नयनराजको 'यार' लाई पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान डा. शर्मालाई

नयनराजको 'यार' लाई पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान डा. शर्मालाई

काठमाडौं : २०७४ सालको पद्मश्री साहित्य पुरस्कार लेखक नयनराज पाण्डेको संस्मरणात्मक कृति 'यार' लाई प्रदान गरिने भएको छ। खेमलाल-हरिकला लामिछाने प्रतिष्ठान, चितवनले २०७४ सालको ‘पद्मश्री साहित्य पुरस्कार’ पाण्डेको कृति 'यार' लाई प्रदान गर्ने निर्णय गरेको हो।

यस्तै प्रतिष्ठानले २०७४ सालको ‘पद्मश्री साधना सम्मान’ साहित्य साधक डा.तारानाथ शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ।

दुवै पुरस्कार र सम्मानको राशी दुई-दुई लाख रुपैयाँ रहेको छ। पुरस्कार तथा सम्मान आगामी कोजाग्रत पूर्णिमाको दिन प्रदान गरिने प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले जनाएका छन्। 

'यारमा आफ्ना निकट साथीहरूका माध्यमबाट नेपाली समाज, साहित्य र कलाका साथै त्यहाँभित्रका मानिसहरूको मनोदशालाई विशिष्ट शैलीमा प्रस्तुत गरिएको छ', प्रतिष्ठानले सोमबार पुरस्कार घोषणा गर्दै भनेको छ, 'लेखकले आफ्ना सीमा सहित मित्रताको मूल्यतथा मान्यतालाई आख्यानात्मक शैलीमा प्रस्तुत गरेका छन्।' पाण्डेको 'यार' फाइनप्रिन्टले प्रकाशन गरेको हो। 

डा. शर्मा विगत ६ दशकदेखि नेपाली नियात्रा, निबन्ध, समालोचना, आख्यान, अनुवाद र सम्पादनमा विशिष्ट योगदान दिएका व्यक्ति हुन्। उनी नेपाली साहित्यमा झर्रोवादी अभियानका एक अभियन्ता पनि हुन्।

‘पद्मश्री साहित्य पुरस्कार’ वर्षभरि प्रकाशित साहित्यिक कृतिमध्ये उत्कृष्ट एक साहित्यिक कृतिलाई र ‘पद्मश्री साधना सम्मान’ नेपाली साहित्य, कला, संस्कृति आदि क्षेत्रमा दीर्घ साधना गरी विशिष्ट योगदान दिने व्यक्तित्वलाई प्रदान गरिन्छ।

खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले २०६२ देखि मोफसलमा प्रकाशित उत्कृष्ट कृतिलाई ‘पद्मश्री साहित्य पुरस्कार’ प्रदान गर्दै आएकोमा २०६६ सालबाट देश तथा विदेशबाट समेत नेपाली भाषामा प्रकाशित उत्कृष्ट साहित्यिक कृतिलाई यो पुरस्कार प्रदान गर्दै आएको छ।

प्रतिष्ठानले २०६७ सालखेखि नेपाली साहित्य, कला, संस्कृति आदि क्षेत्रमा दीर्घ साधना गर्ने विशिष्ट व्यक्तिलाई ‘पद्मश्री साधना सम्मान’ दिँदै आएको छ।

लेखकलाई उत्प्रेरणा

पुरस्कार घोषणा भएपछि अन्नपूर्णसँग कुरा गर्दै पुरस्कृत कृति यारका लेखक पाण्डेले पुरस्कारले लेखकलाई उत्प्रेरणा दिने बताए।

'पुरस्कारले लेखकलाई उत्प्रेरणा दिने भएकोले स्वभाविक रुपमा खुसी लाग्यो', लेखक पाण्डेले भने, 'कसैले किताबको चर्चा गरिदिँदा जसरी लेखक खुसी हुन्छ, पुरस्कृत हुँदा आफूले भनेका कुरा अरुले बुझिदिएछन् भन्ने लाग्छ तर लेखनको अर्थ पुरस्कारमै सीमिति हुनुपर्छ भन्ने छैन।'  

'यार' मा आफूले आफ्ना मित्र र आफन्तहरूसँगको निजी सम्बन्धमार्फतबाट समाजका समस्याहरू र ती समस्याहरूले सम्बन्धमा पार्ने असरहरूलाई निर्मम भएर आत्मालोचना गरेको उनले बताए।

'यारमा मैले मित्रहरू र आफन्तहरूसँगको निजी सम्बन्धमार्फतबाट केबल निजी कुरामात्र कुरा गर्न खोजेको होइन, ती सम्बन्धहरूमार्फत समाजका आर्थिक, सामाजिक, राजनीतिक र अन्य सानासाना समस्याहरू र तीनले  सम्बन्धमा पार्ने असरहरूलाई निर्मम भएर आत्मालोचना गर्ने किसिमले पनि प्रस्तुत गरेको हुँ', उनले भने, ' आफ्नो मात्रै कुरा गरेर समाजसँग जोडिएन भने त्यो अर्थहीन हुन्छ। हाम्रो लेखनले समाजका केही समस्या, मनस्थिति र मानसिकताहरूलाई उजागर गर्नुपर्छ भन्ने लाग्छ। त्यही उद्देश्य राखेर मैले यार लेखेको हो।'  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.