फुजेल प्रकरणमा सफाइ पाएका छविलाल पौडेल रिहा
काठमाडौं : गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोग लागेका छविलाल पौडेल रिहा भएका छन्। आइतबार चितवन जिल्ला अदालतले निर्दोष ठहर्याई सफाइ दिएपछि डिल्लीबजार कारागारमा थुनामा रहेका पौडेल सोमबार बिहान रिहा भएका हुन ।
उनलार्इ अाफन्तजन र नेकपा कार्यकताले बाजागाजासहित फूलमाला लगाएर डिल्लीबजर कारागार बाहिर स्वागत गरे । गत असार २४ गते सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका पौडेललाई सोही दिन पुर्पक्षका लागि डिल्ली बजार कारागार चलान गरिएको थियो । अदालतले कारागारमा रहेका छविलाल पौडेलसहित यो प्रकरणमा १३ जना प्रतिवादीमध्ये १२ जनालाई सफाई दिएको छ।
गोरखा फुजेलका कृष्ण अधिकारीको चितवन रत्ननगरस्थित हजुरबुवा-हजुरआमा भेट्न गएका बेला २०६१ जेठ २४ गते हत्या गरिएको थियो । त्यो बेला हत्याको जिम्मेवारी नेकपा माओवादीले लिएको थियो । घटनापछि कृष्णप्रसादका दाजु र बुवाले जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका थिए ।
चितवन जिल्ला अदालतले छविलालसहित रामप्रसाद अधिकारी 'क' र 'ख', कालीप्रसाद अधिकारी, सीता तिवारी, सुभद्रा तिवारी र विष्णु तिवारीले सफाइ लिएको छ । अन्य प्रतिवादीले पनि यस प्रकरणमा सफाइ पाएका छन् । फरार रहेका रुद्र आचार्यको हकमा पछि फैसला गरिने निर्णय भएको अदालतले जनाएको छ ।
छोराका हत्यारालाई कारबाही नभएसम्म अनशन नटुंग्याउने अडानमै रहेका कृष्णप्रसादका बाबु नन्दप्रसादको अनशनका क्रममा ज्यान गएको थियो । आमा गंगामायाले पनि ३ वर्षसम्म अनशनमा बिताइन् । नन्दप्रसादको शव अझै त्रिवि शिक्षण अस्पतालमा छ । माओवादीले भने जनयुद्धको बेलाको मुद्दाको छिनोफानो सत्य निरुपण तथा मेलमिलाप आयोगले गर्नुपर्ने अडान राख्दै आएको छ ।