केरुङसम्म रेलपुगेपछि नेपाल टाढा हुने छैन

केरुङसम्म रेलपुगेपछि नेपाल टाढा हुने छैन

चीनले तिब्बतलाई दक्षिण एसियासँग जोड्ने आरम्भ विन्दु र नेपाललाई त्यसको मुख्यद्वारको रूपमा लिएको छ। त्यही अवधारणा स्थापित गर्न चीन स्वशासित क्षेत्र तिब्बतमा ‘चौथो चीन-तिब्बत पर्यटन तथा सांस्कृतिक प्रदर्शनी’ आयोजना भयो। त्यसमा नेपालबाट विभिन्न क्षेत्रका फरक-फरक टोली सहभागी भए। ‘पर्वतीय सहकार्यका लागि बेल्ट एन्ड रोड फोरम’ कार्यक्रम प्रदर्शनीको साइडलाइनमा तिब्बतको अर्को सहर लिन्जीमा भयो। तिब्बतबारे जानकारी दिने र अब दुई वर्षमा तिब्बतमा निजी क्षेत्रको लगानी खुला गर्ने विषय पनि उठे। नेपाल-चीन सम्बन्ध, तिब्बतीय सहकार्य नेपालको पछिल्लो राजनीतिक अवस्था, रेलमार्ग र नाकालगायतका विषयमा जनकंग्रेस तिब्बतको स्थायी समिति उपाध्यक्ष र बाह्य सम्बन्ध एवं विदेश मामिला कार्यालयका सचिव चु चुन्हुयासँग ल्हासामा अन्नपूर्ण पोस्ट्का चन्द्रशेखर अधिकारीले गरेको कुराकानी :


तपाईंहरू नेपाललाई पुरानो मित्र भन्नुहुन्छ, सम्पर्कको आधार मानिने सीमा नाकालाई व्यवस्थित गर्नुभएको छैन। भूकम्पपछि बन्द भएको तातोपानी खुलेको छैन। उता, केरुङ पनि राम्रो सम्पर्क नाका बन्न सकेको छैन। यस्तो अवस्थामा नेपालले कसरी लिने ?

- हो, नेपाल हाम्रो पुरानो मित्र हो। हामीबीच ऐतिहासिक सम्बन्ध छ। यही सम्बन्धलाई थप बलियो बनाउन र समृद्धिमा सहकार्य गर्न हामी तयार छैाँ। तातोपानी सडक र नाकाबारे काम गरिरहेका छौं। काम निकै अघि बढेको छ। तातोपानी र केरुङ नाकामा रहेको हाम्रा मितेरी पुलहरूको पुनर्निर्माणको शिलान्न्यास आइतबार भइसकेको छ। त्यसमा हामी काम गरिरहेका छौं। सञ्जाल विस्तारको लक्ष्य लिएको चीनले यसलाई पनि व्यवस्थित बनाएर दीर्घकालीन सम्बन्धको सहकार्य गर्नेछ। यो हाम्रो सम्बन्ध सञ्जालको दीर्घकालीन सोचअनुरूप नै अघि बढेको छ।

नेपालीहरूले चीनसँग सुरक्षित सडक र व्यवस्थित नाकाको अपेक्षा गरिरहेका छन्। तपाईंहरूले त्यसमा ढिलाइ गर्नुभएको अनुभव भइरहेको छ, किन ?

- हामी चिनियाँ त्यसमा पनि तिब्बतका नागरिकहरू नेपाल र नेपालीसँग सहकार्य गरेरै अघि बढ्ने हो। हाम्रो निम्ति नेपाल दक्षिण एसियाको मूलद्वार हो। यो नेपाल र चीनको सम्बन्ध मात्र होइन, विश्वमा कैयन् मुलुक नहुँदै हाम्रो सम्बन्ध थियो। यसलाई परिष्कृत गर्दै विकासमा सहकार्य गर्नेछौं। दीर्घकालीन योजनाअनुरूप नै काम अघि बढेका छन्। सडक सञ्जाल र सम्पर्क विस्तार हुनेछ। तातोपानी नाका सञ्चालनमा ल्याउने विषयमा छलफल भइरहेको छ। यो पनि दीर्घकालीन अवधारणाअनुरूप नै सञ्चालनमा आउनेछ।

अब नेपाल चिनियाँ रेलबाट जोडिने सम्भावना कत्तिको छ ?

-निश्चित झैं छ। नेपाल र तिब्बतबीच सञ्जाल सम्पर्क बढाउन हामी आतुर छौं। यसमा सहकार्य गरिरहेका छौं। तपाईंका प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा हाम्रा राष्ट्रपति सी जिनपिङसमक्ष भएको कुराकानीले पनि यसलाई पुष्टि गर्छ। उच्चस्तरीय भ्रमणको संयुक्त वक्तव्यमा नै रेलमार्ग निर्माणबारे सम्झौता भएको छ। नेपालमा चीनको रेल आउने त्यहींबाट स्पष्ट हुन्छ। सहकार्य ‘बेल्ट एन्ड रोड इनिसियटिभ्स’ बाट नै अघि बढिरहेको छ। उक्त परियोजनामा नेपालले सहमति जनाएर हिस्सेदारी लिइसकेको छ। थप विकास मोडेलमा छलफल हुनेछ र हाम्रोतर्पmबाट सहयोग प्रदान गरिनेछ। हामीले पुरानो मित्रसँग सहकार्य गरेर अघि बढ्न खोजेका छौं। यसमा सफल हुनेछौं।

 तपाईंहरूको रेल हाम्रो सीमा सहर केरुङ कहिले आइपुग्छ ?

