‘छाउ’ कहरको विमर्श
बिहानको प्रार्थनासभामा, कक्षामा, जतिखेरै उच्च सतर्कतामा रहन्थेँ म। तर, हरेकपल्ट म बसेको बेन्ची रगताम्य हुन्थ्यो। के मेरा दिदीहरू पनि यसरी नै लगौंटी लगाउँथे ? कि तिनले कट्टुमा घरेलु प्याड राख्ने चलन थाहा पाइसकेका थिए ? पाएका भए मलाई किन त्यति सानो कुरा पनि भनेनन् ?
‘दुनियाँमा लेख्ने कुरा कत्ति छन् हौ ! तपाईंहरू किन त्यै महिनावारीलाई धेर महत्व दिनुहुन्छ ?’
साथी युग पाठक चिन्ता र खेदसहित यसो भन्दै थिए।
बर्थभरि अटाई नअटाई थिए मानिसहरू। तीमध्ये राजधानी दिल्ली आसपासका सहर र गाउँ कस्बाबाट आएका जागिरे धेरै थिए, साँझ घर फर्किरहेका। सिटबाहेक यात्रु हिँड्ने गल्लीमा समेत सासै फेर्न मुस्किल होलाजस्तो कोचाकोच थियो।
हामी गफबाट बहसतिर मोडिएका थियौं र बहस मानिसहरूको मुखबाट छुटिरहेको राफिलो हिउँदे बाफजस्तै भएको थियो, गरमागरम। भन्नै परेन, बहस महिला विषयक थियो।
युगले त्यति भन्न भ्याइसकेकै थिएनन्, मेरो तल्लो पेटका भित्ताहरू थर्काउँदै एउटा धुन्धुकारी पहिरो खसिरहेको अनुभूतिले मलाई झसंग बनायो। अब सुन्दासुन्दैका शब्दहरू पज भए। हेर्दाहेर्दैका दृश्यहरू पज भए। युग, उषा, रोहेज, अभय, कृष्ण सबै पज भए। ट्रेनभित्रका जम्मै नरनारी पज भए। भनन रिँगटा लागेजस्तो भयो।
हरेक महिना मभित्र यस्तो पहिरोले मच्चाउने आतंक एउटा अभ्यस्त दुःख हो मेरो। पेनकिलर त केवल अस्थायी विकल्प हुन्। र, म हुँ ‘पेन’को स्थायी भोक्ता। तर, यसको आह ! निकाल्ने अवकाश मलाई छैन। हामीलाई खप्न सिकाइन्छ। मानौं खप्नु नै महानता हो भनेजसरी। र, हामी यस्तै ठान्दै हुर्किन्छौं। मान्छौं, यस्तो त आफूलाई मात्रै होइन, यो धरतीका हरेक स्त्रीलाई हुन्छ ! यो सामान्यीकृत पीडा, यो साझा कहर !
म जीवविज्ञान कसैका लागि शक्ति सञ्चयको अवसर र कसैलाई हीनताको कारण हो भन्ने मान्दिनँ। स्त्री हुँ, मलाई मेरो स्त्रीत्वमा रत्ति पनि गुनासो छैन। म खुला र उदार पर्यावरणमा प्रफुल्लित, पुष्पित स्त्री बनेर बाँच्न चाहन्छु। मातृत्व र स्त्रीत्वसँगै मानवताको साझा गीत गाउने विश्वमानव बन्न चाहन्छु। तर, मेरा सामान्यजस्ता लाग्ने यी इच्छाहरूको संघर्ष अत्यन्तै असामान्य र जटिल छ। महिनावारीका रक्तस्रावसँग शरीरको जैविक प्रतिक्रिया मात्रै जोडिएको भए यो देहदुःखबाट उतिसारो विचलित नहोइँदो हो। म शरीरको रातो भाषासँगै विभेद र अपमानका कटु शब्दसँग त्यसरी नै अनन्य हुँदै आएँ जसरी आफूले फेरिरहेको साससँग अभिन्न छु। ती शब्दमा शब्द र अर्थभन्दा पर्तिर पनि धेरै कुरा छन्। इतिहासभरिको उत्पीडन छ। जुनिभरिको दलन छ। हीन भोगाइका सहस्र आँसुको कोहाहल छ।
