दृष्टिविहीनका दृष्टि
सुर्खेत : उमेरले नेटो काट्दै छ। प्रेसर र सुगरका कारण शरीर फुर्तिलो छैन। आँखाले पनि सहजै ठम्याउन सक्दैनन्। परिवारका सदस्यले बुढेसकालमा घरमै आराम गर्न बारम्बार आग्रह गरिरहन्छन्। तर उनको मन मान्दैन। कहिले साइकलमा त कहिले पदैल उनी वीरेन्द्रनगरमा निरन्तर दौडिरहेका छन्। उनले परिवार र आफन्तलाई भन्ने गर्छन्, ‘सक्छौ मेरो काममा सहयोग गर, सक्दैनौं मलाई अवरोध नगर। बरु परिवार छोड्छु, तर मेरा ती छोराछोरी छाड्न सक्दिनँ।’
वीरेन्द्रनगरका जीवनकुमार शाक्य (६४) का एक दर्जनभन्दा बढी दृष्टविहीन ‘छोराछोरी’ छन्। उनले आफैले जन्माएका दुई छोरा, एक छोरी मात्र हुन्। तर नजन्माएका १३ छोराछोरीको पालनपोषण र शिक्षाका लागि जीवनले बुढेसकालमा संघर्ष गरिरहेका छन्। कर्णाली प्रदेशका दृष्टिविहीन बालबालिकालाई उनले व्यक्तिगत प्रयासमा आवासीय सुविधासहित पढाइरहेका हुन्। वीरेन्द्रनगरमा दृष्टिविहीन हेरविचार केन्द्र संचालन गर्दै जीवनले यस क्षेत्रका दृष्टिविहीन बालबालिकालाई शिक्षा प्रदान गरिहेका छन्।
उनको संरक्षणमा रहेकामध्ये अहिले दुई किशोरी स्नातकोत्तर तहमा अध्ययन गर्दैछन्। तीन जना स्नातक तह। बाँकी माध्यमिकमा। जीवनले डाक्टर बन्ने सपना देखेका थिए। मध्यम परिवारमा जन्मिएका उनको त्यो सपना पूरा भएन। सरकारी जागिर र सामाजिक संस्थामा लामो समय विताएका उनी त्यहाँ धेरै टिकेनन्। केही वर्षअघि उनले वीरेन्द्रचोकमा भीड देखे। नजिकै पुग्दा एक व्यक्तिले आफ्नो शरिरमा मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरिरहेका थिए। जीवनले हतारहतार दृष्टिविहीन मैतुराम नेपालीलाई बचाए। त्यही घटना, जसले उनलाई दृष्टिविहीनको क्षेत्रमा काम गर्ने प्रेरणा दियो।
दुवै आँखा नदेख्ने मैतुराम परिवार र समाजको हेपाहा व्यवहारका कारण निकै आजित थिए। काम गरेर खान नसक्ने अवस्था भएपछि उनलाई आफ्नै जीवनप्रति वितृष्णा जाग्यो। यही कारण आत्मदाहको बाटो रोजेका थिए। बाँचेपछि मैतुरामले जीवनसँग बे्रललिपी पढ्ने आफ्नो रहर सुनाए। जीवनले सुर्खेतमा नै १० जना दृष्टिविहीनका लागि बे्रललिपी सम्बन्धी तालिम चलाए। तर टाढाबाट दृष्टिविहीन तालिममा सहभागी हुन सकेनन्। त्यसपछि मात्र जीवनलाई आवास सुविधासहितको ब्रेललिपी पढाइको आवश्यकता महसुस भयो।
यही क्रममा उनले २०६७ सालमा दृष्टिविहीन हेरविचार केन्द्र स्थापना गरे। आवासीय सुविधा पाएपछि कर्णालीका विभिन्न जिल्लाबाट दृष्टिविहीन बालबालिका उनको सम्पर्कमा आए। जीवनले वीरेन्द्रनगरमा दृष्टिविहीन हेरविचार केन्द्रमार्फत दृष्टिविहीन बालबालिकालाई आवाससहित पढाइको व्यवस्था गरे। उनीहरूको सम्पूर्ण पढाइ खर्च जीवनले नै बेहोर्दै आएका छन्। उनीहरूसँगै बसेर खाना पकाउने, सँगै खाने र विरामी पर्दा उनीहरूको उपचारमा जीवन व्यस्त रहन्छन्। घरमा परिवारबाट समय निकालेर बालबालिकाको पढाइबारे चासो लिन्छन्।
