नेकपाका सांसद भन्छन् : जनयुद्धमा हात गुमाएँ, कालापानीमा जीवन गुमाउन तयार छु
काठमाडौं : नेपालको निसान छापमा कालापानी गायब भएको विषयलार्इ सांसदहरूले चर्कोरूपमा उठाएका छन् ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीकै सांसदहरूले नक्सामा कालापानी हटाइएकोमा विरोध गरेका हुन् । नेकपाका सांसद महेशकुमार महराले कालापानीमा गएर सीमारक्षाका लागि आफू लड्न तयार रहेको समेत बताएका छन् ।
उनले राष्ट्रिय सभाको मंगलबारको बैठकमा बोल्दै आफु फेरि पनि सिमानामा लड्न तयार रहेको बताए । ‘हाम्रो नक्साबाट कालापानी हटाइएको छ। अब हामी सुस्ता र कालापानीमा गएर लड्नु पर्छ', उनले भने,‘जनयुद्धमा मैले एउटा हात गुमाएको छु, अझै पनि गोलीका छर्रा शरिरभित्र छन् । म कालापानी बचाउन त्यहाँ गएर बाँकी रहेको जीवन दिन तयार छु, राष्ट्र र राष्ट्रिय स्वाभिमानका लागि लड्न तयार छु ।’
मन्त्रालयदेखि सरकारी कार्यालयले प्रयोग गर्ने नेपालको नक्सामा नेपाली भूभागमा पर्ने दार्चुलाको कालापानी समेटिएको छैन । भारतले प्रायोजितरुपमा कालापानी नभएको नक्सा नेपाली बजारमा छ्याप्पछ्याप्ती परेको छ ।
लिम्पियाधुरा पनि गायब
नक्सा र निसान छापमा कालापानीको ६ हजार हेक्टर बढी नेपाली भूमि नै गायब छ । भारतले कालापानीमा लामो समयदेखि सेना राखेर नेपाली भूमि कब्जा गर्दै आएको छ । यता नेपालकै नापी विभागले बनाएको नक्सामा पनि लिम्पियाधुरा गायब छ ।
विभागीय मन्त्रालय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आधिकारिक नक्सा प्रयोग गर्न सबै मन्त्रालयलाई निर्देशन गरेको छ ।
सीमाविद बुद्धिनारायण श्रेष्ठ भारतबाट नेपाली नक्सा ल्याउने कार्य पूर्णरुप प्रतिबन्ध लगाउनु पर्ने बताउँछन् । कालापानी र लिपुलेकका साथै लिम्पियाधुरा पनि नेपालकै भूभाग भएकाले कुटनीतिक रुपमा यो समस्या समाधान गर्नुपर्ने उनले बताए ।
भारतले लामो समयदेखि व्यास-१ कालापानी, लिपुलेक र लिम्पियाधुरामा कब्जा गरिरहेको छ । सीमासम्बन्धी अध्येता रतन भण्डारी नेपालकै सरकारको कमजोरीका कारण भारतले नेपाली भूभाग मिचिरहेको बताउँछन् । उनले लिम्पियाधुरा पनि नेपालकै भूभाग हुँदाहुँदै नेपालको आधिकारिक नक्साबाट हटाउनु दुर्भाग्यपूर्ण रहेको बताए ।
भिडियो