माफियासँग सरकारको अवैध सम्बन्ध : केसी
धनगढी : राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले सरकारको माफियासँगको सम्बन्धका कारण अहिले देशभरी नै हत्या, हिंसा र बलात्कार बढेको आरोप लगाएका छन् । प्रगतीशील पत्रकार संघले शुक्रबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले यस्तो आरोप लगाएका हुन् ।
‘सरकारको माफिया, तस्कर र ठेकेदारहरुसँग अवैध सम्बन्ध छ, त्यसैले उसले अहिले केही गर्न नसकिरहेको हो’ नेता केसीले भने । ‘दुई तिहाईको सरकारमा रहेका दलहरुले सबैभन्दा पहिला आफूले संरक्षण दिएर राखेका तस्कर, माफिया र ठेकेदारहरुलाई तह लगाउन सक्नु पर्यो ।’
उनले सरकार टिकाउने हो र अबको पाँच वर्ष स्थायी रुपमा सरकार चलाउने हो भने सत्तामा रहेका दलहरुले यो कार्य आफैबाट सुरु गर्नुपर्ने बताए । ‘सरकार टिकाउने हो भने आफैभित्र रहेका तस्कर, माफिया र ठकेदारलाई तह लगाउनुस्, हैन भने सरकार धेरै दिन चल्दैन’ उनले ठोकुवा गरे ।
उनले ११ महिनामा सरकारले कायापलट गर्न नसक्ने भएपनि सक्ने कम पनि गर्न नसकेको आरोप लगाए । ‘एकजना नाबालिकाका बलात्कारी र हत्यारालाई त सरकारले पक्राउ गर्न सकेको छैन भने जनताले सरकारले देश बनाउछ भनेर कसरी विश्वास गर्ने ?’ उनले भने ।
‘देशमा हत्या, हिंसा बलात्कारका घटना नियन्त्रण गरेर जनताको सुरक्षामा सरकार असफल उन्मुख भइरहेको छ ।’
उनले नेपालमा इतिहासकै शक्तिशाली सरकार रहेकाले जनताले यसबाट धेरै आशा गरेको बताए । ‘तर जनताको आशा पछिल्लो छोटो समयमै निरासामा बदलिएको छ, सरकारकै तथ्यांक अनुसार दैनिक ४ जना महिला बलात्कारको सिकार भइरहेका छन् । जनतामा देखिएको उत्साह घटिरहेको छ’ उनले भने ।
उनले सरकारले बलात्कारी, हत्यारालाई पक्राउ गर्न नसक्नु भनेको उनीहरुको राजनीतिक पहुँच कति रहेछ भनेर प्रमाणित भएको बताए । ‘यत्रो शक्तिशाली सरकारले हत्यारा पक्रिन सकेन भने उनीहरुको कति ठुलो पकड रहेछ सरकारभित्र भन्ने कुरा छरपष्ट भएन ?’ केसीले प्रश्न गरे ।
संघीयताको सुरुदेखि नै विरोध गर्दै आएका नेता केसीले एक वर्षमै संघीयताका बारेमा जनताले धेरै कुरा बुझिसकेको बताए । ‘एक सिंगो नेपालको विकास नभइरहेका बेला सात÷सात नेपाल (सात प्रदेश)को विकास कसरी हुन्छ ?’ उनले प्रतिप्रश्न गरे । नेता केसीले आर्थिक अभावले संघीय ब्यवस्था डाँमाडोल हुने बताए ।
‘मैले तिथिमिति तोक्न त सक्दैन, तर नेपालमा संघीयता दिगो हुदै हुदैन’ उनले भने । संघीयता नेपाली जनता र नेपाली नेताको चाहना अनुसार नआएको दाबी गर्दै उनले भने ‘विदेशी इसारमा आएको र नेपालका लागि ‘स्वीटेबल’ नहुने व्यवस्था कसरी दिगो हुन्छ ?’
एक फरक प्रसंगमा नेता केसीले नेकपाका नेता पुष्पकमल दाहालको भारत भ्रमणदेखि नै नेपालका बारेमा अर्को खिचडी पाक्न सुरु भएको बताए । ‘नेपालमा सरकार बन्छ, तर ओहदाको प्रमाणपत्र बुझाउन भारत जानुपर्छ, यो कुरा सबैलाई थाहा छ, प्रचण्डको भारत भ्रमण पनि नयाँ खिचडी पकाउन हो’ उनले भने ।