एफएनसीसीआई र उद्योगी-व्यापारीको सम्बन्ध चिसियो

एफएनसीसीआई र उद्योगी-व्यापारीको सम्बन्ध चिसियो

 विराटनगर : उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघसँग विराटनगरका दुई पुराना औद्योगिक तथा व्यवसायिक संगठनको सम्बन्ध चिसिएको छ।

औद्योगिक तथा व्यवसायिक क्षेत्रका समस्या र त्यसमा सुझाव दिने सम्बन्धमा नेपाल सरकारले गत साउन २७ गते कार्यदलका गठन गरेसँगै विवाद चर्किएको हो।

कार्यदलका सदस्यसमेत समावेश उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारीले बुधबार विराटनगरमा भेला गरी महासंघको पछिल्लो गतिविधिको आलोचना र टिप्पणी गरेका छन्।

 
प्रदेश १ का जिल्ला नगर उद्योग वाणिज्य संघको भेला भनिएको कार्यक्रममा निजी क्षेत्रले भोग्नु परेका समस्या र त्यसका निराकरणका उपायका सम्बन्धमा छलफल भएको थियो। तर, त्यसमा सहभागीले महासंघको पछिल्लो गतिविधिको आलोचना गरे। कार्यक्रमपछि प्रकाशित विज्ञप्तिमा महासंघको भूमिकाको टिप्पणीसमेत गरिएको छ।

नेपाल उद्योग वाणिज्य महासंघले उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेलाई भदौ ११ देखि आफ्नो आमाको देहावसन काज किरियामा बसेकै बखत कार्यदलको विषयलाई लएर स्पष्टीकरण सोधेको थियो। 

नेपाल सरकारसँग उद्योगी व्यवसायीका तर्फबाट लिएको चासो र त्यसमा कार्यदल गठन भई प्रकृया अगाडी बढेको अवस्थामा मातृशोकमा रहेको बेला समवेदना दिनु पर्नेमा उल्टै मानमर्दन गर्ने मनशाययुक्त भाषामा स्पष्टीकरण शैलीमा जानकारी माग गरेको भन्दै उद्योगी व्यवसायीले सर्वसम्मत खेद प्रस्ताव पारित गरेका छन्।
 
‘मातृशोकमा रहेको बेला समवेदना दिनु पर्नेमा उल्टै स्पष्टीकरण शैलीमा जानकारी माग गरेको पत्र पठाउनु अनुचित भएकोले खेद प्रस्ताव पारित गरिएको छ’, वाणिज्य संघहरुका तर्फबाट जारी विज्ञप्तीमा उल्लेख छ। 

विराटनगरका उद्योगी व्यवसायीले साउन १९ गते प्रधानमन्त्री केपी ओलीलाई भेटेर आफ्ना समस्या राखेका थिए। त्यसमा उद्योग संगठन र मोरङ व्यापार संघको तर्फबाट प्रधानमन्त्री समक्ष उद्योगको समस्यालगायत विषयमा प्रस्तुतिसमेत पेश भएको थियो। यसबारे महासंघलाई कुनै जानकारी गराइएको थिएन। यो भेटघाटमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालसहित विभिन्न मन्त्री, सचिव र सरकारका उच्च पदस्थ सहभागी थिए।

नेपाल उद्योग वाणिज्य महासंघको भूमिका सम्बन्धमा विगत केही दिनयता तल्लो स्तरका जिल्ला नगर उद्योग वाणिज्य संघ एवं उद्योगी व्यवसायीका समस्याहरुमा कुनै चासो नदिएको, भेदभावपूर्ण व्यवहार गरेको, राष्ट्रियस्तरमा असर पर्ने कुरामा कुनै राय सुझाव लिई सबैको भावनामा काम गर्न नसकेको हुंदा अबका दिनमा उद्योेग वाणिज्य महासंघले आफ्नो व्यवहार सच्याउनु पर्ने वाणिज्य संघहरुले माग गरेका छन्। अन्यथा जिल्ला नगर उद्योग वाणिज्य संघहरु अनुरोध मान्न बाध्य नहुने निर्णय गरिएको विज्ञप्तीमा जनाइएको छ। 

नेपाल सरकारबाट गठित कार्यदलको बैठक निकट भविष्यमा विराटनगरमा आयोजना गर्न समते पहल लिइएको छ। स्रोतका अनुसार महासंघलाई माइनस गरेर उद्योग संगठन र मोरङ व्यापार संघले सोझै प्रधानमन्त्रीसँग भेटघाट तथा समस्या राख्दै कार्यदल बनाएकोमा विवाद बढेको हो।

बैंकको चर्को व्याजदर लगायतका समस्याहरु तत्काल समाधान नभए चरणवद्ध रुपमा आन्दोलनमा जानुपर्ने सुझाव आएको हुंदा त्यसै अनुरुप कार्यक्रम अगाडि बढाउने, निर्णयको माइन्यूट कार्यदलका उपस्थित ३ जना सदस्य तथा उदयपुर उद्योग वाणिज्य संघका अध्यक्षले प्रमाणित गर्ने निर्णय गर्दै छलफल सकिएको थियो। विज्ञप्ति उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष पवन कुमार सारडा, दामक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल र उदयपुर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर खड्काले हस्ताक्षर गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.