तमोर लिफ्टको काम ८० प्रतिशत सकियो
तेह्रथुम : पाँचथरको कुम्मायक गाउँपालिकामा सञ्चालित तमोर लिफ्ट खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । २०७३ सालबाट सुरु गरिएको योजनाको काम ८० प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ । पाँचथरको कुम्मायक गाउँपालिकाकाअन्तर्गत सुक्खाग्रस्त क्षेत्रका ३१ सय घरधुरीलाई लक्ष्य गरी आयोजना सञ्चालनमा ल्याइएको थियो ।
आयोजनाको मुख्य पाइपलाइन र वितरण लाइनको काम प्रेरा–स्वामीनारायण जेभी र कन्काई–महादेव सिम्तीले गर्दै आएको छ । कम्पनीले २० प्रतिशत मात्रै काम गर्न बाँकी रहेको कम्पनीका व्यवसायी सन्देश बस्नेतले बताए ।
उनले छोटो समयमा आयोजनाको धेरै काम सक्न स्थानीयहरूको ठूलो भूमिका रहेको बताए । ‘उपभोक्ता समितिले सक्रियता बढाए यही मंसिरसम्म पानी सञ्चालन गर्ने लक्ष्य छ’, उनले भने, ‘कम्पनीको तर्फबाट विद्युत् जडान, पानी तान्ने पम्प र केही मुख्य पाइपलाइनको काम मात्र बाँँकी छ, त्यो पनि चाँडै पूरा गर्छौं ।’
निर्माण कम्पनीले कुल ५१ करोड ३० लाख ५६ हजार लागतमा आयोजनाको काम गरिरहेको छ । उपभोक्ता समितिले जन श्रमदानबापतको ९ प्रतिशत कुल ३६ किलोमिटर पाइपलाइनको श्रमदान गर्नुपर्ने हुन्छ । समितिले जन श्रमदानबापत प्रतिघरधुरी ३ हजार रुपैयाँको दरले रकम संकलन गर्दै आएको छ ।
तीन हजार ४३ घरधुरीबाट रकम संकलन गर्ने योजना बनाइएकोमा हालसम्म पाँच सय घरधुरीले १५ लाख रुपैयाँ बुझाइसकेका छन् । बाँकी दुई हजार पाँच सय ४३ घरधुरीबाट ७६ लाख २९ हजार संकलन भइरहेको समितिका अध्यक्ष डम्बरसिंह सम्बाहाम्फेले बताए । ‘उपभोक्ताले अयोजनाको नौ प्रतिशत रकम गरेको छ’, उनले भने, ‘रकम संकलन चाँडो गर्न मूल समिति र टोलसमितिहरू लागि परेका छौं ।’
आयोजनाको १० प्रतिशत जन श्रमदानमध्ये यसअघि नै एक प्रतिशत रकमबापतको २६ सय रुपैयाँ उपभोक्ताले बुझाएका छन् । बाँकी नौ प्रतिशत रकम संकलन गर्न समिति लागिपरेको भन्दै समयमै आयोजनाको काम सम्पन्न गर्ने काम उपभोक्ता समितिको हातमा भएकाले समितिले सहयोगको अपिलसमेत गरेको छ । तीन वर्षभित्र पूरा गर्नुपर्ने आयोजनाको काम ०७५ सालभित्र पूरा गर्नुपर्ने सम्झौतामा उल्लेख छ । कुम्मायाक गाउँपालिकाको यासोक, रानीगाउँ र स्याबारुम्बामा खानेपानीको चरम समस्या छ ।