रजस्वलाको संकथनमा हामीसँग केवल ‘एनाटोमी’ मात्रै छैन। शरीरको प्रतिक्रियामा निर्माण भएको सांस्कृतिक रूढि पनि छ। यो रूढि हामीभित्रै छ। हाम्रो परिवार र समाजमा छ। हाम्रो संस्कार र सभ्यतामा छ। यी संस्कार र सभ्यताको नियामक चाबी पितृसत्ताले समातेको छ जसको डोरी सामन्तवादी वर्णव्यवस्थासँगै जेलिएको छ। म सोच्छु, महिनाका चार दिनको दलन त यति कठोर र लाजलाग्दो हुन्छ भने वर्णपद्धतिले पाँच हजार वर्षदेखि पददलित मानिसहरूको कहर र कथा कति भयानक होला ? रोचक कुरा भनौं, छूत÷अछूतको नाममा अभ्यास भएका यस्ता कुनै पनि घेरा र दलन जनजाति, आदिवासी समुदायमा भने देखिँदैन, सुनिँदैन। जहाँ आशोच र उत्पीडनका यति धेरै घेरा छन्। निषेधका अनगिन्ती संहिता छन्। तपाईं नै भन्नुस्, त्यहाँ प्रतिसंकथन र प्रतिरोधका लागि पनि जरुरी छ कि छैन लेखन ? आवश्यक छ कि छैन बहस ?
०००
भारतको जयपुरमा हुन लागेको समानान्तर साहित्य उत्सवको निम्तो मान्न घरबाट निस्कँदै ‘पिरियड क्यालेन्डर’सम्झेर तनावमा थिएँ। हरेक चक्रमा अत्यधिक रक्तस्राव र दुःखाइले मलाई नानी जन्माउने समयजस्तै शिथिल र क्लान्त बनाउँछ। यसै कारण रक्तअल्पताको सदाबहार समस्या भोग्न थालेको आधा दशक भइसक्यो। रजस्वला अवधि कसैले मेरो लागि अघोषित रूपले तोकेको सजाय जस्तो लाग्छ। यी दिनमा कुनै किसिमका पनि काम गर्न नसक्ने हुन्छु। तर, काम नगरी सुख पाइन्न। भान्सादेखि कलेजसम्म भ्याएकै हुन्छु। यो पनि अर्को अभ्यस्तता नै हो भनौं।
लामो यात्राको रक्ताम्य सकस अनुमानित थियो तर म जयपुर जान चाहन्थेँ। उति टाढाबाट वक्ताका रूपमा ससम्मान आएको आमन्त्रण कसरी टार्नु ! जे त होला ! झोला कसेर निस्केँ।
दिल्लीदेखि जयपुरसम्म यात्राको झन्डै सात घन्टा मेरो लागि सात जुनी बराबर पीडादायी भएको थियो। साथीहरूको बहस थामिएको थिएन। म भने लगेजको बाहिरी गोजीमा राखेको प्याड झिक्ने हुतीसम्म नआएर मूर्तिवत भइरहेकी थिएँ। ट्रेन चढ्नुअघि दिल्ली जक्सनमै फेरेको प्याड बेहाल भइसकेको छ, मलाई थाहा थियो। यात्राको सुविधाका लागि लगाएकी थिएँ— बक्स प्यान्ट। रगतले प्यान्टसमेत भिजाएर सिटसम्मै छिचोलेको थियो। सायद मेरो मौन छट्पटी बुझिन्, उषाले र हत्तपत्त आफूले हातमा बोकेको फुच्चे झोलाबाट प्याड निकालेर दिइन्। उनीतिर फर्केर कृतार्थ हुनसम्म सक्ने स्थितिमा पनि थिइनँ म।
बडो मुस्किलले भीड छिचोल्दै बर्थ छेउको शौचालयमा गएर प्याड त फेरेँ। तर, प्यान्टको हाल उही थियो। रातको करिब १ बजे जयपुर उत्रिइयो। यही बेहालीमा बसेँ, हामीलाई लिन आएका साथी विकास आर्यको गाडीमा। सिट पनि रक्ताम्य ! मेरो तनाव र सरमको डिग्री कति हुँदो हो, नसोध्नोस्।
