नवनियुक्त प्रधानन्यायाधीशलाई सर्वोच्चमा जोशीले गरे स्वागत
काठमाडौं : नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सोमबार साँझ पदभार ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ लिएर प्रधानन्यायाधीश मिश्रले सोमबार नै पदभार ग्रहण गरेका हुन्। संसदीय सुनुवाइ विशेष समितिबाट प्रधानन्यायाधीशमा अस्वीकार गरिएका न्यायाधीश दीपकराज जोशीले नवनियुक्त प्रधानन्यायाधीश मिश्रलाई सर्वोच्चमा स्वागत गरेका छन्।
संसदीय सुनुवाइ समितिबाट अनूमोदन हुँदै प्रधानन्यायाधीशमा नियुक्त मिश्रले न्यायमा जनआस्था बढाउन न्यायाधीशको सम्पत्ति छानबिन, भ्रष्टाचार र विचौलिया नियन्त्रणसहितका बिषयलाई प्राथमिकताका साथ उठाएका छन्।
मिश्रले संसदीय सुनुवाइकाक्रममा अदालतमा राजनीतिक प्रभाव महशुस नगरेको बताएका थिए। राष्ट्रपतिबाट नियुक्ती र शपथपछि मिश्रले सोमबार सर्वोच्च अदालतमा पदभार समालेका हुन्। पदबहाली अघि उनलाई सर्वोच्चमा स्वागत गरिएको थियो। पदबहालीपछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै मिश्रले सबै न्यायाधीशबीच भाइचाराको सम्बन्ध कायम गर्ने बताए।
भ्रष्टाचार नियन्त्रण र विचौलिया रोक्न लागिपर्ने उनको भनाइ छ। ‘विचौलिया देखाइदिनू, म कारवाही गर्छु,’ मिश्रले भने। सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएका मिश्रले आउँदो पुस १७ गते अवकाश पाउनेछन्।