मेडिकल सिटीमै उपचार अभाव

मेडिकल सिटीमै उपचार अभाव

भरतपुर : मेडिकल सिटीको उपमा पाएको चितवनमै उपचार अभावका कारण तीन वर्षीय बालकको मृत्यु भएपछि यहाँका अस्पतालप्रति प्रश्न चिन्ह उठ्न थालेको छ। सर्पको टोकाइबाट घाइते भएका भरतपुर १५ मंगलपुरका सलिन विकले उपचार नै नपाएपछि ज्यान गुमाउन पुगेका हुन्। उनलाई अभिभावकले समयमै अस्पताल नपुर्‍याएका पनि होइनन्। जिल्लाका चारवटा ठूला अस्पताल चहारेर पनि बिरामीले उपचार पाएनन्।

सर्पदंशको उपचार गर्ने अधिकार पाएको सरकारी अस्पतालले आइसीयू अभावका कारण अन्यत्रै लैजान सुझाएपछि कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल, नारायणी सामुदायिक अस्पताल, निको बाल अस्पताल लगायतका अस्पतालमा पुर्‍याए पनि उपचार नपाएपछि अन्ततः उनी मृत्युको मुखमा पुगेका हुन्। चारवटै अस्पतालले बिरामीको उपचार गर्न नमानेपछि बालकको ज्यान गएको सलिनका हजुरबुबा बलराम विकले बताए। ठूला अस्पताल भएको भरतपुरमै उपचार नपाइ बिरामीले ज्यान गुमाउन बाध्य भएपछि उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनले अस्पतालको लापरवाहीका कारण बालकको ज्यान गएको भन्दै दोषी पत्ता लगाई कारबाही गर्न माग गर्दै चितवनका प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएका छन्।

‘सुगम क्षेत्रमै यस्तो घटना हुन्छ भने दुर्गमको हालत के होला ? ’, कार्यवाहक अध्यक्ष विष्णु भुसालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘मेडिकल सिटीको बाजा बजिरहेको चितवनमा यस्तो घटना हुनु खेदजनक छ।’ उपचार गर्दा बढी जोखिम हुने बिरामीको भर्नै नलिने प्रवृत्ति हावी भएको प्रस्ट देखिएको कार्यवाहक अध्यक्ष भुसालले बताए। अस्पतालले नाफालाई मात्रै हेरेर उपचार गर्ने गरेकाले समयमै उपचार पाए बाँच्ने बिरामीले पनि उपचार नपाएको उनको भनाइ छ। चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले पनि तत्काल छानबिन गरेर कानुनी कारवाही गरिने प्रतिवद्धता जनाए। ‘आइसीयू कक्ष खाली नभएको भन्दै उपचार नगर्ने विषय अत्यन्तै खेदजनक छ’, उनले भने, ‘सम्बन्धित निकायसँग तत्काल छलफल गरेर कानुनी प्रकृयाअनुसार अगाडि बढ्नेछु ता कि भोलि फेरि अर्को बिरामीले यसैगरी उपचार नपाएरै ज्यान गुमाउन नपरोस्।’

प्रशासनको अनुगमन

उपचार नपाएर बालकको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर अस्पतालको आइसीयू कक्षको अनुगमन गरेको छ। बालक मृत्युको घटनाको विषयमा चारवटै अस्पताललाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण माग गरेको प्रशासनले जनाएको छ। आइतबार प्रजिअ बस्नेत, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठौर लगायतको टोलीले अनुगमन गरेको छ।

अनुगमनमा अस्पतालका कर्मचारीको लापारवाहीका कारण बिरामीले उपचार नपाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको बस्नेतले बताए। ‘बिरामीको वास्तविकता नबुझीकनै बाहिर पठाएको भन्ने बुझ्नमा आएको छ’, उनले भने, ‘अस्पतालको कर्मचारीमा मानवीय संवेदना देखिएन।’ टोलीले अन्य तीनवटा अस्पतालको पनि अनुगमन गरेको थियो। सबै अस्पतालको इमर्जेन्सीमा आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुत बनाउन निर्देशन समेत दिइएको छ।फोटो क्याप्सन ः जिल्ला प्रशासन कार्यालय चितवनलाई ज्ञापनपत्र बुझाउँदै उपभोक्ता अधिकार संरक्षण मञ्चका पदाधिकारी।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.