बस्ने ठाउँ रहेछ, मेडिकल विद्यार्थीहरूको सुविधासम्पन्न होस्टल। कोठामा छिर्नेबित्तिकै बाथरुम पसेँ र बल्ल लामो सास फेरेँ। तर, बाथरुममा पानीको थोपै नखसेर अर्को सास्ती ! उषालाई गुहारेँ। सुत्न गइसकेका परिचरले मेरै लागि उठेर पानीको मोटर चलाइदिए। तै, ढिलै भए पनि नुहाउन पाएपछि बल्ल सुतेँ। रातभर सेतो तन्नामा रगत लाग्ला भन्ने जगजगी उस्तै। आफूसँग ल्याएको पातलो ओढ्ने पट्याईवरी ओछ्याएर सुतेपछि बल्ल आयो ढुक्कको निद्रा।
०००
ठूल्दिदीको पहिलो महिनावारी थियो सायद त्यो। आमा सुँक्क सुँक्क गरेर धेरै बेर रुनुभएको सम्झन्छु। म सानै थिएँ। दिदीसँग मेरो सात वर्षको अन्तर छ। ६–७ वर्षकै त थिएँ होला म ! आमाले दिदीलाई उमा दिदीको घरमा लुकाउन लगेको याद आउँछ। सूर्य र मर्दको मुख देख्न नहुने रे ! बा र दाइभाइलाई त झन् बिर्सेर पनि देख्न नपाइने रे ! ‘नछुने भएको’ पहिलोपल्ट बार्नैपर्ने रूढिसँग जोडिएका थिए यी कुरा। दिदीले आमाले भने भनेको कुरो गर्नैपथ्र्यो। गरिन्।
दिदी उमा दिदीको धन्सारभित्र थोत्रो मान्द्रोले बारेको अँध्यारो कोठरीमा बसेकी थिइन्। सान्दिदीसँग भात पुर्याउन जाँदा दिदी त्यही अँध्यारो कोठरीमा आधा देखिएको र आधा छोपिएको दृश्य सम्झन्छु।
‘बाइस दिनसम्म राखेको हो गितेलाई !’ आमा पछिसम्म भन्नुहुन्थ्यो। बाइस दिनपछि पानी छुने कर्म गरियो। त्यसपछि दिदी ‘चोखी’ भइन्। नयाँ कपडा पाइन्।
सान्दिदीको पालो आयो। उसलाई खाना पुर्याउने म भएँ। ठुल्दिदीको बिहे भइसकेको थियो। उसले ठुल्दिदीले झैं अँध्यारो धन्सारमा बस्नु परेन। उसको आशौच अवधि पन्ध्र दिनमा झरेको थियो। पन्ध्र दिनको दिनमा नुहाईवरी पानीको गाग्रो छुवाउनुभयो आमाले। त्यसपछि दिदी उम्की। उम्कँदा उसले पनि पाई एक सेट नयाँ कपडा।
पहिलोपल्ट महिनावारी हुँदा अर्कैका घरमा लुकाएर राखिन्छ। यो त तय थियो। ७ कक्षा पढ्ने हुँदा १२ वर्षकी थिएँ। भदौ महिनाका निख्रिँदा दिन थिए। छुट्टीकोे दिन थियो। बिहानभर पानी ओसार्ने जिम्मा हुन्थ्यो मेरो। त्यो दिन पनि बिहानको कामले थाकेर गलेकी थिएँ। मलाई अरू दिनभन्दा अर्कै खाले असजिलो भएको थियो। जाँघमा केही चिप्लो चिजको च्यापच्याप अनुभवले केही नौलो कुरा हुँदै छ भन्ने त लागेको थियो। तर, काम सक्ने चटारोले म काखीमा गाग्री च्यापेर घर पल्तिर केही दूरीमा रहेको धारासम्म जाँदै आउँदै थिएँ। मेरो पहिलो रजोदर्शन त्यही दिन भएको थियो।
चिच्याएर आमालाई बोलाएँ, ‘पिसाब गर्दा रगत आयो ! यो मलाई के भएको ?’
