निर्मलापछि लक्ष्मीले पाइनन् न्याय, बाबुआमा भन्छन् : गृहमन्त्रीले पनि चासो दिएनन्

निर्मलापछि लक्ष्मीले पाइनन् न्याय, बाबुआमा भन्छन् : गृहमन्त्रीले पनि चासो दिएनन्

काठमाडौँः धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–७ की १८ वर्षीय लक्ष्मी नेपालीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले अनुसन्धानमा कुनै चासो नदेखाएको उनका बाबुआमाले गुनासो गरेका छन् ।

छोरीको हत्याराबारे किटानी जोहरी दिँदासमेत प्रहरीले अहिलेसम्म अपराधीलाई पक्राउ नगरेको भन्दै पीडित परिवारले आपत्ति जनाएको छ । पीडित परिवारले तत्काल अपराधी पहिचान गरि पक्राउ गरेर कडा कारबाही गर्न समेत माग गरेको छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पीडित परिवारले भदौ ७ गतेबाट बेपत्ता भएर मृत भेटिएकी छोरीका हत्यारालाई प्रहरीले पहिचान गरेर पक्राउ गर्न नसकेको आरोप लगाएका हुन् । छोरीको हत्यामा संलग्न भएको दाबी गर्दै किटानी दिँदासमेत हत्यारालाई प्रहरीले अहिलेसम्म पक्राउ नगरेको भन्दै मृतक नेपालीका बुवा तुलामान नेपालीले सरकारप्रति आक्रोश पोखे । 

‘छोरीको हत्याराको नामसहित मैले जाहेरी दिएको छु । लामो समयदेखि छोरीसँग कुरा गर्दै आएका विदेशमा बस्ने खोटाङका अनिल परियारको नाममा जाहेरी परिसकेको छ’, उनले भने, ‘छोरी बेपत्ता भएको ४ दिनसम्म मोबाइलमा फोन लागिरहेको थियो । तर, प्रहरीले अपराधीलाई पक्राउ गर्न सकेन ।’

तुलमानले गृहमन्त्री रामबहादुर थापा बादललाई समेत भेटेर न्याय दिन आग्रह गरिसकेको बताए । ‘प्रहरी प्रसाशनले अनुसन्धान भइरहेको छ भन्छ । तर, खै परिणाम अहिलेसम्म केही पनि आएको छैन’, उनले भने, ‘मेरो माग दोषीको पहिचान गरि उसलाई कडाभन्दा कडा कारबाही गर्नुपर्यो ।’

महिला आयोगकी पूर्वअध्यक्ष मनु हुमागाइँले वर्तमान सरकार महिलालाई सुरक्षा दिन असफल भएको आरोप लगाएकी छन् । ‘वर्तमान सरकार महिलाको सुरक्षाबारे गम्भीर देखिएन । १९ दिनसम्म पनि लक्ष्मी नेपालीका हत्यारालाई पक्राउ गर्न सकेको छैन’, उनले भनिन्, ‘प्रहरी प्रसाशनले तदारुकताका साथ काम गर्न सकेन । सरकार त पूरै अपराधी र गुण्डाहरुको इशारामा चलेको जस्तो देखिन्छ ।’

कञ्चनपुरकी निर्मला पन्तको हत्या भएको डेढ महिना भइसक्दा पनि सरकारले केही गर्न नसकेको उनले बताइन् । ‘त्यत्रो आन्दोलन भयो । अर्को बालकमाथि गोली प्रहार गरियो र उनको ज्यानै गयो’, उनले भनिन्, ‘आजका दिनसम्म अपराधीलाई पक्राउ गरेर सार्वजनिक गर्न सकेको छैन ।’ 

स्थानीय बासिन्दा विष्णु सापकोटाले बलात्कारका घट्ना अपराधप्रथाको रुपमा विकास हुन थालेको बताए । ‘हाम्रो देशमा बलात्कारका घटनाहरुले उग्ररुप लिदै छन् । दोषीलाई सत्ता र शक्तिको आडमा उन्मुक्ति दिने काम भइरहेको छ’, उनले भने, ‘लक्ष्मीका हत्यारालाई कुनैपनि हालतमा पक्राउ गरि हदैसम्मको कारबाही गर्न जोडदार माग गर्दछु ।’

यस्तो हो घटना 

परिवारका अनुसार मृतक लक्ष्मी भदौ ७ गते दिउँसो ४ बजेदेखि एक्कासी सम्पर्कविहीन भएकी थिइन् । मृतकका बुवा तुलामानका अनुसार भदौ ७ गतेबाट सम्पर्कविहीन भएकी छोरी भदौ १५ गते काठमाडौं–३ स्थित बसुन्धरास्थित स्पिड गेष्ट हाउसको कोठा नं. १०१ मृत भेटिएकी थिइन् । 

त्यसपछि पीडित परिवारले घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारबाही माग गरेर भदौ १६ गते महानगरीय प्रहरी बृत्त महारजगञ्जमा जाहेरी दिएको थियो । प्रहरीले लक्ष्मीको शव पोस्टमार्टम गरिसक्दा पनि अपराधी सार्वजनिक गर्न नसक्दा चिन्ता बढेको परिवारले जनाएको छ । पीडित परिवारले दोषीलाई चाँडै पत्ता लगाइ न्याय दिन पनि अपिल गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.