नेपाली बैंकका एटिएमबाट विदेशीको पैसा चोरीमा भारतीय
काठमाडौँः नेपाली बैंकका एटिमएबाट विदेशी नागरिकको पैसा चोरीमा भारतीय गिरोह संलग्न रहेको खुलेको छ । महानगरीय प्रहरी परिसरले नेपाली बैंकका एटिएमबाट विभिन्न देशका नागरिकको रकम चोरीमा संलग्न भएको अभियोगमा चार भारतीय र दुई नेपालीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा भारतको केरलाका जिन्तु जोय रहेका छन् । जोयको नेतृत्वमा विदेशी नागरिकको एटिएम तथा बैंक खाताको सूचना लिएर नेपाली बैंकबाट १४ लाख रुपैयाँ भन्दा चोरी भइसकेको अवथामा प्रहरीले गिरोह नै समात्न सफल भएको हो ।
जिन्तु जोय केरलाबाट नेपालमा घुम्ने बहानामा सात पटकसम्म्म आएको खुलासा भएको छ । नेपालमा उनलाई क्षेत्रपाटी निवासी अनुज नकर्मी र काभ्रेका विजय दोङले सघाएको खुलेको छ । ब्रोकरका रुपमा सक्रिय उनीहरुले नेपाली बैंकबाट विदेशीको रकम चोर्न भारतीयलाई सघाएको खुलेको छ ।
महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी वसन्त लामाका अनुसार आईटीका विज्ञकाहरुपमा रहेका जोय डेढ वर्षदेखि नियमितरुमा नेपाल आएर नेपाली बैंकका एटिएमबाट रकम चोर्ने गरेको खुलेको छ।
जोयसहित भारतीय नागरिकहरु बितु गौतम, निकु गोसाई र विकास गोसाई पनि यो चोरीमा संलग्न रहेको पत्ता लागेको लामाले बताए ।
उनीहरुले पछिल्लो पटक कुमारी, इन्भेस्टमेन्ट, टुरिजम र मेघाबाट विदेशी नागरिकको रकम निकालेको खुलेको छ । रकम चोर्नका लागि उनीहरुले डेबिट तथा एटिएम कार्डको प्रयोग गरेका थिए । त्यसैगरी स्वाइप मेशिन समेत आफैँसँग राखेर उनीहरुले रकम चोरेका थिए ।
प्रहरीले उनीहरुबाट १ सय थान एटिएम कार्ड, चारवटा स्वाइप मेसिन र एमएसआर कार्ड रिडर दुईवटा बरामद गरेको एसएसपी लामाले जानकारी दिए ।
चोरिएको रकम उनीहरुले आफन्त र साथीहरुको खातमा जम्मा गर्ने गरेको पत्ता लागेको छ । प्रहरीले यो चोरीमा संलग्न विजय दोङलाई विमानस्थलबाट समातेको हो भने अन्यलाई राजधानीबाटै पक्राउ गरी हिरासतमा लिएको हो ।
यसअघि पनि नेपाली बैंकका एटिएमबाट रकम चोरीमा बुल्गेरिया, टर्कीसहितका देशका नागरिक सक्रिय थिए । उनीहरुले त्यसबेला नेपाली नागरिककै खाताको रकम चोरेका थिए । भारतीयले भने विदेशी नागरिकको खातामा आँखा लगाएका हुन् ।