कृष्णप्रसाद हत्या प्रकरण : छविलालसहित १२ जनालाई अदालतको सफाइ
चितवन : चितवन जिल्ला अदालतले गोरखा फुजेलका कृष्ण अधिकारी हत्यासम्बन्धी मुद्दाको फैसला दिएको छ । चितवन जिल्ला अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासले कृष्णप्रसाद हत्या प्रकरणमा आइवार फैसला सुनाएको हो ।
अदालतले यो प्रकरणमा १३ जना प्रतिबादीमध्ये १२ जनालाई सफाई दिएको छ। अदालतका श्रेस्तेदार गेहेन्द्रराज पन्तका अनुसार यो प्रकरणमा सफाइ पाउनेमा डिल्ली बजार कारागारमा रहेका छविलाल पौडेलसहित रहेका छन् ।
छविलालसहित रामप्रसाद अधिकारी 'क' र 'ख', कालीप्रसाद अधिकारी, सीता तिवारी, सुभद्रा तिवारी र विष्णु तिवारीले सफाइ पाएका हुन् । अन्य प्रतिवादीले पनि यस प्रकरणमा सफाइ पाएका छन् । फरार रहेका रुद्र आचार्यको हकमा पछि फैसला गरिने निर्णय भएको अदालतले जनाएको छ ।
गोरखा फुजेलका कृष्ण अधिकारीको चितवन रत्ननगरस्थित हजुरबुवा-हजुरआमा भेट्न गएका बेला २०६१ जेठ २४ गते हत्या गरिएको थियो । त्यो बेला हत्याको जिम्मेवारी नेकपा माओवादीले लिएको थियो । घटनापछि कृष्णप्रसादका दाजु र बुवाले जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका थिए ।
जाहेरी लगत्तै सुनुवाइ नभए पनि कृष्णप्रसादका बाबुआमाले अनशन थालेपछि २०७० साउनदेखि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
प्रहरीले अनुसन्धान सक्दा पनि मुद्दा चलाउन लामो समय लागेको थियो । बाबु नन्दप्रसाद र आमा गंगामाया अधिकारीले अनशन गरिरहेकै बेला २०७० चैत ३० गते चितवन जिल्ला अदालतमा १३ जनाविरुद्ध कर्तब्य ज्यान मुद्दा हालिएको थियो ।
छोराका हत्यारालाई कारबाही नभएसम्म अनशन नटुंग्याउने अडानमै रहेका कृष्णप्रसादका बाबु नन्दप्रसादको अनशनका क्रममा ज्यान गएको थियो ।
आमा गंगामायाले पनि ३ वर्षसम्म अनशनमा बिताइन् । नन्दप्रसादको शव अझै त्रिवि शिक्षण अस्पतालमा छ । माओवादीले भने जनयुद्धको बेलाको मुद्दाको छिनोफानो सत्य निरुपण तथा मेलमिलाप आयोगले गर्नुपर्ने अडान राख्दै आएको छ ।