फर्केर ई-गभर्नेन्सलाई प्रभावकारी बनाउन सकिन्छ भन्ने विश्वासमा छन्। शिशिरका बुवा सरोज भने विगत १२ वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा खाडीमा छन्। त्यसबीचमा तीन वर्ष उनी नेपाल फर्किएका थिए। त्यतिबेला शिशिर भने आमाले काठमाडौंमा चलाएको सानो पसलमा बसेर सघाउने गर्थे। बुवा सरोज पनि अहिले छोराले गरेको प्रगतिमा दंग छन्। उनी आफूले खाडीमा गरेको दुःखलाई छोराको मेहनतले सार्थक बनाएको बताउँछन्।००००