‘के हुन्थ्यो, फुटिस् नि !’ आमाले झर्केर उत्तर दिनुभयो।
पहिलोपल्ट रजस्वला हुँदा के हुन्छ ? मलाई कसैले भनेको थिएन। जब कि घरैभरि हामी महिला मात्रै थियौं, हजुराँ, आमा र हामी।
अब लुक्ने पालो मेरो थियो। मलाई मितिनी आमाको घरको बुइगलमा राखियो। त्यहाँ मलाई खाना ल्यादिनुपर्ने हुन्थेन। म दिदीहरूभन्दा धेरै सजिलो परिवेशमा भएँ। दिनमा घरबाहिरका आँगन, करेसातिर ननिस्कनु, नछोइई हिँड्नु, आफूसँग भएका भाँडामा अलक्गले मागेर पानी÷खाना खानु, निश्चित गरिएका दिनमा नुहाउनु, निधारमा घिउका थोपा दल्दै ‘चोखो’ हुँदै जानु इत्यादि हरेक कुरा पहिलोपल्ट भइरहेका थिए।
तर यो त केवल ‘ट्रेलर’ मात्रै थियो !
छोरीको अनुहारमा कुनै त्यस्तो उल्लेख्य उदासी र पीडा थिएन बरु मलाई देख्नासाथ मुस्कुराई। फर्कने बेला बाटैमा सोधी, ‘अब मैले बाबा, बुवा र भाइसँग छोइनु हुन्न हो मम्मी ? मलाई लुकाएर राख्नुपर्छ हो ? म कसको घरमा लुक्न जाने मम्मी ?’
पन्ध्रौं दिनको बिहान नुहाएपछि मलाई ‘उम्काइदिनु’ भयो आमाले– निधारमा ‘चोखो’ घसेर। गाग्रीको पानी छुवाएर। नयाँ कपडा दिएर। नयाँ कपडाको सुगन्ध र स्पर्शले म अलि बेर रोमाञ्चित भएकै हुँ। मैले ठानेँ, यस्तो दिदीहरूलाई पनि पक्कै भयो होला। त्यसपछि बिस्तारै थालियो आशौच र दलनको असली सिनेमा। रगतका टाटा लागेर कहाँ कतिखेर लज्जा लिलाम हुने हो भन्ने जगजगीको शृंखला।
आमाले नछुने हुँदा लगाउने छुट्टै लुगा थिए। उहाँ यस्ता दिनमा तिनै लुगा मात्रै लगाउनुहुन्थ्यो। तीन दिनपछि नुहाएर बल्ल सामान्य चलनका लुगा फेर्नुहुन्थ्यो। हामीले पनि त्यसै गर्नुपथ्र्यो। गर्यौं। सुत्ने डसना अलग्गै थिए, आमा–हजुरामाका फरियाले तगेर सिलाइएका। ओढ्ने कम्बल पनि अलग्गै थियो। ती सबैको पोको गोठको एउटा कुनामा थन्किएर बस्थ्यो। हामीमध्ये जो ‘पन्छिन्थ्यो’, उसले त्यही पोकामा राखिएका लुगा प्रयोग गर्नुपथ्र्यो। पछिपछि हामीले यो परम्पराको अवज्ञा गर्न थाल्यौं, यसको कथाव्यथा छुट्टै छ।
आमाहरूका पालामा प्याड राख्ने चलन थिएन रे ! अन्डरवेयरको चलन त झनै थिएन। कसरी व्यवस्थापन गर्नुभो होला, रजस्वला अवधिको भलझैं बग्ने रगत ! आमाले पछि कुनै बेला भन्नुभएको सम्झन्छु, जति बेला रगतको भेल छुट्न थाल्छ, गुनियो (उतिबेलाको बाक्लो सारी) को बीच भागमा रहेका मुज्जाहरूलाई जाँघमा ल्याएर रगत बग्ने बाटो रोक्न सके रोकियो, नभए बाटोघाटो, मेलापात, वन, खेत जहाँ छ त्यहीँ चुहिन छोडिदियो ! यसरी चुहिएको रगतका बाक्ला चोक्टाहरू घरि आफ्नै पाइतालाले घरि अरूका पाइतालाले टेकिन सक्थे।
आमा आफ्नै पुराना फरियाका लगौंटी बनाएर लगाउनुहुँदो रहेछ, सुकाउँदा देखिन्थे। आफूले जसो गर्नुहुन्थ्यो, आमाले त्यस्तै सिकाउनुभो। मैले पनि त्यही शैली पछ्याएकी हुँ। तर, त्यसरी लगाउँदा असमेल रक्तधाराले मलाई रातैरातै बनाइदिन्थ्यो। खास गरेर स्कुलमा धेरै तनाव हुन्थ्यो। बिहानको प्रार्थनासभामा, कक्षामा, जतिखेरै उच्च सतर्कतामा रहन्थेँ म। तर, हरेकपल्ट म बसेको बेन्ची रगताम्य हुन्थ्यो। के मेरा दिदीहरू पनि यसरी नै लगौंटी लगाउँथे ? कि तिनले कट्टुमा घरेलु प्याड राख्ने चलन थाहा पाइसकेका थिए ? पाएका भए मलाई किन त्यति सानो कुरा पनि भनेनन् ?
