नाकाभन्दा एक किमि टाढा भन्सार :भन्सार टाढा हुँदा तस्करी मौलायो

नाकाभन्दा एक किमि टाढा भन्सार :भन्सार टाढा हुँदा तस्करी मौलायो

तौलिहवा : कपिलवस्तुको यशोधरा गाउँपालिकास्थित खुनुवा नाकाबाट तस्करी मौलाएको छ । खुनुवा छोटी भन्सार कार्यालय तस्कर मौलाउने ट्रान्जिट बनेको हो । नेपाल–भारत सीमानाकाबाट एक किलोमिटर टाढा भन्सार कार्यालय रहँदा तस्करलाई सह जबनेको छ ।

सिमापारीबाट आउने मालसमान चेकजाँचमा कडाई गर्न भन्दै सशस्त्र प्रहरी र नेपाल प्रहरी डियुटीमा खटिए पनि उनीहरूकै मिलेमतोमा तस्करी हुने गरेको स्थानीय बताउँछन् ।

भन्सार कार्यालयको दुरी टाढा हुँदा सीमापारीबाट आउने जुन सुकै सवारीसाधनलाई सहजै नेपाल भित्राइने गरिएको छ । भन्सार कार्यालयसम्म सवारी साधन पठाउँनै पर्ने भएको कारण सुरक्षाकर्मीले भारतबाट आउने सवारीसाधनलाई कडाई गर्दैनन् । तर भन्सार कार्यालयसम्म नपुगि केही साना सवारी साधन सहायक बाटो प्रयोग गरी भन्सार छल्ने गरेको विशेष स्रोत नाम नबताउने सर्तमा बताउँछ । ‘सुरक्षाकर्मीकै मिलेमतोमा दैनिक तस्कर भैरहेको छ स्रोतले भन्यो ।’

स्रोतका अुनसार सुरक्षाकर्मीको मिलेमतोमा नेपालमा प्रतिबन्धित बैठी, मांगुर माछा, ब्रोइलर कुखुराका चल्ला र अण्डा दैनिक भित्र्याउने गरिएको छ । जिल्लाका हरेक हाटबजारमा यी माछा खुलेयाम बेचविखन हुने गरेको छ । चाडपर्व नजिकिँदै जाँदा तस्करहरूले खुलेयाम भारतीय मालसमान नेपाल भित्राउने गरेका छन् । भारतीय खसी बोका नेपाल भित्राउँदा पशु क्वारेनटाइनमा चेकचाज नगरी यहाँ भित्र्याइने गरिएको छ । साथै पटका जन्यवस्तु, लत्ताकपडा पनि रातिको मौका छोपी नेपाल प्रवेश गराउने गरिएको स्रोत बताउँछ ।

भन्सार कार्यालयको दुरी सीमानाका भन्दा एक किलोमिटरको दुरीमा छ । यसैको फाइदा उठाउँदै तस्करहरूले चोरबाटो मालसमान नेपाल भित्र्याउने गरेका हुन् । खनुवा छोटी भन्सार कार्यालयका कर्मचारी पनि भन्सार कार्यालय टाढा हुँदा चोरी तस्करी नियन्त्रण गर्न नसकेको स्वीकार गर्छन् । कृष्णनगर भन्सार कार्यायलका प्रमुख पुण्यविक्रम खड्काले नाका टाढा हुँदा केही समस्या भएको स्वीकारे ।

‘नाका हेर्न भनेर दैनिक ४ जना कर्मचारी खटाएका छौं’, कार्यालय प्रमुख खड्काले भने, ‘सिमाना भन्दा भन्सार नाका टाढा हुँदा प्रशासनिक समस्या भएकै छ ।’

सरकारले हालै यो नाकाको स्तरोन्नति गरेर मूल भन्सार बनाएकोले असोज १५ देखि यो समस्या समाधान हुने उनले जनाए । विगतका दिनमा जिल्ला प्रशासन कार्यालयसँग सिमानाका टाढा हुँदा तस्करी रोक्न समस्या भएको विषयमा कुराकानी भइरहेको थियो उनले भने, ‘अब मूल भन्सार नाका नै भएपछि समस्या हुँदैन ।’

