महिनपिच्छे दुई बालिका बलात्कृत
नेपालगन्ज : १० साउनमा राप्ती सोनारी फत्तेपुरमा घाँस काट्न गएकी ११ वर्षीया बालिका स्थानीय ५६ वर्षका प्रभुप्रसाद थारुबाट बलात्कृत भइन् । इलाका प्रहरी कार्यालय भगवानपुरले अनुसन्धान गरी थारुलाई जिल्ला कारागार बाँकेमा पुर्पक्षका लागि थुनामा राखेको इन्स्पेक्टर भरतसिंह राठोरले जानकारी दिए । नेपालगन्ज उपमहानगरको गणेशपुरमा १५ वर्षीया बालिका तीन÷चार महिनादेखि झारफुक गर्ने साइबाबा बताउने ४६ वर्षे व्यक्तिबाट बलात्कारको शिकार भइन् । जिल्ला प्रहरी कार्यालय बाँकेले साइबाबालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
भदौ दोस्रो साता कोहलपुर नगरपालिकामा १३ वर्षीया आफ्नै नातिनीलाई बलात्कार गर्ने हजुरबुवालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय कोहलपुरले अनुसन्धान गरिरहेको छ । बालिका बलात्कृत भएका यी त प्रतिनिधिमूलक घटना मात्र हुन् । प्रहरी कार्यालयलाई दिइएको जाहेरी र जिल्ला अदालत बाँकेमा दायर भएका मुद्धाका आधारमा हरेक महिना झन्डै नौ जना महिला बलात्कृत भइरहेका छन्, जसमा बालिकाको संख्या दुई छ ।
जिल्ला प्रहरी कार्यालय नेपालगन्जमा चार, इलाका प्रहरी कार्यालय कोहलपुरमा तीन र इलाका प्रहरी कार्यालय भगवानपुरमा एक गरी साउन र भदौको तेस्रो सातासम्म ९ जना बालिका बलात्कृत भए । कोहलपुरमा सहोदर हजुरबुवा र काकासमेत अभियुक्त रहेको कार्यालयका सूचना अधिकारी मानबहादुर बिसीले जानकारी दिए । यो अवधिमा जिल्ला भर बलात्कृत हुने महिलाको संख्या १९ पुगेको छ । जिप्रकामा ९, इप्रका कोहलपुरमा ७ र भगवानपुरमा ३ वटा बलात्कारका जाहेरी परेको कार्यालयले जनाएको छ ।
जिल्लामा अघिल्लो आर्थिक वर्षको तथ्यांकमा हरेक महिना दुई जना बालिका बलात्कृत भएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका ३५ जाहेरीमध्ये बालिका बलात्कार र बलात्कार उद्योगका गरी १६ वटा मुद्दा छन् । तीमध्ये १६ वर्ष मुनीका ७ जनालाई करणी गरिएको कार्यालयका मुद्दा शाखाका इन्सपेक्टर रणबहादुर विष्टले जानकारी दिए ।
इप्रका कोहलपुरमा गतवर्ष मात्र २१ वटा करणीका जाहेरी परेकोमा १० जना बालिका थिए । जसमध्ये ७ जना अभियुक्त नै १० वर्ष मुनीका रहेको कार्यालयका सूचना अधिकारी मानबहादुर बिसीले बताए । ‘बालिका बलात्कारको अभियोगमा ७ जना बालक पनि अभियुक्त छन्’, बिसीले भने ।
जिल्ला अदालत बाँकेमा गत वर्ष एक सय तीन वटा करणीका मुद्दा दर्ता भएको अदालतका सूचना अधिकारी धनसिंह गिरीले जानकारी दिए । उनका अनुसार तीमध्ये ५९ वटा मात्र फछ्यौट भए । ४४ वटा मुद्दा अmझै बाँकी छन् । अदालतको तथ्यांकका आधारमा हरेक महिना झन्डै नौ जना महिला बलात्कारको शिकार भएको देखिन्छ । यो वर्षको साउनमा ९ वटा करणी र २ वटा करणी उद्योगका मुद्दा दायर भएका छन् ।
बलात्कार मुद्दामा पीडित बालिकाको पक्षमा वकालत गरेका अधिवक्ता वसन्त गौतम पछिल्लो समय बावुआमाको देखासिकी र बाबुले मोबाइलमा राखेको अश्लील भिडियो हेरेर बालक बलात्कारजन्य क्रियाकलापमा संलग्न रहेको भेटिएको बताउँछन् । ‘गत वर्ष मात्र ६÷७ वर्षका बालकलाई बयान लिएर छोडिएको थियो । उनीहरुले बावुआमाको देखासिकी गरेको बताएका थिए’, उनले भने ।
मुलुकी अपराध (संहिता) २०७४ ले जबरजस्ती करणी अभियोगमा ६ महिनादेखी आजिवन काराबासको सजाय गर्न सक्ने व्यवस्था गरेको छ । विगतमा १६ वर्षभन्दा मुनीका बालिकालाई सहमतिमै यौन सम्पर्क गरे पनि करणीको मुद्दा लाग्थ्यो भने यो संहिताले १८ वर्षको उमेर हद तोकेको छ । १० वर्ष मुनीका बालिकालाई बलात्कार गर्दा २० वर्ष कारावासको सजाय तोकिएको अधिवक्ता गौतमले बताए । ‘बलात्कार गरी हत्या गरेमा आजिवन काराबासको सजाय हुन्छ’, उनले भने ।