कपडाको टुक्रा पट्याएर, मिलाएर रगतको व्यवस्थापन गर्ने तरिका त पछि मलाई साथीहरूले सिकाए। त्यसपछि बल्ल मलाई केही राहत भएको हो। तर, महिनावारीसँग गाँसिएका अनेकौं भाष्य र कथनबाट राहत पाउने संघर्षका लागि मैले परिवार र समाजसँग मात्रै होइन आफैंसँग समेत लड्नुपर्ने मोहरी बाँकी नै थियो।
०००
‘मम्मी, म त डट् डट् डट् भएँ !’
स्कुलदेखि छोरीले आफ्नो रजस्वलाको खबर सुनाई, फोनबाट। उसका शब्द हुबहु यिनै थिए। उसलाई पढाउने शिक्षिकाले भनिन्, ‘ल समस्या बुझिहाल्नुभयो केरे। आएर नानीलाई घर लैजानुस् है !’
नानी आत्तिएको वा घर आउन चाहेको भए मात्रै जाने विचारले उसलाई सोधेँ। तर, उसको आवाज अरू बेलाजस्तै ढुक्क खालको थियो।
‘उसोभए तिमी क्लासमै बस, पढ। भरे छुट्टी भएपछि आउँछु है त !’ यति भनेर उसकी मिसलाई प्याडको व्यवस्था गरिदिन अनुरोध गर्दै फोन राखेँ।
सप्रेको बकैनाजसरी बढेकी छोरी, चाँडै रजोवती होली भन्ने अनुमान त थियो नै। तर, यति चाँडै ? एघारै वर्षमा ? मतलब मभन्दा पनि एक वर्ष छिटो ! हुन त नानी रक्तस्रावबारे अनभिज्ञ थिइनँ। मैले धेरै कुरा भनिसकेकी थिएँ। पहिलोपल्ट रगत देखिँदा मभित्र पैदा भएको डर र विष्मयको बयान सुन्दा ऊ कति उत्सुक भएकी थिई ! म चाहन्नथेँ, मेरी छोरी रजस्वला हुनुसँग सातोपुत्लो उड्ने गरी भयभीत होओस्। चाहन्नथेँ, आफ्नो शरीरको विशेष अंगबाट बग्न थालेको रगत देखेर ऊ विस्मित र हतप्रभ होस्। म उभित्रका सम्भावित डर र आश्चर्यलाई उसैको भाषामा निरोध गरेकी छु भन्नेमा लगभग आश्वस्त थिएँ। तर, मनोविज्ञान भनेको जटिल कुरा हो। यत्तिकै ढुक्क हुन सकिन्न। पहिलोपल्ट रजस्वला हुँदा उसले प्रकट गर्ने प्रतिक्रिया कस्तो होला ? उसको मनोविज्ञानलाई त्यस घटनाले कसरी प्रभावित गर्ला ? म कतै बाहिरफेर टाढा भएको बेला पर्यो भने के होला ? चिन्तित हुन्थेँ।
छुट्टी भएपछि लिन गएँ। उसको अनुहारमा कुनै त्यस्तो उल्लेख्य उदासी र पीडा थिएन बरु मलाई देख्नासाथ मुस्कुराई। फर्कने बेला बाटैमा सोधी, ‘अब मैले बाबा, बुवा र भाइसँग छोइनु हुन्न हो मम्मी ? मलाई लुकाएर राख्नुपर्छ हो ? म कसको घरमा लुक्न जाने हो ?’
