पहिरोले मेची राजमार्गको काबेली–ताप्लेजुङ खण्ड अवरुद्ध
ताप्लेजुङ : गएरातिदेखिको वर्षाले मेची राजमार्गको काबेली–ताप्लेजुङ खण्ड बिहानैदेखि अवरुद्ध बनेको छ । ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका–१ मेवाखा छेउको खोल्सामा करिब ३० मिटर माथिबाट पहिरो झरेर सडक पुरेको हो । यात्रु दिपेन पोमुका अनुसार ठूला ढुङ्गासहितको पहिरोले सडकको १० मिटर भाग पुरै छोपेको छ ।
अवरुद्धसडक ताप्लेजङबाट पाँचथर, इलाम, झापा लगायतका स्थान जिल्लाकै ग्रामीण भेगका लागि छुटेका र जिल्ला भित्रिने सवारी र यात्रु अलपत्र परेका छन् । उक्त ठाउँमा दुई दर्जन बढी सवारी रोकिएको पोमुले बताए । पहिरो गएको स्थानमा प्रहरी पुगिसकेको र पहिरो पन्छाउनका लागि सडक कार्यालयको स्काभेटर मगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण थापामगरले बताए ।
‘१५ मिनेटपछि मेसिन आइपुग्छ र पन्छाउन थाल्छौं,’ पहिरो स्थलममै रहेका मगरले अन्नपूर्णसँग भने । पूर्वी पहाडी जिल्लाहरुमा रातिदेखिको वर्षा रोकिएको छैन । वर्षाका कारण विभिन्न स्थानमा पहिरोको जोखिम बढेको छ । पाथिभरा याङवरक गाउँपालिका–२ थेचम्बुस्थित कुन्दन राईको घर जोखिममा रहेको प्रहरीले जनाएको छ । भलको पानी पसेपछि घरमा बस्ने अवस्था नरहेको र प्रहरीको टोली उक्त स्थानमा पुगेपछि थप जानकारी आउने प्रहरी निरीक्षक मगरले बताए ।