को हुन् गृहमन्त्रीले इङ्गित गरेका भ्रष्ट प्रशासक ?
काठमाडौँ :गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रशासकले आफूलाई शासकका रुपमा नभइ जनसेवकका रुपमा प्रस्तुत गर्नुपर्ने बताएका छन्।
सोमबार नेपाल प्रशासन सेवाका पदाधिकारीका लागि कानुन र न्यायसम्बन्धी तीन महिने तालिममा सम्बोधन गर्दै गृहमन्त्री थापाले राष्ट्रको समृद्धि र विकासमा योगदान गर्ने उद्देश्यसहित सबै प्रशासकले काम गर्नुपर्ने बताएका हुन् ।
विकासका लागि भ्रष्टाचार प्रमुख बाधक भएको थापाकाे भनाइ छ । उनले यसविरुद्ध सबैको साथ र समर्थन आवश्यक रहेको पनि बताए । ‘केही प्रशासक भ्रष्टाचार गर्छन्, काममा जानाजान ढिलासुस्ती गर्छन् भन्ने आरोप लाग्ने गरेको छ’, थापाले भने, ‘यसलाई तपाईँहरुले चिर्नुहोस् ।’
अहिलेको नियम कानुन बुझ्नका लागि तालिम उपयोगी भएकाे थापाकाे भनाइ छ । ‘हामीले अपराधलाई नियन्त्रण गर्न सक्यौँ, अपारधिलाई दण्डित गर्न सक्यौँ / नागरिकको रक्षा गर्न सक्यौँ भने मात्रै सफल हुन्छौं’, उनले भने, ‘यसका लागि विधिसम्मत ढंगले कार्य गर्नु जरुरी हुन्छ ।’
कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव राजिव गौतमले प्रशासकले अर्ध न्यायिक निकायको रुपमासमेत काम गर्नुपर्ने भएकाले तालिमपछि काम गर्न सहज हुने विश्वास जनाए ।