म चित् खाएँ। यति कुरा उसले आजै सुनिसकिछ ! मैले सामान्य देखिएरै भनेँ, ‘यी सबै कुरा अन्धविश्वास हुन् नानू। तिमीले सोसलमा पढ्ने ‘सुपरस्टिसन’ र ‘ट्याबू’ जस्तै हुन्। तिमीले सबैलाई छुन हुन्छ। बाबा, बुवा, भाइ सबैलाई। तिमी कहीँ लुक्ने होइन। घरैमा बस्ने हो। सबैसँग बसेर खाना खाने हो। पहिलेजस्तै।’ सायद ऊ आश्वस्त भई। भरे हामी सबैले एउटै टेबलमा खाना खायौं। ऊ आफ्नो ओछ्यानमा उसैगरी ‘कम्फर्ट’ भएर निदाई र भोलिपल्ट उस्तै सामान्य भावमुद्रामा स्कुल गई।
त्यस मितिदेखि घरभित्र र मनभित्र ‘नछुने’ भन्ने सनातन भाष्यमा अडिएको रहेबँचेको आशौच पनि समाप्त हुने निश्चित भयो। शरीरले नसके पनि मैले यस्तो बेलामा भातभान्सा सरोबर गर्न थालेँ। जब कि म पकाउन सक्दिनँ भनेर भान्सामा जान्नथेँ र नानीको बा खाना पकाउनैपर्ने ड्युटीले बाँधिन्थे। मलाई यसरी सकिनसकी भान्सामा खटाउने चिज अरू केही थिएन, मेरी छोरी शरीरबाट रगत चुहिने मासिक चक्रलाई विभेद र अपमानको चक्र भनेर बुझ्नुपर्ने त्रासदीबाट मुक्त होस् भन्ने कुरा नै थियो।
अब त मैले यी सबै कुरा भत्काउनैपर्छ, म त्यस दिनदेखि सय प्रतिशत प्रतिबद्ध भएँ।
०००
रजस्वला अत्यधिक पीडादायी काल हो। शरीरको पीडा त छँदै छ। संस्कारले थोपरेका निषेध र छुवाछूतका पीडाले यसलाई युगौंदेखि अझ बोझिलो बनाइदिएको छ। ‘नछुने’ भनौं या ‘छाउ’ यी महिलाको शरीरलाई नियन्त्रण गर्ने सांस्कृतिक भाष्य नै हुन्। गोठमा राखिन्छ कि घरका चोटा, कोठामा, के फरक पर्छ ? रजस्वलाको अवधिलाई अपवित्र र पाप करार गरेर शरीरमाथि नियन्त्रण गर्ने संकथनले हिन्दु संस्कृतिका महिलाहरूलाई आजका मितिसम्म पनि घोर अपमान गरिरहेको छ। हामी महिलाहरूले पनि विभिन्न प्रकारका मिथ्या भय र अन्धविश्वासले यसलाई निरन्तरता दिइरहेका छौं। यद्यपि महिला अभिकर्ता र भोक्ता मात्रै हुन् र यसको चालक हाम्रो पद्धति नै हो भन्ने भुल्नु हुँदैन। हामी नेपालमा सुदूरपश्चिम मात्रै छाउले आक्रान्त छ भन्ने ठान्छौं। यो सरासरी गलत हो। पूर्व होस् या पश्चिम, तराई होस् या मध्यपहाड र उपत्यका, छाउ त घर घरभित्रै छन्। हाम्रा दिमागमा छन्। मात्रा कम वा बेसी मात्र हो। छाउ हामो चिन्तनको फेददेखि टुप्पासम्मै छ।
रजस्वला र यसको सांस्कृतिक पक्षलाई छलफल र विमर्शको विषय नै नठान्ने कुरा ज्ञानको पितृवादी पाठबाट अभिप्रेरित चिन्तन हो। किनभने अहिले पनि ज्ञान मूलतः पुरुषहरूको नियन्त्रणमा छ। र, प्रायः महिला पुरुषनियन्त्रित ज्ञानका धाराभित्र पुगी त्यही फ्रेममा ‘एडजस्ट’ भएका आगन्तुक पात्रजस्ता लाग्छन्। ज्ञानमाथिको प्राधिकार कसका हातमा छ भन्ने कुराले विमर्शको विषय