क्रसर उद्योगका कारण जोखिममा गाउँ

क्रसर उद्योगका कारण जोखिममा गाउँ

गौशाला : क्रसर व्यवसायीहरूले अवैध रूपमा खोलाबाट बालुवा गिट्टी झिकेपछि महोत्तरीको गौशाला नगरपालिकाको थापा टोल जोखिममा परेको छ ।

बाढी, पहिरोले जोखिम बढ्ने भएपछि सरकारले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए पनि गौशाला बजार पश्चिम मराह खोला नजिकै खोलिएका क्रसरहरूले रातको समयमा नदीजन्य पदार्थको अवैध उत्खनन नछाडेका थापा टोलका स्थानीय सुमित मगरले बताए । ‘राति १० बजेपछि क्रसरवलाहरूले ट्र्याक्टर, एक्स्काभेटर लिएर खोला खन्न जान्छन् ।’ उनले यस्तो कार्य राति २ बजेसम्म हुने बताए ।

यसरी रातको समयमा नदीजन्य पदार्थ बोकेर सवारी साधनहरू हुइकिँदा त्यसको आवजले स्थानीयहरू सुत्नसमेत नसकेका स्थानीय ललिता थापाले बताइन् । उनले भनिन्, ‘रातभर घर अगाडिबाट गाडी कुद्छ, बच्चाहरू सुत्नै सक्दैनन् ।’ ठूला यन्त्र प्रयोग गरी नदीजन्य पदार्थ उत्खननमा सरकारले रोक लगाए पनि क्रसर व्यवसायीहरूले भने अटेर गर्दै आएका छन् ।

मराह खोलाको पश्चिम डिलमा सञ्चालित सिद्धार्थ क्रसर उद्योग र जय माँ जल्पा बालुवा गिट्टी वासिङ सेन्टरले सरकारले तोकेको मापदण्ड मिचेर खोला खन्ने गरेको स्थानीय तहले आरोप लगाएको छ । सिद्धार्थ क्रसर गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोका भतिजा प्रमोदको हो । प्रमोदकै क्रसर उद्योगमा उद्योग वाणिज्य संघ गौशालाका अध्यक्ष राजाराम गिरीले सेयर हालेका छन् । पहुँचको बलमा प्रमोद र राजाराम गिरीसहितले सञ्चालन गरेको क्रसरबाट रातारात खोला उत्खनन भइरहेको पाइएको छ । उनीहरूले स्थानीय प्रहरी प्रशासनलाई हातमा लिएर अवैध रूपमा खोलाबाट बालुवा गिट्टी झिक्ने गरेका त्यहाँका स्थानीयले आरोप लगाएका छन् ।

‘नदी उत्खननले हाम्रो खेतबारी धरापमा प¥यो’, ६५ बर्से नथु आलेले दुःखेसो पोख्दै भने, ‘खोलाको डिलबाटै बालुवा गिट्टी नउठाइदिनुस् भन्दा क्रसरवालहरू हामीले भनेको सुन्दैनन् । खोलाले खेत कटान गरेर सत्यानास गरिरहेको छ ।’ यसपालिको बाढीले स्थानीयको पाँच बिघा बालीसहितको जग्गा कटान गरेको उनले सुनाए । जथाभावी उत्खननले मराह खोलामा पलाएको पानीसमेत सुक्न थालेको छ ।

अन्य खानेपानीका स्रोतहरू पनि सुक्दै गएका छन् । ‘प्राकृतिक स्रोत दोहनले पानीको मुहान पतालमा पुग्दै छ’, स्थानीय ढालबहादुर छाङले चिन्ता व्यक्त गर्दै भने, ‘पानीको मुहान सुके कहाँबाट ल्याउने ।’ उनले पानीको स्रोत सुक्दै गएकाले सिँचाइमा समेत समस्या परेको बताए । स्थानीयले क्रसर व्यवसायीले अवैध रूपमा खोला उत्खनन गरेको आरोप लगाइरहँदा क्रसर सञ्चालक प्रमोद महतो भने आफूले खोला नखनेको दाबी गर्छन् । भन्छन्, ‘साउन महिनामा मात्र खोलाबाट बालुवा गिट्टी उठाएका थियौं, त्यसयता खोला खनेका छैनौं ।’ गौशाला नगरपालिका मेयर महतोले क्रसरवलाहरूले खोला खन्ने गरेको जानकारी आफूकहाँ नआएाको बताए । उनले भने, ‘अनुगमनमा जान्छौं । तर खोलामा भेटिँदैनन् ।’ तर स्थानीयहरूले भने प्रशासन र नगरपालिकाले दिउँसो मात्र अनुगमन गर्ने गरेको बताए ।

तर मेयर महतोले अवैध उत्खनन भए आफन्त वा जोसकैलाई कारवाही गरिने आश्वासन दिए । ‘प्रहरी प्रशासनले कमिसन खाएर खोला उत्खननमा छुट दिइएको कुरा मकहाँ आएको छ’, मेयर महतोले भने, ‘यसो नगरिदिन भनेको छु । प्रहरी प्रशासनलाई खोलामा निगरानी गर्न आग्रह गरेका छौं ।’ खोला खनिरहेका बेलामा सूचना दिन गाउँलेलाई उनले आग्राह गरेका छन् ।

गौशालामा इलाका प्रशासन र प्रहरी कार्यालय भए पनि त्यहाँका प्रमुखले नदी उत्खननमा खासै चासो नदिँदा थापाटोल जोखिममा पर्दै गएको हो । इलाका प्रहरी कार्यालय गौशालाका निमित्त प्रमुख प्रदीप भगतले प्रहरीले कमिसन लिएर खोला खन्न दिइरहेको कुरा पुष्टि गर्नुपर्ने बताए । उनले सूचना आएपछि मात्र अनुगमनमा जाने बताए । जिल्ला प्रहरी कार्यालय महोत्तरीले भने नदीजन्य पदार्थ उत्खननको विषय जिल्ला समन्वय समितिसँग सम्बन्धित रहेकाले त्यसको निगरानी पनि उसैले गर्नुपर्ने बताएको छ ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.