पिसाब फेर्दा कन्नुपर्छ ?
छपन्न वर्षीय शंकर अधिकारीलाई पिसाब फेर्न मन लागिरहन्छ। जब उनी पिसाब फेर्ने तयारी अवस्थामा हुन्छन् त्यतिबेला सकस पर्छ। रात्रिबसमा यात्रा गर्न असजिलो मान्ने गरेका अधिकारी भन्छन्, ‘गाडी रोकेको बेला पिसाब फेर्न गयो। अरू यात्रु पिसाब फेरेर आइसक्छन्, आफ्नो भने पिसाब नै झर्दैन, कन्नुपर्छ।’
उमेर बढ्दै जाँदा पुरुषको शरीरमा हुने प्रोस्टेट ग्रन्थि पनि स्वाभाविक रूपमा बढ्दै जान्छ। अहिले नेपालीको औसत आयु ७१ वर्ष रहेको छ। आयु वृद्धिसँगै प्रोस्टेट ग्रन्थि पनि वृद्धि हुने भएकाले यसका बिरामी बढ्दै गएको चिकित्सकहरू बताउँछन्।
प्रोस्टेट ग्रन्थि वृद्धि हुँदै जाँदा यसले विस्तारै मूत्रनली (पिसाब बाहिर निष्कासन गर्ने नली) मा दबाब दिन थाल्छ। मूत्रनली च्याप्न सुरु गर्छ। पिसाब फेर्न धौ—धौ हुन्छ। चालीस वर्षदेखि यो ग्रन्थिको वृद्धि हुँदै गए पनि ६० वर्षमाथिका व्यक्तिलाई यसले बढी सताएको छ। वंशाणुगतरूपमा पनि यो समस्याले पिरोलेको पाइएको छ। वंशमा कसैलाई प्रोस्टेटको समस्या देखा परेको छ भने त्यस्ता व्यक्तिको प्रोस्टेट बढ्ने समस्या देखिने गरेको वरिष्ठ युरोलोजिस्ट डा. उत्तम शर्मा बताउनुहुन्छ। अभिभावकमा यो समस्या छ भने सन्तानमा हुने सम्भावना बढी देखिएको छ।
लक्षणहरू
- पिसाब गर्न लाग्दा तत्कालै नआउने
- पिसाब गर्न गाह्रो भइ बल लगाउनुपर्ने
- पिसाब तुरुरु नगई थोपा/थोपा झर्ने
- पिसाबको धार तथा बहाब नजिकै खस्ने
- पिसाब फेरेपछि ननिख्रिएको महसुस हुने
- पिसाब फेरे पनि सन्तोष अनुभूति नहुने
- रातको समयमा पटकपटक पिसाब लाग्ने
- पिसाब थाम्न नसक्ने
- कपडामा चुहिने
- पिसाब पोल्ने, मूत्रनलीमा दुखाइ अनुभूति हुने
- पिसाबमा रगतसमेत देखिने
सेवन गर्ने
- पर्याप्त पानी पिउने
- पिसाब चाँडै फेर्न नपरोस् तथा पिसाब सङलो फेर्न सकिने गरी पानी सेवन गर्ने
- प्रशस्त हरिया सागपात, फलफूल, तरकारी खाने
- भिटामिन सीयुक्त खानेकुरा टमाटर, गोलभेंडा,
- बन्दगोभी, फूलगोभी, ब्रोकाउली, केराउ
- काजु, बदाम, ओखर
- टुसा उम्रेका गेडागुडी
- माछा
सेवन नगर्ने
- चिल्लो खानेकुरा
- रातो मासु, मसला
- धूमपान, मद्यमान
रोकथाम
- पिसाब रोकेर नबस्ने
- लामो समयसम्म थैलीमा पिसाब सञ्चय हुन नदिने
- पिसाब संक्रमण हुन नदिने
- हलुका व्यायाम तथा प्रणायाम गर्ने
- एउटै आसनमा लामो समय नबस्ने
- तनावपूर्ण काम सकभर नगर्न
- दौडधूप नगर्ने
- हतास र तनावमा नबस्ने
- समयमै जाँच गर्ने