सहायक बाटो प्रयोग गरी तस्करहरूले नेपालमा प्रतिवन्धित भारतीय मालसामान खुलेयाम भित्राउने गरेका छन् । खुल्ला सीमाना र जहाँ सुकै ठाउँमा भारतबाट नेपाल छिर्न सक्ने सहायक बाटोको कारण भारतीय तस्करहरू कपिलवस्तुमा मौलाउँदै गएका हुन् । तस्करहरूले दैनिक लाखौंका सामान नेपाल प्रवेश गराउँदा समेत सुरक्षा निकाय मौन जस्तै बन्ने गरेको छ । बेलाबेला तस्करहरूले सुरक्षाकर्मीलाई सेटिङ मिलाएर अवैध मालसामग्री कपिलवस्तु भित्राउने गरेका खबरहरू बाहिर आए पनि सुरक्षा निकाय मौन जस्तै बन्ने गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवि रावलले भन्सार हेर्ने पूर्ण जिम्मेवारी सशस्त्र प्रहरीको भएको बताए । प्रहरीले पछिल्ला दिनमा नाकामा कडाई गरेको बताउँदै उनले भने, ‘सशस्त्र प्रहरी यो विषयमा बढी चनाखो बन्नुपर्छ ।’ गत जेठ महिनादेखि अहिलेसम्म नाकाबाट ९२ लाख ३९ हजार राजश्व उठाएको भन्दै नाकामा हामी कति खटिएका छौं भन्ने प्रष्ट हुन्छ’, उनले भने ।

नाका भन्दा भन्सार कार्यालय टाढा भएको कारण तस्कर नियन्त्रणमा केही समस्या आएको उनले स्वीकार गरे । ‘सीमानामै भन्सार कार्यालय नहुँदा निकै समस्या छ, भन्सार कार्यालयसम्म सवारी साधन नपुगुञ्जेलसम्म निगरानी गर्दै आएका छौं’, उनले भने ।

प्रमुख जिल्ला अधिकारीको रूपमा भर्खरै कपिलवस्तु आएका प्रजिअ अर्जुनप्रसाद पोख्रेलले खुनुवा छोटी भन्सारको स्तरोन्नति भएकोले समस्या अब हट्ने बताउँछन् । सीमानाका भन्दा एक किलोमिटर टाढा भन्सार रहेको भन्ने आफूलाई थाहा भएपछि समाधानको पहल चालिरहेको उनले बताए । भन्सार नपुग्दै साना सवारीसाधन सहायक बाटोबाट भन्सार छल्न सक्नेमा उनले पनि आशंका व्यक्त गरे ।

खुला सीमानाका कारण जिल्लाका दक्षिणी भेगका अधिकांश ठाउँबाट सर्वसाधारण नेपाल–भारत आवातजावत गर्न सक्छन् । तर सीमानाका व्यवस्थित पार्न सम्बन्धित निकायले चासो दिएको पाइँदैन ।

खुुनुवा छोटी भन्सार कृष्णनगर भन्सार कार्यालयपछि दोस्रो ठूलो नाकाअन्तर्गत पर्दछ । सदरमुकामसँग सिधै जोडिने यो नाकालाई सरकारले हालै स्तरोन्नति गरेर मूल भन्सार बनाएको छ । यहाँबाट दैनिक खाद्यान्न, लत्ताकपडा, फलफूल र तरकारीजन्य वस्तु नेपाल आउने गरेको छ । भन्सारले वार्षिक औषत्मा करिब २० देखि ३० करोड सम्मको राजश्व संकलन गर्ने गरेको छ ।

कृष्णनगर भन्सार कार्यालयको नियन्त्रणमा हाल खुनुवा छोटी भन्सार कार्यालयसँगै चाकडचौडा छोटी भन्सार छन् । यद्यपि जिल्लाको महत्वपूर्ण बजार महाराजगञ्जमा भन्सार कार्यालय छैन । यहाँबाट पनि दैनिक सयौं सर्वसाधारण भारत–नेपाल आवात जावत गर्दैआइरहेका छन् । साथै भारतीय सीमावर्ती साविक हर्दौना गाविसबाट पनि तस्करले करौडांै भन्सार छली अवैध सामग्री नेपाल भित्राउने गरेको स्रोतको दाबी छ ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.