पशुपति क्षेत्रमा फोहर फाल्ने चालक कारवाहीमा
काठमाडौँ : रातिको समयमा गाडीमा पशुपति क्षेत्रको जङ्गलमा फोहर फाल्दै गरेका चालक कारवाहीमा परेका छन्। आइतबार राति तिलगङगा-गुह्येश्वरी मार्गबाट बा२ख २६८८ नं ट्रकका चालकले विश्वसम्पदा सूचीमा सूचीकृत जंगल क्षेत्रमा फोहर फाल्न खोज्दा स्थानीय बासिन्दाले पक्राउ गरी महानगरीय प्रहरी वृत्त गौशालामा बुझाएका थिए।
चालक सुदीप खड्का र सवारीलाई रातभर नियन्त्रणमा राखी कारवाहीका लागि वडा कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक सुनील मल्लले बताए। सवारी चालकलाई काठमाडौँ महानगरपालिका- ८ कार्यालयले आगामी दिनमा पशुपति क्षेत्रमा फोहर नफाल्ने शर्तमा पाँच हजार जरिवाना गरी छोडिदिएको वडा अध्यक्ष दीनेश डंगोलले जानकारी दिए। चालकले बबरमहलबाट फोहर लगि पशुपति जंगलमा फाल्न गएका थिए।
ऐतिहासिक पशुपति जंगलको बीचबाट तिलगङ्गा-गुह्येश्वरी मार्ग खुलेपछि संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले विश्व सम्पदाबाट हटाउने चेतावनी दिइसकेको छ।