- हामी त्यसमा काम गरिरहेका छौं। छिटै केरुङ पुग्छौं। हामीले विभिन्न अध्ययन गरेर काम अघि बढाएका हौं। सिगात्सेसम्म ल्हासाको रेल गइसकेको छ। त्यहाँबाट उता पनि काम भइरहेको छ। यसमा ढिलाइ हुँदैन। छिटो काम अघि बढ्नेछ। अन्य अध्ययनहरू पनि भएका छन् तर केरुङमा रेल पुग्ने विषय हाम्रो अघि बढिसकेको परियोजना हो।

तर सन् २०२० सम्म केरुङमा चीनको रेल आइपुग्ने सम्भावना छैन भनिन्छ नि ?

-हामीले समय स्पष्ट तोकिसकेका छैनौं। रेल केरुङ छिटै पुग्नेछ। यसमा काम भइरहेको छ। केरुङ भ्यालीका लागि हामी काम गरिरहेका छौं। हाइवे पुगिसकेको छ। त्यहाँका जनताका चाहना पनि रेल नै छ। हामी जनताका लागि काम गरिरहेका छौं। केरुङसम्म रेल पुगेपछि नेपाल टाढा हुने छैन। त्यहाँबाट नेपाल जोड्ने गरी अध्ययन भइरहेको छ, यसमा नेपालतर्फको तयारी र उत्साह पनि उत्तिकै आवश्यक पर्छ।

 अब नेपाल र चीन सम्बन्ध साँच्चै बलियो हुँदै जाने र तिब्बतले सम्बन्धको सेतुमा थप सहजता ल्याउने हो ?

-हामी हरेक समय नेपाल र चीन सम्बन्धको विषयमा छलफल गरिरहेका छांै। अरनिको र भृकुटीले जोडेको हाम्रो सम्बन्ध साँच्चै व्यवस्थित छ। हामीले सहकार्य गरेर अघि बढ्न खोजेका छौं। नेपाल सरकार ‘सुखी जनता र समृद्ध नेपाल’ को परिकल्पना गरेर अघि बढेको छ। हाम्रा राष्ट्रपति सी जिनपिङले पनि नेपालको यो कार्यलाई सहयोग गर्ने बताउनुभएको छ। नेपालको विकासमा हामी सौहाद्र्रका साथ सहभागी हुनेछौं।

 कस्तो सौहाद्र्र ?

तिब्बत दुई वर्षमा लगानी मैत्री हुँदै निजी क्षेत्रका लागि खुला हुनेछ। नेपाल र तिब्बतको सम्बन्ध कमजोर सडक र बलियो हवाई सञ्जालले मात्र नभएर अब रेलमा पनि पुग्नेछ। हामी नेपालको विकासलाई सघाउन र सञ्जाल विस्तारमा जोड दिइरहेका छौं। म नेपाली पनि बोल्छु। ‘मैले सरकारी पत्र गोरखापत्र पढेको छु। हामी पुरानो साथी हौं। हामी मिलेर काम गर्नेछौं। दक्षिण एसियाली मुलुकसँगको सम्बन्धमा नेपाललाई चीनले मुख्य ढोका नै सम्झेकाले पनि बीआरआईअन्तर्गत सहकार्यमा यसको महत्व छ।’

 एक्स्पोको मुख्य उद्देश्य र नेपालीहरूको सहभागिताको विषयलाई कसरी बुझ्ने ?       

तिब्बत चीनको सधैं प्राथमिकतामा परेको स्वशासित क्षेत्र हो। यसलाई चीनको नयाँ तिब्बतको रूपमा हामीले चिनाएका छौं। सुरक्षित ‘थर्ड पोल’ पनि भनेका छौं। राष्ट्रपति सीको नेतृत्वमा यस क्षेत्रको विकास निकै अघि बढेको सन्देश यही एक्स्पोबाट पनि गएको छ। विश्व पर्यटनका लागि यो महत्वपूर्ण पर्यटकीय क्षेत्र बन्नेछ। दक्षिण एसियाका लागि यो एक हबका रूपमा रहने र खुला गरिनेछ, जसको माध्यम नेपाल बन्नेछ।

नेपाल र चीन मित्रता पुरानै हो। हामी हिमालयदेखिको सम्बन्धमा छौं। यही अवस्थालाई ध्यानमा राखेर नेपालको सहभागिता बढाएका छौं। सभामुखले हाम्रो आग्रह स्वीकार गरिदिनुभएकोमा हामी खुसी छांै। तिब्बतका अध्यक्ष छी झलाले भने झैं ‘चीनको नयाँ तिब्बतको यात्रा, विश्वको सुरक्षित तेस्रो धु्रव’ नै यो एक्स्पोको मुख्य उद्देश्य हो। हामी तिब्बतमार्फत नै चीनको दक्षिण एसिया सम्बन्ध खुला गर्दै अघि बढ्नेछौं।

तिब्बतको विकासले यहाँका नागरिक निकै खुसी होलान् ?

नेपालको उत्तरमा बस्ने हामी मिलेर बसेका छांै। हामीले मेहनत गरेका छौं र सफल पनि भएका छौं। उच्च भेगमा रेल ल्याएका छौं। एकअर्कामा जोडिएका छौं। आन्तरिक सञ्जालसँगै विश्वलाई जोड्न लागिपरेका छौं। राष्ट्रपति सीको बीआरआई अवधारणा सफल पार्न तिब्बतले आफ्नो सञ्जाल विस्तारमा भूमिका निर्वाह गरिरहेको छ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.