र दिशा तय गर्छ। त्यसैले स्त्री विषयक बहसमा पुरुषहरूले राख्ने सरोकार प्रायः कृपा र सहानुभूतिको मनोविज्ञानबाट निःसृत लाग्नु अस्वाभाविक छैन। रजस्वलासँग जोडिएका तमाम संकथनलाई महत्व दिने वा नदिने भन्ने कुरा यही मनोविज्ञानमा अडिएको छ। विषयलाई केवल महिलाको ठान्ने र महिलामाथि उत्पीडनको सांस्कृतिक रूढिलाई सभ्य समाज निर्माणको अवरोध नमान्ने हो भने एउटा ज्वलन्त मुद्दा बहसबाट छुटिरहन्छ।
स्त्री शरीरको उत्पीडनसँग गाँसिएको ‘छाउ’ चिन्तन तथ्यहीन व्याख्या र काल्पनिक निष्कर्षले भरिएको मात्रै होइन, वैज्ञानिक दृष्टिले समेत सरासर झूटो छ। यसको उद्देश्य महिलालाई मूर्ख र आत्मघाती बनाएर तिनको निरन्तर शोषण गर्दै चरम विभेदकारी लिंगव्यवस्थालाई चलायमान बनाइराख्नु नै हो भन्ने कुरा दोहोर्याइरहनु परेन। अमेरिकी समाजशास्त्री एभलिन रिड स्त्री जातिको हीनतासम्बन्धी गर्भाशयसिद्धान्त र पुरुष श्रेष्ठताको लिंगसिद्धान्त दुवैलाई बिल्कुलै झूठो करार गर्छिन्। उनी रजस्वला र गर्भधारणकै कारण मानवजातिको निरन्तरतामा स्त्रीहरूले सम्पादन गर्ने भूमिकामा प्रकृतिसमेत स्त्री पक्षधर छ भन्छिन्। यसप्रकार रजस्वला हुनु महिलाको कमजोरी होइन बरु शक्ति हो। यो त शरीरको परिशोधन क्रिया हो। यसमा पाप या अशुद्धि होइन, जीवनदायी सामथ्र्यको गुढ अर्थ अन्तर्निहित छ।
हामी शास्त्रसम्मत सिकाइको लहरोबाट दीक्षित हुँदै आयौं। जे कुरामा पनि शास्त्रमाथि आँखा चिम्लेर भरोसा गर्ने भयौं। हाम्रा परम्परामा विवेकसम्मत सिकाइले ठाउँ नै पाएनन्। त्यसैले ज्ञानका प्राधिकारी वर्गले बोलेको वाणी नै कानुन भयो। ज्ञानमाथिको प्राधिकार यति बलियो सत्ता रहेछ कि त्यो सत्ता हाँक्ने समुदायले रजस्वलालाई हीन विषय भनिरह्यो। जुग बिते। कल्प बिते। मानिसहरूले त्यही पत्याउँदै आए। शास्त्र र श्लोकका भयले अदना, निरीह महिलाहरू दासत्व भोग्न, ‘अछूत’ बन्न तयार भए। रजस्वलालाई ‘पाप’ स्वीकार गर्र्दै आए।
उनीहरूलाई शासित हुन मञ्जुर भयो। तर, तिनमाथि प्रश्न गर्ने सामूहिक आत्मविश्वास पलाएन। तर, आजको पिँढीका आमाहरूलाई बदलिन गाह्रो छैन। उनीहरू स्त्रीद्वेषी शास्त्रका अक्षरहरूबाट लखेटिनुपर्ने स्थिति पनि छैन। आजका आमाहरू ज्ञानविज्ञानका धाराहरूभित्र पसिरहेका छन्। उनीहरू प्रश्न र प्रतिक्रिया मात्रै होइन नयाँ संकथनको रचनासमेत गर्न सक्छन्। कानुन र नीतिनिर्माणका ओहदामा छन्, त्यहीँबाट दबाब दिन सक्छन्। आजका आमाहरूले आत्मविश्वासका साथ सोच्नुपर्छ, अबोध छोरीहरूमाथि आफैंले भोगेको सास्ती दोहोर्याउने कि स्त्रीद्वेषी शास्त्र र त्यसको तथाकथित अभ्यासलाई जलाएर भष्म पार्ने ?