भक्तपुरका खानी खुल्ने

भक्तपुरका खानी खुल्ने

भक्तपुर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाइल लगेपछि बन्द भएका भक्तपुरका बालुवा, ढुंगा र पांगो माटोलगायत खानी खुल्ने भएका छन्। तत्कालीन जिल्ला विकास समिति र खानी तथा भूगर्भ विभागमा दर्ता भई करिब चार वर्ष बन्द भएका जिल्लाका खानी खुल्ने भएका हुन्।

भक्तपुरमा २६ वटा बालुवा, ढुंगा तथा पांगोका खानी छन्। खानी अनियमित रूपमा चलेको उजुरीका आधारमा तिनै खानीका फाइल अख्तियारले कब्जामा लिएको थियो। फाइल लगेको करिब चार वर्षपछि अख्तियारले ती फाइल हालको जिल्ला समन्वय समितिलाई फिर्ता दिएपछि खानी सञ्चालनको बाटो खुलेको हो।

भक्तपुरमा रहेका ती सबै खानी चाँगुनारायण नगरपालिका भित्र पर्दछन्। त्यसैले अख्तियारले फाइल फिर्ता गरेलगत्तै चाँगुनारायण नपाले पहिलेका खानी सञ्चालकलाई आधिकारिक कागजात नपामा उपलब्ध गराउन सूचना जारी गरेको छ।

चाँगुनारायण नपाका प्रमुख सोमप्रसाद मि श्रले दसैंपछि खानी सञ्चालन स्वीकृति दिने गरी सञ्चालकका लागि सूचना प्रकाशित गरिएको जानकारी दिए। नगरसभाले नै चाँगुनारायण भित्रका पूर्ववत खानी सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको उनले जानकारी दिए।

मि श्रका अनुसार नगरसभाले खानी सञ्चालनसम्बन्धी कार्यविधिसमेत तयार गरिसकेको छ। यस्तै खानी सञ्चालनमा आएपछि लाग्ने करसमेत नगरसभाले निर्णय गरिसकेको उनी बताउँछन्। ‘पूर्ववत खानी सञ्चालन गर्न दिने गरी सूचना सार्वजनिक गरेका छौं’, उनले भने, ‘नपाले खानी सञ्चालन कार्यविधिसमेत बनाइसकेका छौं। उक्त कार्यविधिमा टेकेर दसैंलगत्तै नपाभित्रका खानी सञ्चालन स्वीकृति दिनसक्छौं।’


तत्कालीन जिल्ला विकास समिति र खानी तथा भूगर्भ विभागमा दर्ता भई करिब चार वर्ष बन्द भएका जिल्लाका खानी खुल्ने भएका हुन्।

प्रमुख मि श्रले नपाको सूचनाअनुसार सम्पर्कमा आएका व्यवसायीको कागजातलगायत भूगर्भ तथा खानी विभाग र जिल्ला समन्वय समितिको अभिलेखमा दाँजिने बताए। स्वीकृत खानीमा बालुवा, ढुंगा, पांगो माटोको प्रशस्त भण्डारण भए नभएको, हालको स्थलगत अवस्थालगायत सबै हेरिने उनले स्पष्ट पारे। खानी नखुले पनि पुराना खानीबाट बालुवा चोरी भने रोकिएको थिएन। बालुवा चोरी प्रहरी प्रशासनको मात्रै होइन पछिल्लो समय नगरपालिका र खानी व्यवसायीका लागि समेत टाउको दुखाइको विषय बन्दै आएको छ।

खानी व्यवसायी उत्साही

चोरी निकासीकै बीच बालुवालगायत खानी खुल्ने देखिएपछि व्यवसायी उत्साहित भएका छन्। यहाँका खानी व्यवसायीले स्थानीय तहमा जनप्रतिनिधि बहाली भएपछि पटकपटक खानी सञ्चालन गर्ने वातावरण बनाइदिन माग गर्दै आएका थिए। उनीहरूले पटकपटक जनप्रतिनिधिलाई ज्ञापनपत्र दिँदै खानी सञ्चालन स्वीकृति दिन भन्दै आएका थिए।

चोरी निकासीले आफ्नो आम्दानी गुमे पनि खानी सञ्चालनमा आए आफूहरूले बैंकबाट लिँदै आएको लाखौं रुपैयाँको ऋणबाट मुक्ति पाउन सकिने उनीहरूको भनाइ छ।

बालुवाखानी व्यवसायी विदुर आलेले आफूहरू अन्यायमा पर्दै आएकोमा ढिलै भए पनि चाँगुनारायण नपाले न्याय दिन लागेकामा आभार व्यक्त गरे।

बालुवालगायत खानी चल्नै नदिने ठूलो चलखेल र षड्यन्त्रबीच खानी सञ्चालनमा आउने लागेको उनको भनाइ थियो। खानी सञ्चालनमा आए व्यवसायीको करोडौं डुब्नबाट जोगिने अर्का व्यवसायी राजेन्द्रप्रसाद आगञ्जा बताउँछन्। उनका अनुसार खानी सञ्चालन नभए पनि व्यवसायीले लगानी गरिहनुपर्ने बाध्यता थियो।

कति वटा खुल्लान् ?

व्यवसायीका अनुसार २६ वटा खानीमा मुस्किलले १५ वटा पुनः सञ्चालनमा आउने सम्भावना छ। उनीहरूले नपाले स्वीकृति दिएको महिनादिनमै खानीले बालुवा बजार पठाउने बताए। तर कति खानीमा स्रोत सिद्धिसकेका छन्। कति खानी भौगोलिक रूपमा सञ्चालनका लागि उपयुक्त छैनन्। चाँगुनारायण नपाले भने बढीमा आठवटा खानी सञ्चालनमा आउने अनुमान गरेको छ।

बालुवा सस्तो हुने भक्तपुरका बालुवा खानी सञ्चालनमा आएपछि बालुवा सस्तो हुने व्यवसायी बताउँछन्। उनीहरू आफ्नो खानीको बालुवा अहिलेको बजारमा रहेको भाउअनुसार महँगो नहुने दाबी गर्छन्। ‘हाम्रो खानी खुले बालुवा अहिलेको चलेको भाउभन्दा धेरै सस्तो हुन्छ’, व्यवसायी आलेले भने, ‘सस्तो भनेर पुरानै भाउमा त पाइँदैन। अहिले नपाको कर पनि बढी छ। त्यसमाथि प्रदेशले पनि कर लगाउने भनेको छ।’ बालुवा महँगो हुँदा घर नबनाइकन बस्ने सर्वसाधारण पनि त्यत्तिकै छन्। पैसा तिर्दा पनि अहिले भनेको बेला बालुवा पाइँदैन। त्यसमाथि बजारमा गुणस्तरहीन बालुवामात्रै पाइँदा अपेक्षाकृत भूकम्पपछिको पुनर्निर्माण हुन सकेको छैन।

एउटा खानीमै दुई सय मजदुर

व्यवसायीका अनुसार एउटा बालुवा खानी सञ्चालनमा ल्याउन बढीमा दुई सय मजदुर आवश्यक पर्छ। स्वदेशमै हजारौंको संख्यामा रोजगारी दिने खानीलाई सरकार तथा स्थानीय तहले बेवास्ता गर्दै आएको व्यवसायीको गुनासो थियो। भक्तपुरमा सञ्चालित खानीमा प्रयोग हुने उपकरण तथा गाडीमा मात्रै करिब एक हजार पाँच सय चालक र सहचालकले काम पाइरहेको व्यवसायी आले बताउँछन्।

 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.