विराटनगर जुटमिल्स पुनः सञ्चालन
विराटनगर : मुलुकको पहिलो उद्योग विराटनगर जुट मिल्स सञ्चालनमा आएको छ। गत माघ महिनामा परीक्षण उत्पादन गरेको मिल्सले मंगलबारदेखि व्यावसायिक उत्पादन थालेको हो।
जुट मिल्सका पुराना र जीर्ण भएका मेसिन मर्मत गरेर फेरि सञ्चालन गरिएको हो। अहिले दैनिक ६ टन उत्पादन सुुरु भएको छ। मिल्स सञ्चालक समितिका अध्यक्ष वसन्त वनले नेपाल सरकारको सहयोग र समितिको पहलमा मिल्सलाई पूर्णक्षमतामा सञ्चालन गर्ने तयारी भएको जानकारी दिए। उनले भने, ‘अहिले दैनिक ६ टन उत्पादन गर्ने र मागअनुसार त्यसलाई बढाएर पूर्णक्षमतामा दैनिक २० टन पु¥याइनेछ।’ वनले मिल्समा जीर्ण रहेका मेसिनको मर्मत, कच्चा जुट, कामदार तथा अन्य व्यवस्थापकीय आवश्यकताको व्यवस्थापनपछि मिल्स पुनः सञ्चालन गरिएको बताए। भारतको कोलकात्ताबाट ल्याइएका जुट विशेषज्ञको टोली उत्पादन, परामर्श र बजारीकरणमा सहयोग गरिरहेको छ।
पहिलो चरणमा मिलबाट जुटको सुत्ली र भारतीय बजारको मागअनुसार बोरा उत्पादन थाल्ने व्यवस्थापनले तयारी गरेको छ। अध्यक्ष वन भन्छन्,‘भारतबाट आएका प्राविधिकसहितको परामर्शदाताले समेत उत्पादन व्यवस्थापनमा सहयोग गरेकाले थप सहज भएको छ। हाललाई उत्पादनको परिमाण हेरेर कामदार मगाइएको र बढ्दै जाँदा संख्या थप गरिनेछ।’ अध्यक्ष वनले मिल्स सञ्चालनमा आएपछि पहिले यससँग जोडिएका धेरै कामदारले रोजगारीसमेत पाउने बताएका छन्। मिल्सले कामदारको सूची बनाएर मिल्स सञ्चालन क्षमता बढ्दै जाँदा उनीहरूलाई रोजगारी दिँदै जाने योजना बनाएको छ।
जुट मिल्सका पुराना र जीर्ण भएका मेसिन मर्मत गरेर फेरि सञ्चालन गरिएको हो।
११ केभीएको विद्युत् लाइन काटिएपछि समस्या भएकामा नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता भइ मासिक ६ लाख ८० हजार रुपैयाँ भुक्तानी गर्ने गरी मिल्समा जडान भएको छ। मिल्सले मासिक पाँच लाख रुपैयाँ भुक्तानी गर्ने सर्त राखेकामा त्यसलाई प्राधिकरणले नमानेपछि नयाँ सम्झौता भएको बताइएको छ। मिल्सलाई २४ घन्टा नै पर्याप्त विद्युत् उपलब्ध हुने गरी ३३ केभीए प्रसारण लाइन जोड्न सरकारसँग समेत माग गर्दै आएका छ। अध्यक्ष वनले भने, ‘दिगो व्यवस्थापन गर्दै अब मागअनुसार उत्पादन गर्ने योजनासाथ अघि बढेका छौं।’
नेपालका कृष्णप्रसाद कोइराला र रामलाल गोल्छासमेतका सहयोगमा भारतका उद्योगी राधाकृष्ण चमडियाले १९९३ मिल्सको स्थापना गरेका थिए। यहीँबाट नेपालको औद्योगिक इतिहास सुरु भएको थियो भने मजदुर आन्दोलन पनि। विराटनगर जुटमिल्स क्षेत्रलाई संग्रहालयको रूपमा विकास गर्न सरकारले तयारी गर्ने यसअघि मिल्सको निरीक्षणमा आएको उद्योग मन्त्री मातृका यादवले जानकारी गराएका थिए। मुलुककै पहिलो उद्योग सञ्चालन गर्न व्यवस्थापनले कुनै कसर बाँकी नराख्ने अध्यक्ष वसन्त वन बताउँछन्।००००००