ठगी धन्दामा बैंक कर्मचारी संलग्न
नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकास्थित कृषि विकास बैंक खजुरा शाखाका व्यवसाय सहायक घनश्याम अधिकारी सूचना प्रविधिको दुरूपयोग गरी सवा ४ करोड ठग्न खोज्दा निलम्वनमा परेका छन् ।
शाखाका प्रबन्धक सञ्जयराज श्रेष्ठको आइडी ह्याक गरी गत १६ साउनमा अधिकारीले ४ करोड २८ लाख रुपैयाँ अनियमितता गर्न खोजेका थिए । त्यो शाखाबाट २ करोड रुपैयाँभन्दा बढी रकम ट्रान्सफर नहुने भएकाले रकम पेन्डिङमा देखेपछि केन्द्रीय कार्यालयको आइटी विभागले अनियमितताको भेद पत्ता लगाएको हो ।
घटना लगत्तै बैंकको मध्यपश्चिम क्षेत्रीय कार्यालय नेपालगन्जले अनुसन्धान सुरु गरेको थियो । त्यस क्रममा अधिकारीले झन्डै दुई वर्षको अवधिमा एक सय रुपैयाँदेखि सवा चार करोड रुपैयाँसम्म अनियमिमता गर्न खाजेको तथ्य फेला पारेको थियो ।
प्रविधिक टोलीले छानबिनका क्रममा विभिन्न मितिमा झन्डै ६६ लाख रुपैयाँ भने अनियमिमता गरेको फेला पारेको छ । अनियमितता भएपछि बैंकको केन्द्रीय कार्यालय व्यवस्थापनले अधिकारीलाई अनुसन्धानका लागि भन्दै १३ भदौदेखि निलम्वन गरेको छ ।
शाखा कार्यालय खजुरा र क्षेत्रीय कार्यालयले सुरूमा मीस इन्ट्री भने पनि बैंकको केन्द्रीय आइटी डिपार्टलाई शंका लागेर थप अनुसन्धान गर्दा अधिकारीको अनियमितताको पोल खुलेको हो ।
अधिकारीले रकम आफ्नो कृषि विकास बैंकवाहेकको खातामा र आफन्तको खातामा ट्रान्सफर गरेको भेटिएको छ । अधिकारीले विगत दुई वर्षदेखि कम्तीमा एक सय रुपैयाँदेखि एक सय भन्दा बढी पटक गरी ६६ लाख रुपैयाँ अनियमितता गरेको भेद खुलेको छ । कार्यालयमा हुने खर्चको रकम, बैंकको शंकास्पद हिसाबको रकम र अन्तर बैंकिङ हिसाब मिलानको रकमबाट अनियमितता भएको थियो ।
‘अर्को बैंकमा रकम पठाएको कागजातमा देखिने तर त्यो रकम सिधै आफ्नो खातामा पठाउने गरेका थिए’, बैंकका एक कर्मचारीले भने, ‘उनले सूचना प्रविधिको यति बुद्धिमत्तापूर्ण रुपमा प्रयोग गरेका छन् कि दैनिक कति ट्रान्ज्याक्सन भयो भन्ने कुरा आफ्नो खातामा गएको रकमबारेको स्टेटमेन्ट मेटाएको पाइएको छ ।’
यस्तो काम गर्न उनले शाखा प्रबन्धक श्रेष्ठ, विगतमा निमित्त प्रबन्धक भएका काम गरेका जोखबहादुर खड्का र गोरखबहादुर थापाको आइडीसमेत ह्याक गरेर अनियमितता गरेको आशंका गरिएको छ । खड्का र थापाको पालामा भने थोरै रकम मात्र अनियमिमता गरेको भेटिएको छ ।
बैंकका खजुरा शाखा प्रबन्धक श्रेष्ठले ६६ लाख रुपैयाँ सम्बन्धी कागजातमा हस्ताक्षर गरेको पाइएको छ । अधिकारीले गरेको अनियमिततालाई प्रबन्धक श्रेष्ठले सिस्टमबाट सदर गरेको र त्यससम्बन्धी कामजातमा दस्तखत गरेर अधिकारीलाई मद्दत गरेको देखिन्छ । तर अनुसन्धानका क्रममा श्रेष्ठले आफ्नो आइडी अधिकारीले ह्याक गरेको हुनसक्ने बताएका छन् ।
यस विषयमा अन्नपूर्ण पोस्ट्ले जिज्ञासा राख्दा श्रेष्ठले अधिकारीलाई निलम्वन गरी बैंकले ‘सेटलमेन्ट’ गरिसकेकाले आपूmले बोल्न नमिल्ने प्रतिक्रिया दिए ।
बैंकका मध्यपश्चिम क्षेत्रीय कार्यालय नेपालगन्जका निर्देशक रामचन्द्र आर्चायले भने अधिकारीलाई निलम्वन गरी अनुसन्धान जारी रहेको प्रतिक्रिया दिए । ४ करोड २८ लाख रुपैयाँ अनियमितता गर्न खोजेकोलाई भने उनले ‘मीस इन्ट्री’ भन्दै सामान्यकरण गर्न खोजे । ‘अधिकारीको बद्नियत थियो वा थिएन भन्ने विषयमा केन्द्रको कानुन विभागले थप अनुसन्धान गरिरहेको छ’, भन्दै उनीले थप जानकारी केन्द्रबाट लिन सुझाए ।
उनी अधिकारीबाट झन्डै ६६ लाख रूपैयाँ भने नगद नै असुल उपर गरेर बैंकलाई घाटाबाट जोगाएको बताउँछन् । कृषि विकास बैंकका केन्द्रीय प्रवक्ता हिमलाल पौडेलले अधिकारीबारे अनुसन्धान जारी राखेकाले क–कसको संलग्नता रहेको वा नरहेकोबारे अहिले नै बताउन नसकिने उल्लेख गरे ।
प्रवक्ता पौडेल पनि यो घटनालाई ‘निकै बुद्धिमानीपूर्ण रूपमा सल्टाएको’ बताउँछन् । पौडेलले भने, ‘हाम्रो आइटी डिपार्टलाई पहिलेदेखि नै शंका लागेको थियो । त्यो घटनापछि करिब दुई साताअघि टोली स्थलगत रूपमा पठाएर सूचना प्रविधिको दुरुपयोगबारे पत्ता लागेको हो । थप अनुसन्धान जारी छ ।’
बैंकले अधिकारीलाई ६ महिनासम्म अनुसन्धानका लागि निलम्वन गर्न सक्छ । आवश्यकता ठानेमा निलम्वन अवधि बढाउन सक्ने केन्द्रीय कार्यालयले जनाएको छ । शाखा कार्यालय, क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय सबैले अनुसन्धानपछि अधिकारीलाई अनियमितताको आरोपमा जागिरबाट बर्खास्त गर्ने र घटनालाई ढाकछोप गरी बैंकिङ कसुरबाट उन्मुक्ति दिन उद्दत रहेको बैंकका कर्मचारीले आशंका गरेका छन् ।