दृष्टिविहीन भएकै कारण परिवारले शिक्षाबाट वञ्चित गराएका यी बालबालिकाका लागि जीवन नै अभिभावक बनेका छन्। जीवनकै काखमा लडिबुडी गर्दै स्कुल जान पाएपछि बालबालिकाहरूले पनि जीवनलाई ‘बुवा’ भनेर पुकार्ने गर्छन्। आफ्नो आँखामा चस्मा नहुँदा राम्रोसँग ठम्याउन नसक्ने जीवनले दृष्टिविहीन बालबालिकालाई शिक्षा प्रदान गरेर उनीहरूको ‘दृष्टि’ बनेका छन्।
बाहिरी संसार देख्न नपाएका यिनै बालबालिकाले बुवा भनेर बोलाउँदा आफूलाई ठूलो सन्तुष्टि मिल्ने गरेको जीवन सुनाउँछन्। भन्छन्, ‘उनीहरू पनि मेरै छोराछोरी हुन्, अब उनीहरूकै लागि बाँकी जीवन बिताउनेछु।’ जीवनकै संरक्षणमा रहेकी सोमना खड्का स्नातकोत्तर अध्ययनका लागि काठमाडौंमा छन्। यस्तै अरुले सुर्खेत र कपिलवस्तुमा अध्ययन गरिरहेका छन्। उनीहरूलाई जीवनले नै खर्च पठाउँछन्। जिल्लाबाहिर रहेकालाई भेटन् बेलाबेला जीवन त्यहीँ पुग्छन् भने बारम्बार फोनमार्फत पनि उनीहरूको अवस्थाबारे जानकारी लिन्छन्। सुर्खेतमा स्नातकोत्तर पढ्दै गरेकी मेनका आचार्य भन्छिन्, ‘उहाँ (जीवन) हाम्रो बुवा नै हो, हामीले उहाँबाट दृष्टि पाएका छौं। अभिभावकले दिने सबै माया दिनुभएको छ, हाम्रो पढाइका लागि नै रातदिन खट्नुहुन्छ।’ जीवनको संरक्षण र अभिभाकत्वमा शिक्षा आर्जन गरिरहेका बालबालिकाहरू जीवनबाट आमा र बुवा दुबैको माया पाएको बताउँछन्।
फेसबुकबाट सहयोग जुटाउँदै
दृष्टिविहीन हेरविचार केन्द्र सञ्चालनका लागि फेसबुक नै मुख्य स्रोत बनेको छ। फेसबुकमै जानकारी पाएपछि साउदी अरबमा रहेका नरेन्द्र लिम्बुले ३२ हजार रूपैयाँ सहयोग गरे। यो नै फेसबुले जुटाएको पहिलो सहयोग थियो।
त्यसपछि अमेरिकामा रहेका सचिन शाक्यले ११ हजार रूपैयाँ पठाए। अमेरिकाबाटै सम्झना कुँवरले सहयोग संकलन अभियान सुरु गरिन्। त्यहाँ संकलन भएको डेढ लाख रूपैयाँ जीवनलाई प्राप्त भयो। अमेरिकाबाटै नियमित रूपमा जयन्ती थापालगायतले सहयोग पठाइरहेका छन्।
यसरी प्राप्त हुने सहयोगबाट नै जीवनले दृष्टिविहीन बालबालिकालाई विद्यालयमा भर्ना गरेर पढाइरहेका छन्। यतिमात्र होइन, जीवनले राम्रो काममा सहयोग गर्ने आफन्तको पनि पहिचान गरे। जीवनले आग्रह गरेपछि उनका भिनाजु हीराकाजी शाक्यले ५५ हजार रूपैयाँ सहयोग गरे। यही रकम, जसबाट जीवनले दृष्टिविहीनका लागि आवासको व्यवस्था सुरु गरेका थिए।
उमेर ढल्कदै जाँदा जीवन दृष्टिविहीन बालबालिकाको शिक्षा र उनीहरूलाई स्वरोजगार बनाउने अभियानमा क्रियाशील छन्। अब उनको कुनै व्यक्तिगत र पारिवारिक सपना छैन। उनी केवल कर्णालीका दुर्गम र विकट क्षेत्रमा रहेका दृष्टिविहीन बालबालिकालाई शिक्षाको ज्योति छर्न चाहान्छन्। त्यसका लागि सुर्खेतमा आवासिय विद्यालय सञ्चालन गर्ने एकमात्र उनको योजना छ।
‘जसरी हुन्छ दृष्टिविहीनका लागि सुर्खेतमा छुट्टै आवासिय विद्यालय स्थापना गर्ने सपना छ’, उनी भन्छन्, ‘म प्राण रहुन्जेल यसका लागि प्रयास गर्नेछु, सहयोगी र सरकारी निकायले साथ दिए यसलाई अवश्य पूरा गर्नेछु।’ अभियानमा जीवनका पत्नी रमादेवी, छोराहरू सुवास र प्रवास तथा छोरी प्रमी शाक्यले पनि साथ दिइरहेका छन्।