पाल्पामा आगलागी भयावह बन्दै, १८ जना शंकास्पद व्यक्ति पक्राउ
तानसेन : पाल्पामा वैशाख महिनामा आगलागीको घटना बढेको छ। हालसम्म पाल्पामा २ हजार ८ सय हेक्टर वनजंगल आगलागी भएको छ। एक महिनामा पाल्पामा १ सय २० स्थानमा आगलागी भएको छ।
पाल्पाको सबैभन्दा तिनाउँ गाउँपालिकाको जंगल र सबैभन्दा निस्दी गाउँपालिकामा आगलागी भएको डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकारी संयोग बस्नेतले जानकारी दिए। सूचना अधिकारी बस्नेतका अनुसार तिनाउ गाउँपालिकाको २५ स्थानमा लागेको आगलागी ९९० हेक्टर वनजंगल डढेर नष्ट भएको छ।
तानसेन नगरपालिकाको सय स्थानमा आगलागी भई ४६५ हेक्टर जंगल डढेको छ। बगनासकाली गाउँपालिकामा ६ स्थानमा लागेको आगोबाट १ सय हेक्टर जंगल सखाप भएको छ। रामपुर नगरपालिकामा १२ स्थानमा लागेको आगोबाट २८६ हेक्टर जंगल डढेलोमा परेको छ। रिब्दिकोटमा १२ स्थानमा लागेको आगोले २६० हेक्टर क्षेत्रमा डढेलो फैलिएर नष्ट भएको छ।
यसैगरी माथाँगढी गाउँपालिकामा १० स्थानमा लागेको आगोले २४१ हेक्टर क्षेत्रमा आगलागी भएको छ। रैनादेवी छहरा गाउँपालिकामा ८ स्थानमा लागेको आगोले ५० हेक्टरमा क्षेत्र जलेको छ। निस्दी गाउँपालिकाको ४ स्थानमा लागेको आगोबाट २३ हेक्टर क्षेत्र जलेको छ। रम्भा गाउँपालिकाको ४ स्थानमा लागेको आगोबाट १३३ हेक्टर क्षेत्र जलेको छ।
आगलागीका घटनाहरूमा मानवीय क्षति हुन नदिन डिभिजन वन कार्यालय पाल्पाले सवारी साधनसहित स्पेसल अग्नी नियन्त्रण समूह परिचालन गर्दै आए पनि पाल्पामा बढी सल्लाको वन भएकाले आगलागीका घटनामा नियन्त्रण हुन नसकेको डिभिजन वन कार्यालय पाल्पाका डिभिजन प्रमुख नारायणदेव भट्टराईले बताए।
आगलागी परी यसवर्ष ३ जना मानिस घाइते भएका छन्। १२ वटा घर र १८ वटा गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ। ९ वटा भैँसी, २५ वटा बाख्रा, एक वटा गोरु र १ वटा गाई जलेका छन्। आगलागी घटनामा शंकास्पद व्यक्तिहरूलाई प्रहरी पक्राउ गर्दै आएको छ।
हालसम्म १८ जना व्यक्तिहरू पक्राउ परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दले बताए। उनका अनुसार पक्राउ परेकाहरूलाई सोधपुछ गर्ने काम भइरहेको छ।
आगलागी नियन्त्रण गर्न प्रहरी २४ सै घण्टा अलटमा बस्ने गरेको, स्थानीयवासी, प्रहरी, सेना, सशस्त्र, वन कार्यालयका अग्नी नियन्त्रक टोलीहरू परिचालित हुँदै आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्दले बताए।
पाल्पामा सल्लाको जंगलमा बढी आगलागी भएको र पटक पटक लाग्ने गरेको छ। आगलागीबाट मानिसहरू घाइते भएको, धनको ठूलो क्षति भएको भौतिक तथा जैविक विविधता नष्ट भएको, चराचुङ्गी, किरा फट्यांग्राको मृत्यु भएको, कयौ जंगली जनावरको मृत्यु भएको, जंगल जनावर ज्यान जोगाउनका लागि मानव बस्तीमा प्रवेश गरेको डिभिजन वन कार्यालय पाल्पाका अधिकृत यमलाल पोखरेलले बताए।
लामो समयदेखिको खडेरी र हालसम्म पनि पानी नपरेकाले आगलागीका घटनाहरू बढेका छन्। पाल्पा जिल्लामा तानसेन नगरपालिकाको मात्र दमकल रहेको छ भने अन्य ९ पालिकाहरू आगलागी हुँदा एउटा दमकलमै निर्भर रहनु परेको छ।
प्रतिक्रिया दिनुहोस !