राष्ट्रिय अखण्डविरुद्व बोल्नेको राहदानी खोसिने
काठमाडौं : राष्ट्रिय अखण्डविरुद्व बोल्ने जोकोहीको राहदानी खोसिने भएको छ । अब बन्ने कानुनमा राष्ट्रिय अखण्डतामा आँच आउने गरी कोही बोलेमा त्यसको राहदानी खारेज गरिनेगरी कानुन बन्न लागेको हो।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा राहदानी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि दवावार छलफलका क्रममा सांसदहरुले उक्त कानुन बनाउन सुझाव दिएका हुन् । शुक्रबार बिहान भएको बैठकमा सांसद भीम रावले राष्ट्रियतामा आँच आउने अभिव्यक्ति दिनेको राहदानी खोसिनेगरी कानुन बनाउन माग गरे । उनले राहदानी सम्बन्धी कानुन संशोधन गरी देशविरुद्व बोल्नेको राहदानी खारेज आवश्यक भएको बताएका थिए।
सो अवसरमा समितिको सभापति जेष्ठ सदस्य माधवकुमार नेपालले पनि काडाईकासाथ उक्त कानुन कार्यान्वयन गरिने बताए । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सांसदहरुको सल्लाह र सुझावका आधारमा कानुन संशोधन गरिने प्रतिवद्वता व्यक्त गरे।