दिदीको रिसले घर छाडेर हिँड्दा बलात्कारको शिकार
काठमाडौँः राजधानीको कीर्तिपुरमा दुईजना किशोरीलाई एक युवाले बन्धक बनाएर बलात्कार गरेका छन् । ललितपुरको इमाडोलबाट साउन २१ गते घर छाडेर हिँडेका दुई किशोरीलाई बन्धक बनाएर कीर्तिपुर नगरपालिका–७ हनुमानघाट बस्ने २५ वर्षीय हेम खत्रीले बलात्कार गरेका हुन् ।
इमाडोलस्थित घरमा दिदीले कुटेपछि रिसाएर घरबाट हिँडेका ती किशोरीहरुलाई नयाँबानेश्वरबाट कीर्तिपुरस्थित कोठामा लगेर ती युवाले बलात्कार गरेका हुन् ।
महानगरीय प्रहरी वृत्त कीर्तिपुरका अनुसार १३ र १४ वर्षका दुई किशोरीलाई खत्रीले गत बिहीबार बानेश्वरबाट लगेका थिए । खत्रीले १३ वर्षीय बहिनीलाई बिहीबारदेखि शनिबारसम्म बलात्कार गरेको खुलेको छ ।
त्यसक्रममा १४ वर्षीय दिदीले खत्री कोठा बाहिर गएको मौकामा शनिबार घरमा फोन गरेपछि उनलाई भने बल्खुमा ल्याएर छाडिदिएका थिए ।
बन्धक बनाएर किशोरीमाथि बलात्कार भएको जानकारी पाएपछि कीर्तिपुर वृत्तबाट डीएसपी अनिल खड्काको नेतृत्वमा पुगेको टोलीले उनको उद्दार गरेको थियो । अभियुक्त खत्रीलाई पनि पक्राउ गरी हिरासतमा राखिएको छ।
बलात्कृत किशोरीलाई उपचारपछि घर पठाइएको छ भने खत्री हिरासतमा छन् । खत्रीले घटना स्वीकारिसकेको प्रहरी वृत्त कीर्तिपुरका एक प्रहरी अधिकृतले जानकारी दिए ।