तीजमा घर-माइती गर्नेलाई सकस

तीजमा घर-माइती गर्नेलाई सकस

धादिङ : नीलकण्ठ नगरपालिका ८ की दुर्गादेवी कोइराला वडा नम्बर ९ मा रहेको माइत जान नसकेर यसपालीको तीजमा घरमै बसिन्। शारीरिक रूपमा बिरामी भएकी उनले भनिन्, ‘हिँडेर जान सक्दिनँ, दिनकै पानी परिरहेको छ। बाटो बिग्रिएर गाडी चल्दैनन्।’

दुर्गाजस्तै घर-माइत गर्ने सबै चेलीलाई यतिबेला ग्रामीण सडक बाधा बनेको छ। सवारी-साधन चल्ने त परको कुरो, सामान बोक्ने ट्याक्टर र फोर ह्विल गाडीका कारण बाटोमा हिँडेरसमेत जान गाह्रो भएको छ। धादिङवेशीबाट ग्रामीण क्षेत्रमा चल्ने धादिङवेशी-किन्ताङफेदी, धादिङवेशी-सल्यानटार, धादिङवेशी-मैदी, खरी, नलाङ ढोला सबै ठाउँमा जाने सडकमा मालबाहक फोर ह्विल ट्रक र ट्याक्टर जबरजस्ती चलेका छन् भने यात्रुबाहक सवारीसाधन भने पूर्ण रूपमा ठप्प छन्। भदौको अन्तिमतिर तीज रहे पनि लगातार वर्षा भएको र समयमै ग्रामीण सडकहरू मर्मत नहुँदा घर-माइत गर्ने चेलीहरूले निकै कष्ट बेहोर्नुपरेको छ। साथमा स-साना नानीबाबु र त्यसमाथि झोला बोकर हिलाम्ये सडकमा पैदल यात्रा गरेर पनि केही चेली माइत गइरहेका छन्।

टाढा टाढा माइत हुने फोर ह्विल, ट्रक आदि रिजर्भ गरेर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। ज्वालामुखी गाउँपालिकास्थित सुनखानीस्थित माइत हिँडेकी र सदरमुकाम धादिङवेशीको पुछारबजारमा भेटिएकी सानु शाक्यले भनिन्, ‘हिँड्ने बानी हराइसक्यो, सदरमुकामदेखि १५ किलोमिटर दूरीमा छ तर गाडी चल्दैन। बाटोमा हिलो भएर हिँडिसाध्य छैन। माइत जान लागेका चेलीबेटी मिलेर स्वराज ट्रक रिजर्भ गर्न लागेका छौं।’

सडक स्तर उन्नति गर्ने भनेर लथालिंग बनाएर छोडिदिँदा चाडपर्व नजिकिएसँगै सर्वसाधारणलाई निकै सकस पर्न थालेको छ। सदरमुकाम आसपासमा आइतबारदेखि लगातार पानी परिरहेको छ। चाडबाडका लागि खाद्यान्न बोकर गाउँ गएका ट्रक पनि बीच बाटोमै बिग्रिएर अड्किएका छन्। फोर ह्विल ट्रकका चालक रामकुमार श्रेष्ठले भने, ‘मालसमान बोकेर गयो भने गाडी फस्दा पनि कुरेर बसिरहन पर्‍यो, मान्छे बोक्यो भने गाडी जान सकेन हिँडेर जानुस् त भन्न पाइयो।’

सवारी साधन नपाएपछि अलमलमा पर्दै माइत हिडेका महिलाहरु । तस्बिर ः मनीष दुवाडी 

सबै ग्रामिण क्षेत्रका बाटो लथालिंग हुँदा पनि कुनै स्थानीय सरकारले चाडबाडलक्षित गरेर बाटो मर्मत गरेका छैनन्। सदरमुकामबाट उत्तरी क्षेत्रमा जाने दुई ठुला सडक पीच नै गर्ने ठेक्का लागेर निर्माणको क्रममा रहे पनि वर्षाले अहिले केही काम हुन सकेको छैन। दिनहुँ लगातार पानी परिरहेकाले बाटो हिलाम्ये हुँदा बच्चा र झोला बोकेर पैदल हिँड्नसमेत नसकिने अवस्था छ। नीलकण्ठ नगरपालिका ८ साँघुटारमा होटल व्यवसायीले व्यंग्य गर्दै भने, ‘हिलाम्ये बाटोमा कतिजना चिप्लेर लडिसकेका छन्, माइत पुग्दा त दर खान आएकी चेली बाटामै दारु खाएर पो आइछन् कि भन्न बेर छैन।’

विशेषगरी सहरबाट ग्रामीण क्षेत्रमा माइत जानेहरू सदरमुकाम आइपुगेर समस्यामा परेका छन्। सल्यानटार माइत जान भनेर काठमाडौंदेखि आएकी एक महिलाले भनिन्, ‘माइत नगएको धेरै भएको थियो, बस नचले पनि ट्रक पाइएला भनेर आएँ। ट्रकसमेत नजाने भन्दैछ, अब न फर्किनु न माइत जानु पो भएँ।’ जोखिम मोलेर यात्रु बोकेका ट्रकले भने भाडा साविकको भन्दा चार गुणा बढी लिने गरेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.