शाखा अधिकृतदेखि प्रधानन्यायाधीशसम्म..

शाखा अधिकृतदेखि प्रधानन्यायाधीशसम्म..

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रलाई पद तथा गोपनीयताको शपथ गराएकी छन्। 

राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीश, सरकारका सचिव तथा उच्चपदस्थ कर्मचारीको उपस्थिति थियो। 

संवैधानिक परिषद्को सिफारिसमा मिश्रको नाम सोमबार संसदीय सुनुवाइ समितिले सर्वसम्मत रुपमा अनुमोदन गरेको थियो। समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीशलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। 

कामु प्रधानन्यायाधीश मिश्रलाई यही भदौ ७ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। 
 
कानुन मन्त्रालयको शाखा अधिकृतका रुपमा न्याय सेवामा प्रवेश गरेका मिश्रलाई सोमबारदेखि २८औँ प्रधानन्यायाधीशका रुपमा न्यायालयको सर्वोच्च स्थानमा रहेर कार्यसम्पादन गर्ने अवसर प्राप्त भएको छ। 

रुपन्देही जिल्ला रायपुरमा विसं २०१० पुस २८ गते पिता महेशदत्त र माता अन्नपूर्ण मिश्रको सन्तानका रुपमा जन्मिएका ओमप्रकाश मिश्रले विसं २०३८ जेठ ३० गते तत्कालीन कानुन तथा न्याय मन्त्रालयबाट शाखा अधिकृतबाट सेवा शुरु गरेका हुन्। 

त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक, राजनीतिकशास्त्रमा स्नातकोत्तर र भारत नयाँदिल्ली विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर मिश्रले कानून मन्त्रालयमा शाखा अधिकृतका रुपमा काम गर्दागदै २०४२ साल कात्तिक ११ देखि मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतमा जगेडा जिल्ला न्यायाधीशका रुपमा काम गरेका थिए। 

त्यसैगरी उनले जाजरकोट, प्युठान, कैलाली, मोरङ र काठमाडौँमा जिल्ला न्यायाधीशका रुपमा क्रियाशील भएर काम गरे। 

मिश्रले विसं २०६२ चैत १० गतेदेखि पुनरावेदन अदालत विराटनगरको न्यायाधीशका रुपमा काम सुरु गरी विशेष अदालत हुँदै २०६९ पुस २६ गतेदेखि तत्कालीन पुनरावेदन अदालत राजविराजका मुख्य न्यायाधीशका रुपमा काम गरेका हुन्। 

वातावरण र भ्रष्टाचार मुद्दामा छवि 
२०७१ जेठ १३ गतेदेखि सर्वोच्च अदालतको न्यायाधीशका रुपमा काम सुरु गरेका मिश्रले वातावरण, भ्रष्टाचारलगायत मुद्दामा राम्रो फैसला गर्ने न्यायाधीशको छवि बनाएका छन्। 

मिश्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय न्यायिक अनुभव पनि छ। नवनियुक्त प्रधानन्यायाधीश मिश्रले जापान र दक्षिण कोरियामा पुगेर मेलमिलाप पद्धतिको थप विकास र परिमार्जनसम्बन्धी अध्ययन गरेका छन्। सूचना प्रविधिलाई थप प्रभावकारी बनाउन उनले चीनको अदालतको अभ्यासको अध्ययन गरेका छन्। 

त्यसैगरी न्यायपालिकाको योजना, अभ्यास र प्रक्रियाका सम्बन्धमा फ्रान्स, जर्मनी, बेलायत, बेल्जियम र अमेरिकामा उनले अध्ययन भ्रमण गरेका छन्। उनले मुद्दा व्यवस्थापन र मेलमिलाप सम्बन्धमा जापान र न्याय प्रणाली एवं न्यायपालिकासम्बन्धी अध्ययनमा अष्ट्रेलिया, श्रीलङ्का र फिलिपिन्सको अध्ययन भ्रमण गरेका छन्। 

मिश्रले कामु प्रधानन्यायाधीशका रुपमा गत साउन २० गतेदेखि काम गरेका हुन्। प्रधानन्यायाधीशका रुपमा उहाँले पाँच महीना काम गर्नेछन्। आगामी पुस १८ गते सर्वोच्च अदालतको न्यायाधीशको ६५ वर्षे उमेर हदका कारण उनले अवकाश लिनेछन्। उनको अवकाशपछि वरिष्ठतम न्यायाधीशका हैसियतले न्यायाधीश चोलेन्द्रशम्शेर जबराको हातमा न्यायालयको जिम्मेवारी आउनेछ। कालिका खड्का/रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.